अमेरिकालाई टीपीपीबाट अलग्याउन ट्रम्पद्वारा हस्ताक्षर सीआईए प्रमुखमा माइक पम्पियो



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अमेरिकालाई ट्रान्स–प्यासिफिक पार्टनरसिप (टीपीपी) बाट अलग्याउने ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले भियतनामसँग स्वतन्त्र व्यापार क्षेत्र तथा व्यापारको राष्ट्रिय स्वामित्वलाई वैधानिक बनाउने उद्देश्यले यस बहुराष्ट्रिय सम्झौता टीपीपीमा हस्ताक्षर गरेका थिए। ट्रम्पले आफूद्वारा हस्ताक्षरित ज्ञापनपत्र पत्रकारहरुलाई देखाउँदै आफूहरुले गरेको यो काम अमेरिकी कामदारहरुका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन्। सन् २०१६ को फेब्रुअरी ४ मा ओबामा सरकारले हस्ताक्षर गरेको सो टीपीपीले कंग्रेसको दुवै सदनले सामान्य बहुमतले पारित भएको थियो

ट्रम्पले टीपीपीलाई चुनाव प्रचारप्रसार मुद्दासमेत बनाएका थिए। ओबामा सरकारले तय गरेको यस टीपीपीअन्तर्गत अमेरिकाले समाजवादी गणतन्त्र भियतनामलगायत स्वतन्त्र व्यापार क्षेत्र बताइएका एघारवटा राष्ट्रसँग मिलेर काम गर्न सक्ने वातावरण बनाइएको थियो। अन्य राष्ट्रमा अस्ट्रेलिया, बु्रनाई, क्यानाडा, चिली, जापान, मलेसिया, मेक्सिको, न्युजिल्यान्ड, पेरु र सिंगापुर रहेका छन्।
संयुक्त राज्य अमेरिकाको कंग्रेसको माथिल्लो सदन–सिनेटले राष्ट्रको प्रमुख गुप्तचरीय संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को निर्देशक पदमा माइक पम्पियोको मनोनयनलाई मंगलबार अनुमोदन गरेको छ।

एक सय सदस्यीय सिनेटको बैठकमा मतदान हुँदा माइकको समर्थनमा ६६ मत र विपक्षमा ३२ मत परेको थियो। माइकले प्राप्त गरेको ६६ मतमध्ये ५१ मत रिपब्लिकन सिनेटरहरुको, १४ मत डेमोक्रेट सिनेटरहरुको र एक मत स्वतन्त्र सिनेटरको भएको जनाइएको छ।

अमेरिकी संविधानअनुसार राष्ट्रपतिले राष्ट्रिय महत्त्वका ठूला पदहरुमा कसैलाई नियुक्त गरेपछि सिनेटको सामान्य बहुमतले यसको अनुमोदन गर्नु आवश्यक छ। सिनेटको यस मतदानबाट सीआईए निर्देशक पदमा माइकको नियुक्तिले बल्ल औपचारिकता पाएको छ। गत शुक्रबार नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पदबहाली गरेकै दिन सीआईएका पूर्वनिर्देशक जोन ब्रेनानले राजीनामा दिएका थिए। सोही दिन माइकले नियुक्ति पाएका थिए।
राष्ट्रपति ट्रम्पले गत शनिबार सीआईएको प्रधान कार्यालय गई त्यहाँ एक सद्भाव वक्तव्य दिएका थिए। उक्तत वक्तव्य दिने क्रममा राष्ट्रपति ट्रम्पले सिनेटले आफ्ना नियुक्तिहरु अनुमोदन गर्न ढिलाइ गर्ने गरेको गुनासो गरेको दुई दिनपछि नै सिनेटले माइकको नियुक्ति अनुमोदन गरेको हो।

सीआईए निर्देशकको यस अनुमोदन ट्रम्पको ह्वाइट हाउसमा राष्ट्रपतीय कार्यकाल शुरु भएपछि ठूला पदहरुमा नियुक्तिको यो तेस्रो अनुमोदन हो।
यसअघि राष्ट्रपति ट्रम्पले जेम्स म्याटिसलाई रक्षा मन्त्रीमा र जोन केलीलाई आन्तरिक सुरक्षा मन्त्रीमा गरेको नियुक्तिलाई सिनेटले यसैगरी अनुमोदन गरिसकेको छ। क्यासास राज्यबाट रिपब्लिकन पार्टीको टिकटमा सन् २०११ देखि अमेरिकी कंग्रेसमा प्रवेश गरेका ५२ वर्षीय माइक पम्पियो एक कट्टरपन्थी रिपब्लिकनको रुपमा परिचित छन्।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका लागि दिइने उम्मेदवारी मनोनयनमा उनले ट्रम्पलाई ह्दयदेखि सघाएका थिए।

प्रतिक्रिया दिनुहोस्