झण्डै चमत्कार…..



प्रधानमन्त्री पुकदाले हिजो एकाएक पत्रकार सम्मेलन गर्न लागेपछि लौ चमत्कार गर्ने मान्छे आज चुनावको तिथी पो घोषणा गर्न लागे कि के हो भनेर धरहरा वरपर धेरैले चर्चा गरे । तर, पछि खुल्यो उहाँले वैदेशिक रोजगारीमा जानेका लागि बिमाको तयारी र भारतमा रोजगारीका लागि जान पनि दर्ता गराउनुपर्ने घोषणाकाबारेमा पो पत्रकार सम्मेलन गर्नुभएको रहेछ । सरकारले राम्रै काम गरेको हो तर श्रम र परराष्टमन्त्रीलाई समेत दायाबाया राखेर प्रधानमन्त्री तहबाट पत्रकार सम्मेलन गर्नुको सटटा पाका श्रममन्त्रीलाई नै त्यसो गर्न लगाएको भए भइहाल्थ्यो भन्ने चर्चापनि भएको छ ।

हुनत श्रममन्त्री अर्कै पार्टीको भएकोले जस नपाइने डर उहाँलाई हुन सक्छ । कुरा त्यस्तो त होइन जुन मन्त्रीले गरेपनि आखिर उहाँकै मन्त्रीले गर्ने हुन् क्यार । प्रधानमन्त्री तहबाट चाहिं अब जनताले चुनाव चाहेका छन् है । जतिसुकै राम्रो काम उहाँबाट भएपनि चुनावको बारेमा मौनता साँधियो भने त्यसलाई अब जनताले निको मान्ने छैनन् । धेरै मान्छे प्रतिक्षारत छन् –प्रधानमन्त्रीको तहबाटै पत्रकार सम्मेलन वा देशबासीको नाममा सम्बोधन गरेर चुनावको तिथी घोषणा होस् ।

तिथी एउटाको मात्रै होइन तीन वटै चुनावको आयो भने झन् गज्जब नै हुने धरहराको पनि सुझाव छ है । सुन्ने नसुन्ने यहाँको मर्जी !

प्रतिक्रिया दिनुहोस्