नीलले ल्याए मेकअप स्टुडियो



नेपालको हेयर स्टाइलको क्षेत्रमा नयाँ क्रान्ति ल्याउन सफल सेलिब्रेटी हेयर स्टाइलिस्ट नील डेभिड कटुवालले व्यावसायिकरूपमा मेकअप स्टुडियो पनि सञ्चानलनमा ल्याएका छन्। उनको एनडीके (नील डेभिड कटुवाल) मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकेडेमीको मंगलबार राजधानीको सुनधारास्थित सिभिल मलमा आयोजित एक समारोहबीच अभिनेतृ गौरी मल्लले शुभारम्भ गरिन्।

नेपालमै पहिलोपटक महिला र पुरुषको हेयर सौन्दर्यको काम एकै छानामुनि एकैसाथ हुने गरी युनिसेक्स सलुन सञ्चालन गरेर क्रान्ति ल्याएका नीलले ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट विजेता क्रिस्टिना बुलन्डाबाट हेयर एन्ड फिल्म मेकअपको कोर्ष पूरा गरेका थिए। बुलेन्डाबाट पाएको मेकअपसम्बन्धी ज्ञान नेपाली सौन्दर्यप्रेमीका लागि प्रयोग गर्न आफूले लामो समयको अध्ययन र गृहकार्यपछि पहिलोपटक मेकअप स्टुडियो सञ्चालनमा ल्याएको नीलले जानकारी गराए। सिभिल मलको पहिलो तल्लामा रहेको नील डेभिड्स हेयर एन्ड सलुनसँगै रहेको मेकअप स्टुडियोमा सौन्दर्यसम्बन्धी सबै प्रकारको सेवा उपलब्ध हुने उनले बताए।

उनका अनुसार सेलिब्रेटी मेकअपदेखि सुटिङ र फोटो सेसनसम्मका लागि मेकअपको काम हुने स्टुडियोबाट फिल्म, टेलिफिल्म र म्युजिक भिडियोका कलाकारहरुका लागि विशेष मेकअप र गेटअपका साथमा ब्राइडल प्याकेज, एस्कुलसिभ ब्राइडल प्याकेज, पार्टी मेकअप, हेयर स्टायल जस्ता सबै प्रकारको सेवा प्रदान गरिनेछ भने मेकअपसम्बन्धी तालिमको व्यवस्था पनि हुनेछ। सेलिब्रेटीदेखि दुलाहा–दुलही तथा सर्वसाधरणले आफ्नो मेकअप स्टुडियोमा आएर मेकअप गरी सीधै सुटिङ सेट, जग्गे र पार्टीमा जान सक्ने उनले बताए।

‘विदेशमा ३ महिनाको १२ लाख तिरेर सिक्नुपर्ने कोर्स हामीले महिनाको ३५ हजारमा नै सिकाउनेछौं। आजबाटै १४ जना विद्यार्थी तालिमका लागि सम्मेलित भइसकेका छन्। यिनै विद्यार्थीले भोलि गएर फिल्महरुमा मेकअप आर्टिस्टका रूपमा योगदान गर्नेछन्’, कार्यक्रममा बोल्दै नीलले भने– ‘हामी फिल्म आर्टिस्टका लागि मेकअप डिजाइन पनि गर्छौं। कुनै पनि फिल्म, टेलिफिल्म तथा सिरियलको स्क्रिप्ट हेरेर त्योअनुसार कस्तो मेकअप वा गेटअप गर्ने भन्ने डिजाइन तयार पारेर दिनेछौं।’ उनले अब छिट्टै ब्युटी कन्टेस्ट आयोजना गर्ने र इलाममा पनि पार्लर सञ्चालनमा ल्याउने जानकारी गराए।

त्यसै गरी कार्यक्रममा बोल्दै नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले कुनै पनि क्षेत्रमा परेर आउनु र पढेर आउनुमा फरक भएको चर्चा गर्दै नील डेभिड हेयर स्टाइलका विषयमा पढेर आएकाले नै उनीबाट क्रान्ति सम्भव भएको तथा आफ्नो मेकअप कला सिनेमा क्षेत्रका लागि पनि प्रयोग गर्नुपर्ने बताए। त्यसै गरी अर्का पत्रकार कृष्ण भट्टराईले नीलले हेयर स्टाइल पनि नेपालीहरुका लागि करियर हुन सक्छ भनेर पुष्टि गर्दै आफूहरुका लागि पत्रकारिताको भिन्दै विधा तयार पारेको बताए।

त्यस्तै प्रमुख अतिथि अभिनेतृ गौरी मल्लले नीलको मेकअप स्टुडियोबाट स्तरीय मेकअप गर्न चाहनेले लाभ लिन सक्ने चर्चा गर्दै फिल्म र टेलिफिल्मका विभिन्न चरित्रलाई गेटअप दिन चाहनेले पनि फाइदा लिन सक्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्