बेंसीशहरमा तामाङ कला



लमजुङ, (नेस)। लमजुङको जिल्ला सदरमुकाम बेंसीशहरमा दुईदिने प्रथम ऐतिहासिक तामाङ सांस्कृतिक महोत्सव शुरू भएको छ। विविध सांस्कृतिक र मनोरञ्जक प्रस्तुतियुक्त महोत्सवको कृषि राज्यमन्त्री राधिका तामाङले शुभारम्भ गरेकी थिइन्।

भाषा लिपि मौलिक संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र समृद्धि हाम्रो साझा अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको सांस्कृतिक महोत्सवमा लोप हुन लागेको तामाङ संस्कृति जोगाउने उद्देश्यले गरिएको मूल समितिका संयोजकमा अजय तामाङले बताए। बेंसीशहरको फूलबारी मञ्चमा आयोजना गरिएको तामाङका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति एवम् जिल्लास्थित तामाङ घेदुङका विभिन्न एकाइले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। महोत्सवमा सहभागी हुन आएका सबै तामाङहरू आफ्नो जातीय भेषभूषामा सजिएर सहभागी भए।

कार्यक्रममा राष्ट्रिय लोकगायिका सुमित्रा लामा तथा फूलमान तामाङको प्रस्तुति निकै रोचक रहेको थियो। सुमित्राले च्याङ्वाले भन्छ भागेर जाऊँ, म च्याङ्वालाई माग्न आऊँका साथै मलाई तामाङ हुनुमा गर्व छ बोलका गीतहरू गाएर दर्शक नचाएकी थिइन्।

यसै गरी फुलमान तामाङले माथि त लेकमा तथा ताका धुम बोलका गीत गाएर मनोरञ्जन दिलाएका थिए। त्यस्तै, स्थानीय कालकारहरू प्रशान्त तामाङ, लक्ष्मी तामाङ र विशाल तामाङको प्रस्तुति पनि रोचक थियो।

कार्यक्रममा राज्यमन्त्री तामाङ आफ्नो जातीय पहिचानका लागि गरिएको यो सांस्कृतिक महोत्सवले मुलुकभरका तामाङलाई सन्देश दिन सफल भएको बताइन्। सो अवसरमा सांसदद्वय चन्द्रबहादुर कुँवर, लालबहादुर गुरुङसहित विभिन्न दलका प्रमुख तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए।

तामाङ जातिको सांस्कृतिक पर्व २८५३औं सोनाम ल्होछारको अवसरमा प्रथम ऐतिहासिक तामाङ सांस्कृतिक महोत्सवको आयोजना गरिएको तामाङ घेदुङ संघ प्रदेश नं. ४ का उपाध्यक्ष हरिजंग तामाङले जानकारी गराए। उनका अनुसार महोत्सवले तामाङको संस्कार र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। महोत्सवमा तामाङ सङ्ग्रहालय, तामाङ भेषभूषा, लिपि तथा किताबहरू, तामाङ खाना, बाजा प्रदर्शन र तामाङ गाउँका फोटो प्रदर्शनको साथै सांस्कृतिक कार्यक्रम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्