विद्यालय निर्माणमा जुट्दै महिला



दीपेन्द्र शर्मा, जाजरकोट
जिल्लाको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन्। पुरुषप्रधान समाजलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेल मैदान निर्माणमा जुटेका हुन्। कालिका मावि साल्मा–५ जाजरकोटको खेल मैदान निर्माण गरेर यहाँका महिलाले आफ्नो कामलाई नमुनाका रूपमा प्रस्तुत गरेका छन्। भवन भएर पनि खेल मैदान नहँुदा समस्यामा रहेको विद्यालयलाई गाउँलेद्वारा बनाइएको खेल मैदानले सहज बनाइदिएको छ।

कोटिला सामुदायिक वन उपभोक्ता समूह साल्माको १ लाख अनुदान तथा स्थानीयबासीको २ लाख ५० हजार गरी ३ लाख ५० हजार बराबरको लागतमा विद्यालयको खेल मैदान निर्माण गरिएको हो। ‘विद्यालयमा भवन छ विद्यार्थीका लागि खेल मैदान छैन, विद्यालयले कुनै कार्यक्रम गर्नुपर्दा गाउँलेको बारीमा गर्नुपथ्र्यो, अहिले गाउँका सबै जना मिलेर वन समितिको अनुदान र आफूहरूले श्रमदान गरेर विद्यालयको खेल मैदान निर्माण गर्दा विद्यालयलाई राहत भएको छ’ –विद्यालयका प्रधानाध्यापक भगिराम जैसीले भने।

गाउँको विद्यालयमा विद्यार्थीलाई खेल्ने खेल मैदान नहुँदा वन समूहमा भएको वन विकास अन्तर्गत सामाजिकतर्फको रकम सहयोग गरिएको कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपबहादुर बस्नेतले बताए। स्थानीय सामुदायिक वनको सहयोग तथा अभिभावकको श्रमदानमा विद्यालयको ३ सय मिटर लामो खेल मैदान निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद जैसीले बताए। ‘विद्यालयको आफ्नै खेल मैदान नहुँदा कुनै कार्यक्रम गर्दा गाउँले नजिकको जग्गामा गर्नुपथ्र्यो, वनको सहयोगमा अहिले खेल मैदान बनाउँदा विद्यालयलाई धेरै सहज भएको छ’ –जैसीले भने। ‘विद्यालय सञ्चालन भएको गाउँका २ सय १५ घरधुरीका प्रति घरबाट १ जनाका दरले खेल मैदान निर्माण गर्न श्रमदान गरिएको छ, विद्यालयको आन्तरिक स्रोत नहुँदा सञ्चालनमा निकै समस्या भएको छ, जेनतेन चलाएका छौं’ –उनले भने।
यो विद्यालयमा ४ सय ३६ जना विद्यार्थी पढिरहेको विद्यालयले जनाएको छ। प्रावि तहको ३ जना शिक्षकका भरमा मावि सञ्चालन गरिएको अक्ष्यक्ष जैसीले बताए। विद्यालयमा विद्यार्थी संख्या बढ्दै जाँदा माविका लागि ३ जना निमाविका लागि ४ जना तथा प्राविका लागि २ जना गरी ९ जना निजी स्रोतका शिक्षक राखिएको अध्यक्ष जैसीले बताए। गाउँमा मावि सञ्चालन गर्दा गाउँका विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता हटेको जैसीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्