पश्चिमी वायुले वर्षा र हिमपात



दोलखाको खरिढुंगामा शुक्रबार हिमपात भएपछि गुड्दै गरेका सवारीसाधनहरु । तस्वीरः चिरञ्जीवी मास्के, दोलखा

काठमाडौं, (नेस)
पश्चिमी वायुको प्रभावले देशैभरको मौसम शुक्रबार बदलिनुका साथै अधिकांश भागमा हल्का वर्षा र हिमपात भएको छ। काठमाडौं उपत्यकासहित पश्चिमतर्फको भूभागमा शुक्रबार बिहानैदेखि वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार भूमध्यसागरमा बनेको न्यूनतापीय क्षेत्र र वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु कस्मीर हुँदै बिहीबार साँझ भित्रिएको वायुको प्रभावले मौसम बदलिएको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् सुवास रिमालका अनुसार मौसम धेरै ठाउँमा बदलिए पनि मध्य र पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ। मौसमविद् रिमालले थप्नुभयो– ‘यो खासै ठूलो वर्षा होइन, मध्यमस्तरको हो। तर, अहिलेको वर्षाले मध्य तथा सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रहरूमा हिमपात हुने सम्भावना छ।’ शनिबार देशका अधिकांश स्थानमा मौसम खुले पनि पूर्वी पहाडी भेगमा अपराह्नपछि मात्रै मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्