इजराइलबाट आएको सहयोगबाट बाढीपीडितलाई घर



भद्रपुर, १२ माघ । इजराइलमा कार्यरत झापाली युवा गणेश गौतमको नेतृत्वमा पठाएको सहयोग रकमबाट शिवसत्ताक्षी नगरपालिका –९ मा सात वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

झापाको कनकाई नदीमा आएको बाढीका कारण विस्थापित बनेका सात परिवारलाई इजराइलस्थित झापाली समाजले गरेको सहयोग रु दुई लाख १० हजारबाट सो घर बनाइएको गणेशका पिता होमप्रसाद गौतमले बताउनुभयो ।

विगतमा कनकाई सिँचाइ आयोजनाको नाममा रहेको करिब छ बिगाहा जग्गामा सुकुम्बासीले अतिक्रमण गरेर बसोबास गर्दै आएका कारण १०० घर परिवार सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण भएको थियो ।

सो स्थानमा घरसहित तीनवटा शौचालय र खानेपानीका लागि दुईवटा ट््युवेल पनि गाडी दिएपछि तीे घरमा बसोबास गर्ने मानिसलाई केही राहत मिलेको छ । घर पाएकोमा खुसी भएका उनीहरु अहिले राज्यबाट पनि केही होस् भनेर चाहना राखेका छन् । कनकाई नदीले तुलसी तिमल्सेना, विष्णु रिजाल, धर्मानन्द रिजाल, योगमाया पोखरेल, श्रीप्रसाद थङ्गम्वा, लालबहादुर थङगम्वा, विष्णुप्रसाद अधिकारी, छविलाल पौडेल र मित्रलाल खरेलका परिवारलाई विस्थापित बनाएको थियो ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा दैवी प्रकोपको कारण विस्थापित १०० परिवारलाई अस्थायी बसोबास मिलाउने कुरा नीतिमै मात्र सीमित रहेका बेला बिदेशमा रहेका नेपाली युवाले नेपाली दाजुभाइका लागि गरिएको यो प्रयासले सरकारको कार्यशैलीमै प्रश्न उठेको स्थानीय बासिन्दा बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्