बुल्गेरियामा नयाँ राष्ट्रपतिद्वारा पदको शपथ



सोफिया, (एजेन्सी) बुल्गेरियाका नयाँ राष्ट्रपति रुमेन राडेभले आइतबार पदभार ग्रहण गरेका छन्।
उनले विशेष समारोहका बीच पदको शपथग्रहण गरेका थिए। कार्यक्रममा प्रशासनिक निकाय, सुरक्षा निकाय र कूटनीतिक नियोगका उच्च अधिकारीहरू सहभागी भएका थिए। शपथग्रहणपछि उनले भने– ‘म बुल्गेरियाका लागि वार्ता, मेलमिलाप र सहकार्यको राष्ट्रपति बन्ने छु।’

उनले राष्ट्रियसभा, सरकार र अन्य निकायका साथै राजनीतिक पार्टी, नागरिक समाजका संघसंस्थालगायतसँग संयुक्तरूपमा बुल्गेरियाको समस्या समाधानका लागि काम गर्ने पनि बताए। बुल्गेरियाका जनताको अधिकार, चाहना र स्वाभिमानलाई प्राथमिकतामा राखेर देशका लागि काम गर्न चाहेको पनि नयाँ राष्ट्रपति राडेभले प्रतिबद्धता व्यक्त गरे।

५३ वर्षीय राडेभ सन् १९८७ मा वायु सेनामा प्रवेश गरेका थिए। उनले सन् २०१६ मा मात्रै वायु सेनाको कमान्डरबाट अवकाश प्राप्त गरेका थिए।

गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा विपक्षी पार्टी बुल्गेरियन समाजवादी पार्टीको समर्थनमा उनी चुनावमा विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्