हुलाकबाट रेडियोको नवीकरण



Old radio

पाल्पा, ११ माघ । पाल्पाको रामपुर नगरपालिकास्थित सामुदायिक रेडियो रामपुरले जिल्ला हुलाक कार्यालय, पाल्पाबाट आफ्नो नवीकरण गर्न थालेको छ ।

सरकारले १०० वाट क्षमताका रेडियोको नवीकरण र रोयल्टी तिर्ने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै सूचना मन्त्रालय धाउन नपरेको स्टेसन म्यानेजर शुकदेव पोखरेलले जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालयका प्रमुख खेतबहादुर खत्रीका अनुसार जिल्लामा १०० वाटसम्मको क्षमता भएको सामुदायिक रेडियो रामपुरको आव २०७२÷०७३ र ०७३÷०७४ को नवीकरण जिल्ला हुलाक कार्यालयबाट भएको जानकारी दिनुभयो ।

रेडियोले ०७३÷०७४ मा रु १८ हजार ३२० रोयल्टीबापतको रकम जिल्ला हुलाक कार्यालयमार्फत सरकारलाई तिरेको हो । सय वाटको रेडियोले वार्षिक नवीकरणबापत रु दुई हजार सरकारलाई तिर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

स्टेसन म्यानेजर शुकदेव पोखरेलका अनुसार नवीकरण र रोयल्टीको काम जिल्लाबाट हुन थाले पनि ट्रान्समिटरको नवीकरणको लागि काठमाडौँ धाउनुपर्ने बाध्यता पनि हट्नुपर्छ ।

पाल्पाको रामपुरबाट संचालित अन्य दुई एफएम, मदनपोखरा गाविसमा एक, दोभान गाविसमा एक र तानसेनबाट चारवटा एफएम रेडियो सञ्चालन रहेका छन् भने नवीकरणका लागि सूचना तथा सञ्चार मन्त्रालय धाउनुपर्ने बाध्यता रहेको छ ।

एफएम रेडियो सञ्चालनमा आर्थिक समस्या हुने र पत्रकार लामो समयसम्म टिक्न नसक्दा गुणस्तरीय समाचार र स्थानीयस्तरका समस्या उठान गर्नमा समस्या हुँदै आएको रेडियो सञ्चालक बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्