बोर्डद्वारा नयाँ तरिकाबाट वित्तीय विवरण प्रकाशित गर्न निर्देशन



नेपाल समाचारपत्र
काठमाडौं
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३ दशमलव २८ अंकले वृद्धि भई १४६५ दशमलव ८४ अंकमा पुगेको छ। यस दिन कुल १३२ कम्पनीको ७ लाख २९ हजार ८ सय कित्ता शेयर किनबेच हुँदा २९ करोड ९१ लाख रुपियाँको शेयर कारोबार भएको छ।

आइतबारको कारोबारमा बैंकिङ समूह ५ र बीमा समूह ३ अंक, उत्पादन समूह ३३ र अन्य समूह २ अंकले वृद्धि हुँदा जलविद्युत् समूह १२, फाइनान्स समूह ४ र विकास बैंक समूह २ अंकले घटेका छन्। कारोबार रकमका आधारमा यस दिन प्रभु बैंकको संस्थापक शेयर अगाडि रह्यो। प्रभु बैंको संस्थापक शेयर ६ करोडको कारोबार भएको छ।

त्यस्तै एसबीआई बैंकको १ करोड ८२ लाख तथा सिद्धार्थ बैंकको १ करोड ४४ लाखको शेयर कारोबार भएको छ। सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ९ दशमलव ९९ प्रतिशत आर्जन गरेका छन्। तर, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक धेरै अर्थात सात प्रतिशतले गुमाएका छन्। आइतबार नेपाल एसबीआई बैंकको मूल्य ४ प्रतिशतले बढेको छ। आइतबार नै वित्तीय विवरण सार्वजनिक गरेका सिद्धार्थ बैंक र प्राइम बैंकको शेयरमूल्य घटेको छ। मर्जरमा जाने भएकाले मेगा बैंकर टुरिजम डेभलपमेन्ट बैंकको कारोबार आइतबारदेखि रोक्का भएको छ।

यसैबीच आइतबारदेखि लगानीकर्ताले आस्बा प्रणालीबाट शेयर आवेदन दिन शुरू गरेका छन्। आइतबार पहिलोपटक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको आईपीओमार्फत् लगानीकर्ता आस्बा प्रणालीमा सहभागी भएका हुन्। कम्पनीले ६ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। सय रुपियाँ अंकित मूल्यको यो आईपीओमा न्यूनतम ५० कित्ता र अधिकतम ३ हजार कित्तासम्म भर्न पाइनेछ।

कुल निष्कासन गरिने शेयरमध्ये ३० हजार कित्ता कर्मचारीलाई दिएको छ भने ३० हजार कित्ता सामूहिक लगानी कोष कम्पनीलाई छुट्याइएको छ। बाँकी पाँच लाख ४० हजार कित्ता भने सर्वसाधारणले पाउने छन्। यो आइपीओको बिक्री बन्द छिटोमा माघ १२ गते हुनेछ। नेपाल धितोपत्र बोर्डले आस्बा प्रणालीमा शेयर आवेदनमा उत्साहित भएको जनाएको छ। लगानीकर्ता फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयर लगानीकर्ता उत्साहित भएका बोर्डले जनाएको छ। नेपाल धितोपत्र बोर्डले आस्बा कार्यान्वयनका निम्ति आइतबारदेखि निरीक्षण थालेको छ भने कुनै समस्या आए बोर्डमा जानकारी गराउन आग्रह गरेको छ। बोर्डले विभिन्न स्थानमा गई स्थलगत अध्ययन थालन गरेको छ।

त्यस्तै नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीलाई नयाँ धितोपत्र दर्ता तथा निश्काशन नियमावली २०७३ मा गरिएको व्यवस्था अनुसार त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ। बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै सूचीकृत कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो।

कम्पनीहरूले पुरानै नियमावली २०६५ अनुसार वित्तीय विवरण सार्वजनिक गरिरहेकाले नयाँ नियमावलीअनुसार काम गर्न कम्पनीहरूको ध्यानकर्षण गराएको बोर्डले जनाएको छ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा सूचीकृत कम्पनीले नाफा नोक्सान हिसाबसँगै आफूविरुद्ध मुद्दा दायर भएको भए त्यसको विवरण, सञ्चालकविरुद्ध मुद्दा दायर भएको भए त्यसको पनि विवरण, प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, शेयर बजारको कारोबारसम्बन्धी विश्लेषणसहित टिप्पणी राख्नुपर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्