७६ वर्षमा १२ कक्षा उत्तीर्ण



सोलुखुम्बु, १३ माघ । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गर्नुभएको छ ।

गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना हुनुभएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । सुरुका दिनमा नातिनातिना उमेरका विद्यार्थीसँग पढ्दा असहज भएको भए पनि पछिल्ला दिनमा सहज भएको गिरीले बताउनुभयो ।

एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्ने अभिलाषाका साथ कक्षा ११ मा भर्ना भएका गिरीले यस वर्ष उच्चमाध्यमिक तह उत्तीर्ण गरेको बताउनुभयो । वृद्धभत्ताको रकम खर्च गरेर उच्च शिक्षा पढेको बताउने गिरी सोताङ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने तयारीमा हुनुहुन्छ ।

आफू पढ्न थालेपछि गाउँका थुप्रै बुहारीले पनि पढ्न उमेरले छेक्दैन भनेर कक्षा ११ मा भर्ना भएको उहाँ बताउनुहुन्छ । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्दा गिरीले विद्यालय पोसाकमा किताबको झोला बोकी सकेसम्म गयल नहुने प्रयास गर्नुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्