मुरे अस्ट्रेलियन ओपनबाट बाहिर



मेलबर्न, (एजेन्सी)
नोभाक जोकोभिचको हारपछि पहिलो अस्ट्रेलियन ओपन जित्ने आशामा रहेका विश्व नम्बर एक एन्डी मुरे प्रतियोगिताको चौथो चरणबाट बाहिरिएका छन्।

मेलबर्न कोर्टमा आइतबार विश्व नम्बर ५० जर्मन खेलाडी मिस्चा जभेरेभले मुरेको उपाधि जित्ने सपना चकनाचुर पारेका हुन्। जर्मन खेलाडीले ब्रिटिसलाई रड लेभर एरेनामा ७–५, ५–७, ६–२, ६–४ ले पराजित गरेका थिए। मुरेले सन् २००९ पछि चाँडै पराजय बेहोरेका थिए। त्यस्तै २००६ पछि ग्रान्डस्लाम प्रतियोगितामा तल्लो वरीयता खेलाडीसँग हारेको पहिलो पटक थियो। सो वर्षको अस्ट्रेलियन ओपनमा मुरे विश्व नम्बर ५१ हुआन इग्नासीयो चेलासँग हारेका थिए।

जभेरेभले क्वाटरफाइनलमा पूर्वविजेता तथा १७ ग्रान्डस्लाम विजेता रोजर फेडेररसँग खेल्नेछन्। स्विस खेलाडी फेडेररले जापानका केई निशिकोरीलाई हराउन पाँच सेटसम्म खेलेका थिए। यो फेडेररको १३औं अस्ट्रेलियन ओपन क्वाटरफाइनल हुनेछ। यसै गरी महिला सिंगल्सतर्फ भेनस विलियम्सले जर्मनीकी मोना बार्थेललाई सोझो सेटमा हराएर अन्तिम आठमा पुगिन्। उनको सामना रसियाकी एनास्टासिया पाभ्लुचेन्कोभासँग हुनेछ। एनास्टासियाले आफ्नै राष्ट्रकी स्वेटलाना कुज्नेटसोभालाई पराजित गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्