अशोक सिलवाल

उनकै शब्दमा ‘आँसु त्यसै–त्यसै बग्ने तर पानी किनेर खानुपर्ने यो ढुङ्गे शहर’ मा उनले जीवनका कयौं अनुभव र अनुभूति सुनाउँदा मेरा आँखा रसाएका थिए ।

त्यसपछि पटक–पटकका साँझहरू उनले हाम्रो मित्रताको नाममा २०२६ सालमा धादिङको ज्यामरुङमा आफू जन्मेदेखिका जीवनखण्डका अनेक सुखदुःखका कथा सुनाए । विद्यार्थी हुँदाका कथा सुनाए । शिक्षक हुँदाका कथा सुनाए । स्कुले जीवनदेखि नै राजनीति र काव्यसँग जोडिएका अनेक रोचक स्मृति सुनाए ।

त्यसरी हामी जोडिएका स्थानहरूमा छेउछाउका मान्छेहरू हामी नजिक आउँथे र सोध्थे– ‘हजुर नवराज दाइ हो ?’

सधैं–सधैं यस्तै हुन्थ्यो । त्यसैले सधैं उनलाई म भित्तापट्टि बस्न भन्थें । र, भन्थें– ‘अलि सानो स्वरमा बोल्नूस् ।’ तर, त्यसरी जति लुकाउन खोजे पनि म सफल हुन्थिनँ । आम मानिसका प्रिय नवराज लम्साल सूर्यजस्ता थिए र म उनलाई हत्केलाले छोप्न खोज्थें । त्यसरी हामीले बिताएका कयौं साँझ अबेर रातमा बदलिन्थे ।

त्यसपछि काठमान्डुका चिसा रातमा अति गतिमा कन्डिसनहीन मोटरबाइक कुदाएका ती क्षण म अहिले पनि सम्झन्छु । यति भन्दै म पाँच–सात वर्षअघिको स्मृतिमा जान्छु । त्यो पहिलो प्रत्यक्ष भेट थियो हाम्रो ।

त्यसअघि म उनको फ्यान थिएँ, स्रोताको रूपमा । उनको स्वरमा लठ्ठिनुको बग्लै मजा थियो । पछि मात्र थाहा भयो । त्यो उनको स्वर थिएन, जसले म लठ्ठिएको थिएँ । त्यो त उनले स्कुल र कलेज जीवनमा कोर्षबाहिरका हजारौं किताब पढेर आफूमा अटाएको अथाह ज्ञानको चमत्कार थियो । तलबाट माथि र त्यसपछि क्षितिज च्यातेर फैलिएको यद्यपि धरातल नछोडेको जीवनका अनेक संघर्षरूपी सौन्दर्यको अभिव्यक्ति रहेछ उनको स्वरमा । त्यो स्वरले पो चमत्कार गरेको रहेछ ममा । भिन्न भूगोल, संस्कृति, उमेर र अवस्थाका असंख्य मानिसका मनमा गहिरो गरी प्रिय स्वर बनेर बसेका उनलाई त्यसको एक रौं घमण्ड छैन ।
आम मान्छेमात्र रहिरहे उनी । व्यवहारले । सोचले । सपनाले । र, त्यही चिजले हो, उनीसँग म अझ बढी आकर्षित भएको ।

उनको भाषण । उनको भावना । उनको कविता । उनको कर्म । यी सबै सबै उत्तिकै अग्ला । उत्तिकै प्रिय । दिन पनि कत्ति दिएका ईश्वरले उनलाई । कहिले काहीं त लाग्छ, उनीभित्र ईश्वर छन् ।

कि कसो ? नवराज जी !
‘तपाईंको घर कहाँ हो ?’ –दूध हालेको बाक्लो कफीको घुट्को घुटुक्क निलेर उनले मलाई सोधेका थिए ।

मेरो उत्तर थियो– ‘आजभन्दा दश वर्षअघि पनि मधुवनमा मलाई यही प्रश्न सोध्नुभएको थियो । दश वर्षपछि आज फेरि उही भाका, भाव र भङ्गीमा यो प्रश्न सुन्दा खुसी लाग्यो ।’

