जनता बैंक सञ्चालकको बदनियत उदाङ्गियो



काठमाडौं, (नेस)
पाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी पुर्याउनका निम्ति विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरको प्रयास गरिरहेको जनता बैंकका प्रवद्र्धकहरूले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनविपरीत गएर कम्पनीको सूचना चुहावट गर्दै आफूलाई आर्थिक लाभ हुने कार्यमा संलग्न रहँदैको रहस्य खुलेको छ।

अन्य प्रतिस्पर्धी कम्पनीको भन्दा वित्तीय अवस्था कमजोर रहेको जनता बैंकका सञ्चालकहरूले पूँजीवृद्धिका निम्ति माछापुच्छ«े बैंकलगायतका अन्य वित्तीय संस्थासँग मर्जको प्रयास हुँदै गर्दा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ११ को उफदफा १ तथा धितोपत्र ऐन २०३२को दफा ९१ को उपदफा १ विपरीत गएर परिवारका सदस्यमार्फत् दोस्रो बजारबाट ठूलो परिमाणमा शेयर खरिद गरेको रहस्य खुलेको हो।

जनता बैंकका सञ्चालकले मर्जका निम्ति छलफल हुँदै गर्दा गैरकानुनीरूपमा भित्री जानकारीका आधारमा धितोपत्र कारोबार ‘इन्साइडर ट्रेडिङ’ मार्फत् नातेदार र आफू संलग्न भएका कम्पनीको नाममा दोस्रो बजारबाट शेयर खरिद गरेको विषयमा नेपाल राष्ट्र बैंकमा उजुरी परेपछि सो रहस्य खुलेको थियो। बैंकका संस्थापकमध्येका एक सञ्चालक एवम् जलविद्युत् व्यवसायी गुरुप्रसाद न्यौपानेलगायतले ऐनविपरीत गएर नातेदारका नाममा दोस्रो बजारबाट शेयर खरिद गरेको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ।

मर्जरका निम्ति बैंकद्वारा गठित समितिमा समेत रहेका व्यक्तिले ‘इन्साइडर ट्रेडिङ’ गरेर दोस्रो बजारबाट शेयर खरिद गरेको विषयमा नेपाल राष्ट्र बैंकले कारबाही प्रक्रिया अगाडि बढाउँदै गर्दा बैंक आफैंले पनि छानबिन गरेको थियो। बैंकमा नागरिक लगानी कोषका प्रतिनिधिसमेत रहेका सञ्चालक नारायणप्रसाद घिमिरेको नेतृत्वमा गठित छानबिन समितिल न्यौपानेलगायतका सञ्चालकको बदनियतका बारेमा प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकले कारबाही प्रक्रिया अगाडि बढाएपछि न्यौपानेले राजीनामा दिइसकेका छन्।

घिमिरेको प्रतिवेदनमाथि सञ्चालक समितिमा छलफल भए पनि के गर्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन। पूर्वकानुन सचिवसमेत रहेका एमाले सांसद उदय नेपाली श्रेष्ठ बैंकका अध्यक्ष रहेका छन्। नेकपा एमालेका जिल्लादेखि केन्द्रीय नेताहरूसमेत संस्थापक लगानीकर्ता रहेको जनता बैंकका सञ्चालकलाई कानुनी दायरामा ल्याउन राष्ट्र बैंकमाथि राजनीतिक दबाब परिरहेको स्रोतको भनाइ छ। जनता बैंकमा देखिएको यस किसिमको वित्तीय अपारदर्शिताका बारेमा बैंकको आगामी फागुन १ गते बस्ने सातौं वार्षिक साधारणसभासम्म थामथुम पार्ने प्रयासमा सञ्चालकहरू रहेका छन्।

माछापुच्छ«े बैंकसँग मर्जरमा जाने भएपछि न्यौपानेले श्रीमती, बुहारी, नाति र आफू संलग्न भएको कम्पनीबाट करिब ३ लाख कित्ता शेयर खरिद गरेका थिए। यद्यपि, माछापुच्छ«े बैंकले जनता बैंकसँगको मर्जर प्रक्रिया तोडिसकेको छ। मर्जमा जाने भएपछि दुवै बैंकको करिब १० महिना शेयर कारोबार रोकएको थियो। माछापुच्छे« बैंकको १ सय बराबर जनता बैंकको ८२ रुपियाँ बराबरको शेयर मूल्यांकन गरिए पनि पछि तोडिएको थियो। अहिले जनता बैंकले त्रिवेणी विकास बैंकसँग मर्जर प्रक्रियामा छ। सातौं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि यो प्रक्रिया अगाडि बढ्नेछ। नेपाल राष्ट्र बैंकले यसका निम्ति गत पुस ११ गते सैद्धान्तिक सहमतिसमेत दिइसकेको छ। मर्जरका निम्ति एकबराबर एक शेयर स्वाप रेसियो तय भएको छ।

एनेमा बैंक वा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैंक वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैंक वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिदबिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लेनदेन गर्न रोक लगाएको छ।

प्रतिक्रिया दिनुहोस्