लामाबगर नाका खुलाऊ



तिब्बतसँग जोडिएको नेपालको पुरानो लामाबगर नाका खुलाउन जरुरी देखिएको छ । सिन्धुपाल्चोकको तातोपानी नाकाभन्दा पनि पुरानो दोलखाको लामाबगरको ङ्याङ्लुङ नाका चीन र भारत जोड्ने छोटो र भरपर्दो नाका भएको दोलखा जिल्लाका पूर्वसांसद जीतवीर लामाले बताउनुभएको समाचार प्रकाशमा आएको छ । २०२२ सालसम्म पैदल मार्गका रुपमा निक्कै चल्तीको यो लामाबगर नाका सडक निर्माण भएर तातोपानी नाका सञ्चालन भएपछि मात्र सुस्ताएको पूर्वसांसद लामाको भनाइ छ ।

तिब्बतको टिङ्ग्री शहरबाट सिन्धुपाल्चोकको तातोपानी नाका आउनभन्दा दोलखाको लामाबगर नाका आउन ७१ किलोमिटर नजिक रहेको बताइन्छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेको केरुङ र तातोपानी नाकाभन्दा लामाबगर नाकाको सडक सुरक्षित रहेको प्राविधिकहरू बताउँछन् । तिब्बतको सीमा लामाबगरको ङ्याङ्लुङदेखि काठमाडौंसम्म २ सय किलोमिटर रहेको छ भने भारतको सिमाना भिट्टामोडसम्म पुग्न २ सय ५० किलोमिटर दूरी रहेको बताइएको छ । सिमानामा पुग्ने १२ किलोमिटरको दूरीबाहेक सबै सडक निर्माण भई सुचारु भइसकेकाले पनि यो नाका खुलाउन धेरै आर्थिक भार नपर्ने बताइन्छ ।

दोलखाको सदरमुकाम चरिकोटबाट सिंगटी हुँदै लामाबगरको बाँधस्थलसम्म माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सडक निर्माण गरिसकेको छ । त्यहाँबाट तिब्बत र नेपालको सिमाना लामाबगरको ङ्याङ्लुङसम्म पुग्न अब करिब १२ किलोमिटर मात्र सडक निर्माण गरे पुग्छ । हुन त सडक विभागले सिमानासम्म पुग्ने सडक निर्माणका लागि ७ वर्षदेखि हरेक वर्ष बजेट विनियोजन गरे पनि कठिन भीरका कारण काम हुन नसकी ७ वर्षमा २० करोडभन्दा बढी रकम फ्रिज भइसकेको समाचार छ । तामाकोशी बाँधभन्दा केही पर ९ सय मिटर सडकको ट्रयाक खुलिसकेको र ६ किलोमिटरका लागि केही दिनमै टेन्डर खुल्न लागेको समाचार पनि बाहिर आएको छ । त्यसैले सरकारबाट केही प्रयास भएमा यो नाका सञ्चालन गर्न कठिन छैन ।

भारतीय नाकाबन्दीपछि सरकारले चीन सरकारसँग उत्तरका थप ६ वटा नाका खोल्न २०७२ असोज २७ गते गरेको समझदारीमा दोलखाको लामाबगर नाका पनि समावेश रहेको छ । सुरक्षित, छोटो र परम्परादेखि चल्तीमा रहेको लामाबगर नाका खोलेर चीन, नेपाल र भारतबीच त्रिदेशीय व्यापारलाई समेत सहज गर्न सकिने भएकाले सरकारले शीघ्र यो नाका सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्