रुकुमका दुई शहर मुसिकोट र चौरजहारीमा बल्यो केन्द्रीय लाइनको बिजुली



धनवीर दाहाल
रुकुम १३ माघ
रुकुमका दुई मुख्य शहर मुसिकोट र चौरजहारीमा केन्द्रीय लाइनको बिजुली बलेको छ । वर्षाैदेखि विद्युत सेवाबाट वञ्चित रुकुमको चौरजहारी नगरपालिकामा केन्द्रिय लाईन मार्फत विद्युत सेवा आपुर्ति भएको छ । जिल्लाको दोस्रो व्यापारीक थलोको रुपमा चिनिने चौरजहारीमा वाँकेको कोहलपुर सुर्खेतको छिन्छु सल्यानको सल्लीवजार हुदै जाजरकोटको कुदु स्थित सव स्टेशन केन्द्रवाट विद्युत आपुर्ति गरीएको हो ।

१ साता अघि देखि केन्द्रिय लाई परिक्षण कार्यथालनी गरीएको थियो । ५ वटा ट्रान्समिटर रहेको चौरजहारीमा १ सय के.बी.को ट्रान्समिटर वाट ५ सय घरधुरीमा विद्युत वितरण गरीने प्राविधिक सि.टी.पोखरेलले जानकारी दिनुभयो । चौरजहारी वजारको घारीगाउँमा रहेको ट्रान्समिटर लाई चार्ज गरेर विद्युत वितरण गरीएको उहाँले वताउनुभयो ।

तत्काल ग्राहक नम्वर संकेत दिएर चौरजहारी भ्याली संगै भ्याली वाहिरको गाउँहरुमा लाईन वितरण गरीने वताईएको छ । विद्युत आपुर्ति सेवा सुचारु भए संगै चौरजहारीमा संचालनमा रहेका उद्योग धन्दा कलकारखाना अस्पताल होटेल व्यावसाय संचार माध्याम वैक. लगाएत सर्वसाधारण लाई दैनिक कार्यमा सहज भएको छ । हालका लागी १८ घण्टा विद्युत सेवा संचालनमा रहने वताईएको छ ।

यसै गरी जिल्ला सदरमुकाम मुसिकोटमा पनि केन्द्रीय लाइनको बिजुली बलेको छ । बिगत केही बर्षदेखी गाँउ उज्यालो सदरमुकाम अँध्यारोको नामले चर्चामा आएको रुकुम जिल्लामा केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानियहरु हर्षित भएका छन् । रुकुम उज्यालो कार्यक्रम लागु भएको जिल्लामा सो कार्यक्रम अन्र्तगत साना लघुजलबिद्युत संचालन भएपछि गाँउमा झिलीमिली भएको भएपनि सदरमुकाम लगाएतका आसपासका गाबिसमा अन्धकार रहेको थियो ।

२४ घण्टामा ३ घण्टा मात्र स्यार्पुदह साना जलबिद्युत आयोजनाबाट आएको बिजुलीले धान्ने गरेको थियो । निकै मर्कामा परेका उपभोक्ताहरु केन्द्रीय लाइन जडान भएपछि खुसी भएका छन् । केन्द्रिय लाईन बिस्तारको लागि कात्तिक दोस्रो साता नेपाल बिद्युत प्राधिकरणको खलंगा बितरण केन्द्र कार्यालय उद्घाटन गरि तिब्र गतिमा काम थालिएको थियो । खलंगा वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले मुसीकोट सम्ममा शीतलपाटी–मुसीकोट केन्द्रीय प्रसारण लाइनको बिद्युत सञ्चालनमा आएको जानकारी दिए ।