त्यो साँझ उनका जीवनका अनगिन्ती आयामबारे कुरा भयो ।
उनकै शैलीमा हामी यसरी छुट्टिएका थियौं भन्छु– सिमसिम पानी जिउँदै थियो । दुवैले ओढ्यौं आ–आफ्नो वर्षादी र लाग्यौं बाटो । थापाथली चोकबाट म म्हैपीतिर र उनी नैकापतिर ।

त्यो पहिलो साँझपछि असंख्य साँझहरू बिते । कयौं मात्तिएका साँझहरू पनि बिते । त्रिपुरेश्वरका साँझहरू । बालाजुका साँझहरू । अरू थुप्रै ठाउँका थुप्रै साँझहरू । त्यति बेला मापसे चेकिङको चलनै पनि थिएन क्यारे ! वर्षहरू बिते । गीतकार नवराज लम्सालले आफ्ना असंख्य लोकप्रिय गीतको थाकमा अरू केही गीत थपे ।

वर्षहरू बिते । उनै स्रस्टा नवराज लम्सालले केही किताबमा महाकाव्य ‘कर्ण’ थपे । अर्को महाकाव्य प्रकाशनको अन्तिम तयारीमा छन् उनी । उनले मसँग भनेका छन्– ‘जे–जति लेख्नुपर्ने थियो, यसैमा लेखेको छु । धरापछि कम्तीमा उनी अर्को महाकाव्य लेख्ने छैनन् ।’

वर्षहरू बिते । उनै रेडियोकर्मी नवराज लम्सालले ‘मधुवन’ लगायत अनेक लोकप्रिय रेडियो कार्यक्रमसँगै नेपाली रेडियो इतिहासमा नयाँ पाना थपे । पहिलोपटक रेडियो नेपालको केन्द्रीय स्टुडियोबाट प्रत्यक्ष प्रसारणमार्फत् नियमितरूपमा उनले ‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रम चलाए ।

वर्षहरू बिते । उनै विद्यार्थी नवराज लम्सालले विद्यावारिधि प्राप्त गरे । नवराज लम्सालबाट डा. नवराज लम्साल भए ।

वर्षहरू बिते । चर्चित अखबारी लेखक भए ।
वर्षहरू बिते । उनै लेखक नवराज लम्साल नेपाली लेखक संघका निर्वाचित अध्यक्ष भए । अध्यक्ष भएलगत्तै उनले भनेका थिए– ‘नेपाली लेखक संघको अध्यक्षका रूपमा लेखन स्वतन्त्रता र लेखकीय उच्च मर्यादाका निम्ति अब अझ सक्रिय हुनेछु । नेता हुन होइन, लेखनमैत्री वातावरण बनाउन र लेखन सत्ताको विवेकपूर्ण बहस अगाडि बढाउन म प्रयत्नरत रहनेछु ।’ तर, उनी त्यहाँ धेरै दिन रहेनन् ।

केही महिनामै उनले यस्तो राजीनामा–पत्र लेखे–
‘२०७३ वैशाख १८ र १९ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट नेपाली लेखक संघको वर्तमान केन्द्रीय समितिसँगै म केन्द्रीय अध्यक्ष पदमा निर्र्वािचत भएको हुँ । महाधिवेशन नेतृत्व छनोट मात्र हैन र महाधिवेशनमार्फत् संघको नीति, निर्देशन तथा कार्यहरूको प्रस्ट निर्देश हुन्छ भन्ने कुरा संघकै विधानको परिच्छेद ४ को दफा १४ मा प्रस्ट उल्लेख छ ।

राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि अधिवेशनका प्रतिनिधिहरूको हस्ताक्षरसहित त्यहाँ गरिएका निर्णयहरू संघका वैधानिक सम्पत्ति हुन् । त्यही निर्णय र दस्तावेजका आधारमा परिच्छेद ९ दफा २९ बमोजिम संशोधित विधान प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिई लागू गरिने हो । लेखापरीक्षणलगायत अन्य आन्तरिक व्यवस्था र परिचालनका लागि समेत महाधिवेशनका दस्तावेज मार्गदर्शन र आधार पनि हो । संगठन भावनात्मक र कोरा सैद्धान्तिक कुरा मात्र नभएर प्राविधिक, कानुनी र प्रक्रियागत कुरा पनि हो ।

