मेक्सिको सीमामा पर्खाल निर्माण विवाद जारी



वासिङ्टन, (एजेन्सी)
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन प्रचार प्रसारको क्रममा व्यक्त गरेको मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने घोषणा अब कार्यान्वयन हुने प्रक्रियामा रहेको छ।

संयुक्त राज्य अमेरिकाको दक्षिणतर्फ रहेको मेक्सिकोको सीमाक्षेत्र लगभग ३ हजार १ सय २७ किलोमिटर लम्बाइमा फैलिएको छ।यस सीमाक्षेत्रको धेरैजसो स्थानमा कतै स्टीलबाट निर्मित पाताका अग्ला र बलिया बार, कतै काँडेदार तारका त कतै तारजालीका बार ठड्याई यसअघि नै एक हदसम्म सीमा सुरक्षा गरिएको छ। तर अब भने त्यहाँ पक्की पर्खाल निर्माण हुने भएको छ।

यस पर्खाल निर्माण गर्दा लाग्ने लागत खर्च मेक्सिकोलाई पनि बेहोर्न लगाउनुपर्छ भन्ने सोचाइमा राष्ट्रपति ट्रम्प रहेका थिए। तर अमेरिकाको यस्तो प्रस्तावले बेस्सरी झस्केका मेक्सिकोका राष्ट्रपति इनरिक पेना निटोले यसप्रति असहमति जाहेर गरिसकेका छन्।

राष्ट्रपति निटो अर्बौं डलरको लागत रहेको पक्की पर्खाल निर्माण गर्ने कार्यको विरोधमा रहेका छन्। उनी यसलाई नचाहिँदो खर्च बताउँछन्।

मेक्सिकोले पर्खाल निर्माणको आंशिक लागतसमेत नबेहोर्ने भनी दोहोर्याई तेहोर्याई जनाएपछि राष्ट्रपति ट्रम्प पर्खाल निर्माण खर्च जुटाउने अर्कै उपाय अवलम्बन गर्नपट्टि लागेका छन्।

≈वाइट हाउसका प्रवक्ता सिन स्पाइसरका अनुसार मेक्सिकोबाट अमेरिका आयात हुने सबै किसिमका सरसामानमा थप २० प्रतिशत भन्सार महसुल तथा कर असुल गरी यस रकम पर्खाल निर्माणमा खर्च गरिने नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पले राखेका छन्। यस नयाँ प्रस्ताव सम्बन्धमा अमेरिका भित्रै र बाहिर पनि विभिन्न किसिमको प्रतिक्रिया आइरहेका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पलाई मत दिएर जिताउने मेक्सिकोको सीमानजिक रहेको एरिजोना राज्यको प्रान्तीय राजधानी फिनिक्स निवासीहरूमध्ये अधिकांशले पर्खाल निर्माण प्रस्तावको समर्थन र स्वागत गर्दै हर्ष प्रकट गरेका छन्।

वारका पार पर्खाल निर्माण भएमा ठूलो परिमाणमा लागू पदार्थको तस्करी भई अमेरिका छिराउने प्रमुख मार्ग वैध वा अवैध जुनसुकै तरिकाबाट भए पनि आप्रवासीहरूको ओइरो लाग्ने द्वार सदाका लागि बन्द हुने, पारिपट्टि जहिले पनि मारपिट, गोली हानाहान, हिंसा हत्या र कहिलेकाहीं त तस्करका दुईथरी समूहबीच चल्ने भयानक नरसंहार देख्नु, सुन्नु, बेहोर्नु नपर्ने बताउँछन् एरिजोना, क्यालिफोर्निया र टेक्सास निवासीहरू।

तर अमेरिकी अर्थ विश्लेषकहरू भने मेक्सिकोको उत्पादनको आयातमा भन्सार तथा कर महसुल वृद्धि नै एक भरपर्दो र समुचित आयस्रोत हुन नसक्ने बताउँछन्।

यही आयकै भरमा पर्खाल निर्माण गर्छु भन्नु व्यर्थको एक प्रलाप मात्र हुन जाने प्रतिक्रिया अर्थविद्हरूको रहेको छ। पर्खाल निर्माणको लागत जुटाउने सम्बन्धमा राष्ट्रपति ट्रम्पसँग ठोस कार्य योजना नभएको र विश्वसनीय आर्थिक स्रोत यकिन भएपछि मात्र निर्माण कार्य शुरु गर्नु बेस हुने सुझाव पनि तिनीहरूले दिएका छन्।

यसैबीच मेक्सिकोको विदेशमन्त्री लुइस भिडेगाराइले अमेरिकासँगको सिमानामा सीमा पर्खाल लगाउने बारेमा अमेरिकासँग कुनै पनि हालतमा लचकतापूर्वक वार्ता नसक्ने बताएका छन्। उनले अमेरिकासँग द्विपक्षीयसम्बन्ध राम्रो बनाउनका लागि मात्रै वार्ता हुनसक्ने स्पष्ट पारेका छन्।

पर्खाल लगाउने र त्यसको खर्चपनि बेहोर्नुपर्ने अमेरिकाको निर्णयलाई मेक्सिकोले विरोध गरेको छ भने अमेरिककाका राष्ट्रपति ट्रम्पले निर्णय लागू गराई छाड्ने अठोट लिएका छन्।

प्रतिक्रिया दिनुहोस्