दिवा खाजाले बढायो विद्यार्थी



हेटौंडा,(नेस)

हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा सञ्चालन भएको दिवा खाजाका कारण कक्षाकोठामा विद्यार्थीको उपस्थिति बढेको छ ।

दिवा खाजा कार्यक्रमले कक्षा–१ मा भर्ना भएका ६० विद्यार्थीमध्ये ५२ विद्यार्थी नियमित हाजिर हुने गरेका विद्यालयका प्राचार्य मोहन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षहरुमा कक्षा–१ मा अध्ययनरत् बालबालिकाको विद्यालयमा उपस्थिति कम हुने गरेको थियो ।

विद्यालयले दिवा खाजा कार्यक्रम यही शैक्षिक सत्रको सुरुदेखि सञ्चालन गरेको उहाँले बताउनुभयो । विद्यालयमा बालबालिकाको भर्ना हुने दर बढी रहे पनि बालबालिकाको उपस्थिति न्यून हुने भएकाले यस वर्षबाट खाजाको व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

कक्षा–१ का विद्यार्थीलाई दिवा खाजाका लागि दैनिक करिब १ हजार रुपियाँ बराबर खर्च हुने उहाँले बताउनुभएको छ । दिवा खाजा कार्यक्रम विद्यालयका पूर्व विद्यार्थीहरु, स्थानीय समाजसेवी, विद्यालयका विद्यार्थीहरु र विद्यालयका शिक्षकहरुको सहयोगबाट सञ्चालन भइरहेको प्राचार्य शर्माले जानकारी दिनुभयो । ‘सामुदायिक विद्यालयमा अध्ययनरत् अधिकांश विद्यार्थीहरु निम्नवर्गीय परिवारका हुन्छन्,’ प्राचार्य शर्माले भन्नुभयो–सामुदायिक विद्यालयमा अध्ययनरत् बालबालिकालाई अभिभावकले खाजा पठाउने नगरेको पाइन्छ । जसले गर्दा विद्यालयमा बालबालिकाको उपस्थिति ज्यादै न्यून हुने गरेको थियो ।

विद्यालयमा आएका बालबालिकाहरु पनि कक्षा कोठामा निदाउने, खाजा खाने समयमा एक्लै विद्यालय बाहिर जाने गरेका थिए । बालबालिकालाई विद्यालय समयभर विद्यालयमा नै बस्ने वातावरण निर्माण गर्न दिवा खाजाको व्यवस्था गरिएको हो ।

दिवा खाजा कार्यक्रम आगामी वर्ष पनि सञ्चालन गर्ने योजना रहको बताउँदै उहाँले कार्यक्रमका लागि दाता आवश्यक रहेको बताउनुभयो । खाजामा महिनाको २ पटक खिर र अन्य समयमा जाउलो तथा बालबालिकालाई आवश्यक अन्य पोषिलो खाजा खुवाइने गरिएको छ । दिवा खाजा विद्यालयमा नै बनाएर खुवाइने गरेको खाजा व्यवस्थापन समिति संयोजक मधु क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार दिवा खाजा सञ्चालनबाट अभिभावक सन्तुष्ट भएका छन् । खाजा पठाउन नसकेका अथवा नभ्याउने अभिभावकलाई विद्यालयले सुरु गरेको दिवा खाजा कार्यक्रमले सहज भएको बताइएको छ । प्राचार्य शर्माका अनुसार गत वर्ष दिवा खाजा सञ्चालन नगर्दा कक्षा–१ का विद्यार्थीहरु कक्षाकोठामा निदाउने, भोकाउने गर्थे तर अहिले यस्तो समस्या देखिएको छैन । बजारका खानेकुराबाट बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले विद्यालयपरिसरमा त्यस्ता खाना उपभोग कम गर्ने उद्देश्यले पनि पोषणयुक्त खाजाको व्यवस्था गरिएको उहा“ले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्