संविधान संशोधन नगरी निर्वाचन घोषणा गर्नुहुन्न : नेता राई



खोटाङ, १४ माघ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने बताउनुभएको छ ।

स्थानीय तहको पुनःसंरचनाको विषयमा आदिवासी जनजाति, मधेसी लगायतको असहमति रहेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दा देश दुर्घटनामा फस्ने उहाँले दाबी गर्नुभयो । सङ्घीय समाजवादी फोरम खोटाङले बिहीबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले निर्वाचनले नेपाली–नेपाली बीचको भिन्नतालाई बढाउने, असहमतिलाई बढाउने, द्वन्द्वलाई बढाउने अवस्था आउनु नहुने बताउनुभयो ।

“सबै समस्या समाधान गर्ने एउटै उपाय संविधानलाई सुझावसहित संशोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चुनाव गरिहाल्नुपर्छ, संशोधनसम्बन्धी प्रक्रिया अघि बढ्दै गर्छ भन्नेमा सरकार लागेको छ भने, त्यो सरकारको कदम गलत हुनेछ । चुनाव विरोधी हामी होइनौँ । तर चुनाव सबैको सहभागिताका आधारमा गराउनुपर्छ ।”

दिक्तेलस्थित पार्टी कार्यालयमा गरिएको पत्रकारसम्मेलननमा उहाँले पहिले संविधानलाई सुधारसहित पारित गरौँ, अनि त्यसपछि चुनावको मिति घोषणा गरौँ भनेर हामीले सरकारलाई सुझाव दिइरहेको पनि जानकारी गराउनुभयो । “जुन दिन संविधान संशोधन हुन्छ, उही दिन चुनावको मिति घोषणा गर्दा हुन्छ,” उहाँले भन्नुभयो ।

पत्रकारसम्मेलनमा उपाध्यक्ष रेणु यादवले संविधान संशोधनमा ठूला पार्टीका नेता गम्भीर नरहेको आरोप लगाउतुभयो । “देशलाई कता लैजाने भन्नेमा ठूला दलका नेता स्पष्ट देखिन्नन्”, उहाँले भन्नुभयो, “देशलाई दुर्घटना हुन नदिन सङ्घीय समाजवादी फोरमले सदन र सडकबाट खबरदारी गरिरहेको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्