तिरिरी मुरली बज्यो बज्यो वनैमा: रहेनन् गायक



विदुर गिरी, काठमाडौं
तिरिरी मुरली बज्यो वनैमादेखि पुरानो मेलोडीको किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ, लोलाएका ती तिम्रा जस्ता सदाबहार कालजयी गीतका मूर्धन्य गायक तथा संगीतकार पन्नाकाजी शाक्यको निधन भएको छ।

गत पुस १५ गते मात्र ८५औं जन्मदिन मनाएका मूर्धन्य गायक तथा संगीतकार शाक्यको ८६ वर्षको उमेरमा बुधबार बिहान ५ बजे ओमबहालस्थित निवासमा निधन भएको हो।

‘उहाँको अकस्मात् नै निधन भयो। उहाँ सकुशल हुनुहुन्थ्यो। उहाँलाई सुगरसम्म पनि थिएन। बिहान ५ बजे उहाँलाई खोकी आएछ। जेठा दाइ उत्तमले पानी खुवाएर सुताउनुभएको थियो’, शाक्यका गायक पुत्र प्रवेशमान शाक्यले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘वान्ता आउलाजस्तो भएको थियो तर गर्न सक्नुभएन। पछि उठाउने बेला हेर्दा मुख आँ गरेर सुतिरहनुभएको रहेछ, चलाउँदा पनि चल्नुभएन। गुरुजीलाई बोलाएर देखाउँदा उहाँले स्वर्गीय भइसकेको जानकारी गराउनुभयो।’ निधनको खबर सुनेपछि शाक्यका शुभचिन्तक, समकालीन तथा संगीतकर्मीले सामाजिक सञ्जालमार्पmत् गहिरो शोक व्यक्त गर्दै उहाँको निधनबाट यो क्षेत्रले एक सांगीतिक धरोहर गुमाएको उल्लेख गरेका छन्।

स्व. शाक्यको बुधबार नै धार्मिक विधिअनुसार राजधानीको टेकु दोभानमा अन्तिम संस्कार गरिएको छ। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न संगीतकर्मी तथा शुभचिन्तकहरू दिउँसो टेकु पुगेका थिए। उहाँको परिवारमा गायकद्वय पवित्र र प्रवेशमानसहित ४ छोरा र एक छोरी छन्। पन्नाकाजीले दर्जनौं लोकप्रिय गीत यो क्षेत्रलाई छोडेर जानुभएको छ। त्यसमध्ये तिरिरी मुरली बज्यो वनैमा, वनैमा लौ माया नमारे। कसको यो सम्झना मेरो मनैमा, मनैमा लौ माया नमारे। सर्वा्धिक लोकप्रिय छन्।

यो गीत अभैm पनि विभिन्न सञ्चारमाध्यमबाट उत्तीकै रुचिपूर्वक सुन्ने गरिन्छ। २००७ सालमै रेडियो नेपाल प्रवेश गर्नुभएका पन्नाकाजी १९८८ साल पुस १५ गते ओमबहालमा माता बालकुमारी शाक्य र पिता चतुरमान शाक्यका कान्छा पुत्रका रूपमा जन्मिनुभएको थियो। उहाँ ४/५ वर्षको उमेरदेखिनै घरमा तोते बोलीमै गीत गाउने गर्नुहुन्थ्यो। पिताबाट भजन सुनेर रमाउने उहाँ ९/१० वर्षको उमेरमा आपैmँ राम्ररी भजन गाउनसक्ने हुनुभएको थियो। उहाँको २० वर्षको उमेरमा ज्ञानदेवीसँग विवाह भएको थियो। तर उहाँको पहिले नै निधन भइसकेको छ।

उहाँ २०२२ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ प्रथम भएका बेला स्वरसम्राट नारायणगोपाल संगीत विधामा प्रथम हुनुभएको थियो। त्यो संयोगपछि पन्नाकाजी र नारायणगोपालका बीच गहिरो मित्रता भएको उहाँका समकालीनहरू बताउँछन्। नेपाल भाषा, आधुनिक, भक्तिगान, स्वदेशगान, लोकगीतजस्ता सबैजसो विधाका गीतहरू उत्तिकै सरलताका साथ गाइदिने उहाँले आफ्नो जीवनकालमा करिब ४ सय गीत रेकर्ड गराउनुभएको थियो भने ३ एल्बमसमेत निकाल्नुभएको थियो।

नेपाली कांग्रेसमा आस्था राख्ने उहाँले गणेशमान सिंह, प्रकाशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता कांग्रेसी नेताहरूसँग संगत भएकै कारण २०१८ सालमा ९ महिना नख्खु कारागारमा जेल जीवन भोग्नुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्