नेवार सुन्दरी रमे पाक कलामा



१२औं संस्करणको मिस नेवाः ११३७ का प्रतियोगी नेवार सुन्दरीहरूले नेवारी परिकार बनाउने कला सिक्दै सहभागीलाई खुवाएर पाक कलाको ज्ञान आदानप्रदान गरेका छन्।

उनीहरूले राजधानीमा आयोजित कार्यक्रममा समयबजीसहित नेवार परिकार बनाएर खुवाउँदै यो कलाको ज्ञान आदानप्रदान गरेका हुन्। मिस नेवाःको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार नेवार खाना संस्कृतिबारे उनीहरूलाई जानकारी र त्यसको महत्त्व बुझाउन नेवार खाना बनाउने कार्यक्रम आयोजना गरिएको हो। जसका लागि उनीहरूलाई केही प्रशिक्षार्थी पनि दिइएको थियो।

घरमा अभिभावकले नेवारी खाना बनाएर खुवाए पनि धेरैजसो प्रतियोगीले यसपटक आफ्ना केही मौलिक परिकार बनाउन सिकेको बताए। परिकार बनाउन सिक्नुका साथै सामूहिक भोजमा रम्न पाउँदा खुसी लागेको उनीहरूको भनाइ थियो।

मिस नेवाःको अन्तिम प्रतिस्पर्धामा कृजना डंगोल, स्नेहा महर्जन, आकृति महर्जन, विनिता डंगोल, मेरिना मानन्धर, गंगा देउला, ओमिजिना महर्जन, स्नेहा पुजारी, शिला प्रजापति, सलिना श्रेष्ठ, प्रतिसरा नापित, श्रीजु महर्जन, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ, रोज महर्जन, मुना केसी, पल्पसा श्रेष्ठ, सृष्टि खड्गी, प्रमिला श्रेष्ठ, रोश्ना श्रेष्ठ, ओजस्वी श्रेष्ठ, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, लेनिना वज्राचार्य, आंग्या कारञ्जित र जिनु त्वयानाले स्पर्धा गर्दै छन्। मिस नेवाका प्रतियोगीलाई रोजिन शाक्यले विभिन्न विषयमा प्रशिक्षण दिइरहेका छन्। आगामी २६ माघमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२औं मिस नेवाः चयन हुनेछ।

प्रतिक्रिया दिनुहोस्