‘टि मिल्क’ का लागि दैनिक ६ सय लिटर दूध



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा दुग्ध वितरण आयोजनाले सञ्चालन गरेको ‘टि मिल्क’ योजनाअन्तर्गत् दैनिक ६ सय लिटर दूध बिक्री भइरहेको संस्थानले जनाएको छ। चिया व्यापारीलाई लक्षित गरी चिया पकाउन विशेष प्याकेजिङमा ‘टि मिल्क’ माघ १ गतेबाट हेटौंडामा बिक्री थालिएको हो। अधिकांश दूध चियाका लागि खपत हुने गरेको जानकारी दिँदै संस्थानले चियाका लागि आउने ‘टि मिल्क’ बजारमा हाल प्रचलित दूधभन्दा केही भिन्न रहेको जनाएको छ।

हेटौंडा दुग्ध वितरण आयोजना प्रमुख सन्दीपराज प्रधानका अनुसार चियाका लागि ल्याइने दूधमा चिल्लो पदार्थको मात्रा केही घटाइएको छ भने चिल्लो पदार्थबाहेक ठोस अर्थात् ‘सोलिड नट फ्याट’ (एसएनएफ) को मात्रा केही बढाइएको छ।
दूधमा रहेको ३ प्रतिशत चिल्लो पदार्थ ‘टि मिल्क’ का लागि घटाएर १ दशमलव ५ प्रतिशतमा झारिएको र दूधको एसएनएफमा स्टान्डर्ड मापन गरी ठोस पदार्थलाई संयोजन गरी बिक्री वितरण गरिएको प्रधानले जानकारी दिनुभयो।
संस्थानले कम चिल्लो पदार्थ भएको दूध ‘टि मिल्क’ को मूल्य हाल ६० रुपियाँ प्रतिलिटर र बढी चिल्लो पदार्थ भएको दूधको मूल्य ६४ रुपियाँ प्रतिलिटरमा बिक्री गरिरहेको छ।

काठमाडौंमा र विराटनगरमा उक्त दूध बढी रुचाइएकाले हेटौंडामा पनि बिक्री गरिएको बताउँदै प्रधानले उत्पादन भएको ‘टि मिल्क’ को मूल्य भने हाल बजारमा उपलब्ध दूधको भन्दा कम रहेको जानकारी दिनुभयो। ‘टि मिल्क’ कफीका लागि पनि उपयोगी हुने बताउँदै प्रधानले भन्नुभयो–‘हाल सुक्खायाम भएकाले दूधको संकलनमा कमी आएको छ।

‘टि मिल्क’ उत्पादनका लागि लागि छुट्टै संयन्त्र आवश्यक नपर्ने र हाल कायम रहेको संयन्त्रबाटै उत्पादन गर्न सकिनुका साथै लागत खर्च धेरै नलाग्ने प्रधानले बताउनुभयो। नयाँ आउने दूधबाट बजारमा चलिआएका दूधबाट भन्दा व्यापारीले धेरै कप चिया बनाउनसक्ने बताइएको छ।

हाल हेटौंडा आयोजनाले दैनिक २५ हजार लिटर दूध संकलन गर्ने गरेको छ। भूकम्प र नाकाबन्दीको कारण प्रभाव परेको दूधको बजार अझै माथि उठ्न नसकेको आयोजनाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्