ब्याजर दरको प्रतिस्पर्धा रोकिने



नेपाल समाचारपत्र
काठमाडौं
बजारमा देखिएको लगानीयोग्य पुँजी (तरलता) संकटको समाधान गर्नका निम्ति बैंकरहरू छलफलमा जुटेका छन्। बिहीबार नेपाल बैंकर्स संघको पहलमा विभिन्न दुई दर्जन बैंकका प्रमुख कार्यकारी अधिकृतहरूबीच तरलता व्यवस्थपनाका विषयमा छलफल गरेका थिए।

उक्त छलफलले तरलता संकट समाधान गर्न तथा लगानीका क्षेत्र र सीडी रेसियो दर वृद्धि गर्नेलगायतका विषयमा सरोकारवाला पक्षसँग बृहत् छलफल गर्ने निर्णय पनि गरेको बताइएको छ। बढ्दो तरलता संकट समाधानका लागि अर्थमन्त्री, सचिव, गभर्नर, अर्थविद्, बैंकहरू, उद्योगीलगायतसँग अर्को साता छलफल गरिने भएको हो।

बिहीबार बसेको उक्त बैठकमा ब्याज दरका विषयमा पनि बैंकरहरूबीच छलफल भएको बताइएको छ। तरलता संकट गहिरो हुँदै गएपछि त्यसलाई थाम्न बैंकहरूले ब्याजदर बढाउने प्रतिस्पर्धा गर्न थालेपछि बढी ब्याज दिने प्रतिस्पर्धा रोक्नुपर्नेमा एक किसिमको सहमतिजस्तै बनेको स्रोतले नेपाल समाचारपत्रलाई बतायो। प्रमुख कार्यकारी अधिकृतहरूबीच भएको छलफललपछि अहिले बजारमा देखिएको ब्याजदरको प्रतिस्पर्धा रोकिने स्रोतको भनाइ छ।

तरलता व्यवस्थापन गर्न बैंकहरूले १२ प्रतिशतसम्मको ब्याजदर योजना ल्याएका छन्। अब त्योभन्दा बढी हुने छैन स्रोतको भनाइ छ। साथै भेलामा अहिले तरलताका विषयमा फरकफरक धारणा आइरहेको हुँदा यस विषयमा बास्तविकता अगाडि ल्याउनका साथै बैंकहरूले गरेको लगानी पनि अनुत्पादक भनेर व्याख्या भइरहेको हुँदा बृहत् छलफल गरी एकीकृत धारणा बनाउनुपर्नेमा सहमति जुटेको छ। भेलामा छोटो समयका लागि सीडी रेसियो बढाउने विषयमा पनि छलफल हुने बताइएको छ। बैंकहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाह अनुपात (सीडी रेसियो) मा ८० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न पाउँछन्। अहिले अधिकांश बैंकको लगानी उच्चतम् विन्दुमा पुगेको छ। सरकारको पुँजीगत खर्च ११ प्रतिशतभन्दा कम भएको तथा पुनर्निर्माणको कामले पनि तीव्रता लिन नसकेको अवस्थामा बजारमा तरलता संकट बढेको विज्ञहरूको भनाइ छ।

यसैबीच बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी कालोसूचीमा परेका ऋणीको जमानी बस्नेले जमानी बसेवापतको रकम तिरेर आफ्नो धितो फुकाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार मातहतका निकायलाई उक्त निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशनमा ‘जमानतकर्ताले कबुल गरेको दायित्व बमोजिमको रकम सर्वप्रथम सम्बन्धित ऋणीबाट असुलउपर हुन नसकेमा जमानकर्ताले कबुल गरेको सीमा हदसम्मको रकम निज जमानतकर्ताले दिएको सुरक्षण धितोबाट कानुन बमोजिम लिलाम गरी असुल गर्न सकिने भनी जमानतको सर्तनामा उल्लेख गर्ने, जमानतकर्ताले कबुल गरेको जमानतको रकम जुनसुकै समयमा दाखिला गर्न ल्याएमा बुझिलिइ जमानत सुरक्षण राखेको सम्पत्ति फुकुवा गरिदिने।’

प्रतिक्रिया दिनुहोस्