मन्त्रिपरिषद्का विविध निर्णय



काठमाडौं, (नेस)
सरकारले गरिबी निवारण कोषको उपाध्यक्ष छनोट समितिमा विज्ञका रूपमा डा. महेन्द्र सिंहलाई नियुक्त गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले एनआईडीसी डेभलपमेन्ट बैंकलाई राष्ट्रिय वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो। त्यसै गरी बैठकले आगामी वर्ष हुने बिमस्टेकको बैठक र आतिथ्यताको प्रबन्ध नेपालले गर्ने पनि निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राम (सुरेन्द्र) कार्कीले जानकारी दिनुभयो।

बैठकले मुस्ताङ जिल्लाको लोमान्थाङ आसपासको क्षेत्रमा नापी गर्न बाँकी रहेको जमिनलाई छिट्टै नापी गर्ने, नवलपरासीको बेलाहानीलगायतका क्षेत्रका बसोबासीहरूको जग्गा दर्ता गर्ने प्रयोजनका निम्ति एक समिति गठन गर्ने निर्णय गरेको थियो। बैठकले नेपाल सरकारका शाखा अधिकृतहरूको प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा शैलेन्द्र गिरीलाई नियुक्त गरेको थियो। बैठकले प्रकाश माथेमालाई नेपाल सरकारको सचिव पदमा बढुवा गरेको छ।

त्यसै गरी डा. गोविन्द केसीसँग भएका सहमतिहरूको कार्यान्वयनका लागि गौरीबहादुर कार्कीको संयोजकत्वमा डा. श्रीकृष्ण गिरी, उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य रहेको एक समिति गठन गरिएको छ।

बैठकले सडकलगायतका विकास पूर्वाधारको तीव्रताका लागि विभिन्न स्थानमा योजना कार्यालयहरू स्थापना गर्ने निर्णय लिएको छ।

प्रतिक्रिया दिनुहोस्