उनका अनुसार अहिले परिक्षण प्रशारणका रुपमा बिद्युत लाईन सञ्चालन भैरहेको छ । ‘खुसिको कुरा भन्नुपर्छ छोटो समयमा पनि रुकुम खलंगा सम्म केन्द्रिय लाईनको बिद्युत बलेको छ’ प्रमुख प्याकुरेलले भने, ‘हाल यसलाई परिक्षण प्रशारणको रुपमा सञ्चालन गरिरहेका छौं, कुन समयमा कति बिद्युतको लोड हुन्छ भनेर चेक गरिरहेका छौ ।’ बिद्युत प्राधिकरणको क्षेत्रिय कार्यालय नेपालगञ्ज संग थप समन्वय गरेर ३/४ दिनपछि नियमित बिद्युत रुपमा सञ्चालन हुनेछ । तत्काल केन्द्रिय लाईन सल्यान रुकुम सडक खण्ड आसपासका बजार केन्द्र र सदरमुकाम खलंगामा सञ्चालन गरिएको हो ।

प्राधिकरणले नै उत्पादन गरेको तर यसअघि लिज मार्फत ठेक्कमा सञ्चालन हुदै आएको स्यार्पुतालबाट उत्पादित बिद्युत पनि पुनः प्राधिकरणकै मातहतमा लिएर पनि सञ्चालन भएको छ । हाल उक्त बिद्युत बाँफिकोट देखि सल्ले सम्म सञ्चालनमा रहेको छ भने सदरमुकाम खलंगामा रहेका ३ वटा ट्रान्समिटर मार्फत केन्द्रिय लाईनको बिद्युत सञ्चालन गरिएको हो । यसअघि रुकुमेली बिद्युत उर्जा विकास उपभोक्ता समिति रुकुमले सञ्चालन गर्दै आएको सम्पुर्ण प्रकृया अब खलंगा बितरण केन्द्रबाट नै हुनेछ ।

सदरमुकाम खलंगाको सेरिगाउँमा रहेको बितरण केन्द्रको कार्यालयबाट नै अब ग्राहकहरुले ग्राहक सेवा र शुल्क बुझाउने काउन्टर रहने छ । रुकुममा केन्द्रिय लाईन विस्तारका लागि काम थालेको करिब एक दशक पछि केन्द्रीय प्रसारण लाइनको बिद्युत मुसिकोटमा बलेको हो । यसअघि रुकुममा केन्द्रीय लाईन विस्तारका लािग पहल गरिएको भएपनि दशक सम्म काम रोकिदा गाडिएका पोल तथा तारहरु अलपत्र परेका थिए ।

मुसीकोटसम्म आउने केन्द्रीय बिद्युतको ११ केभी क्षमताको हो । त्यस्तै यस क्षेत्रको बिद्युतका थप व्यवस्थित र स्थानीय स्तरमा उत्पादित बिद्युतलाई केन्द्रीय लाईनमा जोड्न शीतलपाटीमा सबस्टेसन निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ भने रुकुममा पनि सव स्टेशन बनाउने योजना बनेको छ । शीतलपाटीको सबस्टेसन निर्माणपछि मुसीकोटमा भने ३३ केभी क्षमताको बत्ति बल्नेछ ।

रुकुम बितरण केन्द्र उद्घाटन क्रममा पुगेका उर्जा मन्त्री जनार्दन शर्माले काम थालेको ४ महिना भित्रै रुकुममा केन्द्रिय बिद्युत बिस्तार हुने जानकारी र कर्मचारीहरुलाई निर्देशन दिएका थिए । जस अनुसार कार्तिक दोस्रो साता देखि शुरु भएको काम चार महिना भित्रै अर्थात माघ दोस्रो हप्तामै बिद्युत सञ्चालन भएको हो । रुकुममा केन्द्रित बिद्युत लाईन बिस्तार हुन थालेपछि रुकुमेलीहरु खुसि भएका छन । यसअघि स्थानीय उत्पादनबाट नै बिद्युत बाल्दै आएका रुकुमेलीहरुले दैनिक २१ घण्टा बढी लोडसेडिङको मार खेपिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्