ट्रक दुर्घटना



चितवन, १५ माघ । पृथ्वी राजमार्गको फिस्लिङ नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीतर्फ खसेको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना ५ ख ७३९४ नम्बरको खाली ट्रक सडकबाट करिब ६५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

ट्रक त्रिशूली नदीमा भने पुगेको छैन । बिहान ३ बजेतिरको समयमा ट्रक खसेको भए पनि चालकसहित ट्रकमा रहेका तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनास्थल मुग्लिनबाट १३ किलोमिटर काठमाडौँतर्फ दारेचोक गाविस–९ मा पर्दछ ।

यसैबीच, सडक हिलो भएपछि भरतपुर उपमहानगरपालिका–१ भतेरी जङ्गलमा आज बिहान ४ः३० बजेबाट सवारी आवागमनमा समस्या हुँदा नारायणगढ–मुग्लिन सडकखण्डमा आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

प्रहरीका अनुसार निर्माणाधीन सडकमा रातो माटोका कारण सवारीसाधन चिप्लिएपछि आवतजावतमा समस्या भएको हो । फाट्टफुट्ट सवारीसाधन कटेको भए पनि दुवैतर्फ ठूलो सङ्ख्यामा सवारीको लाम लागेको छ । मालबाहक ट्रक र बस डोजरको सहायताले कटाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्