तर, २०७३ वैशाख १८ र १९ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनका कुनै पनि दस्तावेज निवर्तमान कार्यसमितिबाट वर्तमान कार्यसमितिलाई आजसम्म प्राप्त भएन । पटक–पटक कोशिस गर्दा पनि प्राप्त भएन⁄हुन सकेन । आफैं र आफ्नै केन्द्रीय समिति निर्वाचित भएको ऐतिहासिक अधिवेशनको सम्पूर्ण दस्तावेज आफ्नै नैतिक बलको जग हो । त्यो जग नहुँदा संशोधित विधान प्रमुख जिल्ला अधिकारीबाट स्वीकृत गराउन, संघको दर्ता नवीकरण गर्न, बैंक खाता सञ्चालन तथा लेखापरीक्षणलगायतका व्यावहारिक काम गर्नसमेत यसबाट बाधा उत्पन्न भएको छ र अधिवेशनले पारित गरेको विधानसमेत आजसम्म स्वीकृत गराउन पाइएको छैन ।

आफू निर्वाचित भएको राष्ट्रिय महाधिवेशनका दस्तावेज नै नहुनु र तिनैका आधारमा गरिने वैधानिक प्रक्रिया अवरुद्ध हुनुले संस्थामा मात्र हैन म आफैंमा पनि नैतिक अवरोध आएको छ । प्रतिनिधिहरूको हस्ताक्षरसहितको महत्त्वपूर्ण दस्तावेज बिनासम्पादन गरिने कानुनी कार्य स्वतः नक्कली र ढाकछोपको काम हुनेछ । नेपाली लेखक संघजस्तो प्राज्ञिक, नैतिक र सिर्जनशील संघका आन्तरिक जीवनको संगठन पद्धति नै ढाकछोप र नक्कली सही भर्पाइका आधारमा अघि बढाउनु प्राज्ञिक मर्यादाको धब्बा हुनेछ ।

लेखनको आदर्श र मर्यादामार्फत् समाजलाई नैतिकता सिकाउने संस्थामा रही नक्कली काम गर्नुभन्दा नयाँ प्रक्रिया र वैधानिकताका लागि मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्षमा पुगी संघको विधान परिच्छेद ९ को दफा ३० बमोजिम यस सम्मानित केन्द्रीय कार्यसमिति समक्ष आज मिति २०७३ साउन ७ गतेदेखि नै लागू हुने गरी राजीनामा पेस गरेको छु । मेरो राजीनामापछि संघको विधान परिच्छेद ४ को दफा ११.१ क अनुसार विशेष साधारणसभाद्वारा वा अन्य वैकल्पिक वैधानिक व्यवस्थाद्वारा नयाँ निकासका लागि बाटो खुल्नेसमेत विश्वास लिएको छु ।

साथै यस बीचको छोटो समयमा कर्णालीदेखि इलामसम्म आधा दर्जनभन्दा बढी विविध सार्थक कार्यक्रमहरूको आयोजना गर्न, विधिवतरूपमा केन्द्रीय कार्यालय खोल्न र विषयनिस्ट बहस र अन्तरक्रिया प्रारम्भ गर्न सघाउने विभिन्न जिल्ला समिति तथा केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई हार्दिक धन्यवाद दिँदै साधारण सदस्यका रूपमा यस ऐतिहासिक र गरिमामय संघको उन्नति, प्रगति र सिर्जनात्मक श्रीवृद्धिका लागि आफू सदा क्रियाशील रहने विश्वास फेरि एक पटक दोहोर्याउन चाहन्छु ।’

उनी अध्यक्ष भएकोमा म जति खुसी भएको थिएँ, यो राजीनामापत्र पछि म त्यसभन्दा बढी आश्चर्यमा परें । केही दिनपछि उनले बेलीविस्तारमा सबै कुरा सम्झाए । भावुक नवराजभित्र कति कठोर निर्णय लिनसक्ने क्षमता रहेछ भनेर त्यो दिन मैले उनीभित्रको अर्को नवराज चिनें ।

राजीनामा–पत्र प्रसंगपछि झन्डै २० वर्षदेखि नियमितरूपमा ‘मधुवन’ चलाइरहेका उनको एउटा श्लोक सम्झन्छु ।
‘खै कुन्नि कतिले पाए दुखान्त कर्णको गति
आफ्नै नेपालमा देखें ठ्याक्कै उस्तै विसंगति ।’

LEAVE A REPLY