कुमार श्रेष्ठ, बाँके
हुलाकी राजमार्ग बन्ने भएपछि विकासले पछाडि परेको राप्तीपारिका गाविसको नेपालगन्जसँग सहज पहुँच हुने भएको छ। नेपालगन्जदेखि बढीमा ४४ किलोमिटर टाढा रहेको बघौडामा गतिलो सडक नहुँदा ‘आपत्’ आइलाग्दा घण्टौं लगाएर भारतीय बाटो प्रयोग गरेर जानुपर्ने बाध्यता रहेको छ।

३० महिनामा सडक निर्माण सक्ने सम्झौताले बघौडाबासीको पिचबाटोबाट नेपालगन्जसम्म आउने सपना पूरा हुने भएको हो। बाँकेको क्षेत्र नं. २ अन्तर्गत पर्ने बघौडाबाटै निर्वाचित सांसद दिनेशचन्द्र यादवले बघौडाबासीको पिचबाटोमा हिँड्ने सपना पूरा हुन थालेको बताउनुभयो। ‘म यहीं जन्मिएँ, हुर्किएँ। कहिल्यै पिचबाटोमा हिँड्न पाउँदिनँ कि भन्ने डर पनि लागेको थियो’, सांसद यादवले भन्नुभयो– ‘खुसी कुरा, मेरै कार्यकालमा बघौडामा पिच हुने भयो।’
बघौडामा विद्युत्, सरसफाइ, राप्ती कटान, बैंकहरूको पहुँच बढाउनुपर्ने चुनौतीहरू छन्। झन्डै २० वर्षअघि गाडिएको बिजुलीको पोलमा बत्ती बलेको छैन। ती पोलमा बत्ती बाल्ने बहस र चर्चा सधैं रहिरहँदा सोलारले बघौडा उज्यालो कार्यक्रम अगाडि बढेको छ। यो पनि त्यहाँका बासिन्दाका लागि अर्को राम्रो कुरा भएको छ। जिल्ला विकास समितिले पहिलो चरणमा तीन गाविसका १ हजार ४ सय ५० घरधुरीमा १ करोड ६२ लाखको सोलार वितरण अभियान शुरू गरिसकेको छ।

बघौडाको इलाका प्रशासन कार्यालयको स्थापना भइसकेको छ। त्यस क्षेत्रमा अहिले टड्कारो रूपमा बैंकको आवश्यकता रहेको छ। सांसद यादवका अनुसार, नरैनापुरमा सहकारी बैंक स्थापनाका लागि पहल भइरहेको छ। नेपाली भन्दा भारतीय रुपियाँको चलनचल्ती रहेको बघौडामा बैंकको स्थापनासँगै सडक सञ्जालले त्यसमा परिवर्तन ल्याउने आशा गरिएको छ। कालाफाँटाका ७० वर्षीय अब्दुलवारी खाँले नेपालगन्जसम्म सहज पहुँच नहुने र सीमावर्ती भारतीय बजारमा सबै कारोबार हुने हुँदा बघौडामा नेपाली रुपियाँले कहिल्यै जित्न नसकेको बताउनुभयो। दुःखबिराम पर्दा चाहिने भन्दै पाँच सय र हजारका २० हजार रुपियाँ घरमा राखेका वृद्ध खाँलाई अहिले त्यसले अर्को टेन्सन बनाएको छ। ‘यहाँ बैंक भएको भए नेपाली बनाएर त्यसमा राखिन्थ्यो’, खाँले भन्नुभयो– ‘घरमा राखेको २० हजार भारु ५ सय र हजारका नोट त्यत्तिकै खर गयो।’
बघौडाको अर्को समस्या नदी कटान रहेको छ। गंगापुर र मटेहियामा वर्षेनी द्रुत गतिमा नदी कटान भइरहेको छ। नदी कटान यी दुईसँगै बाँकेको आधा दर्जन गाविस प्रत्यक्ष प्रभावित छन्। बैजापुरका बरुराम थारुले तीव्र नदी कटानले जमिनदारबाट सुकुम्बासी हुन थालेको बताउनुभयो। ‘तीन भाईको १३ विगाह जमिन थियो। तीनपल्ट गरेर नदीले पाँच विगाह कटान गरिसक्यो’, थारुले भन्नुभयो– ‘अझै कटान जोखिम रहेको छ।’

सन् २००३ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय अधिकारीका बीचमा राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाउने सहमति कार्यान्वयन हुने हो भने बघौडालगायत तटीय क्षेत्रका बासिन्दा सुरक्षित हुन सक्छन्। भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले यो तीन दशकमा वर्षेनी नेपालीको मृत्यु र हजार बढी विगाह जमिन कटान हुँदै आएको छ।

बघौडा शिक्षा र स्वास्थ्यमा पनि पछाडि परेको छ। खुला दिसामुक्त अभियानमा साम, दाम, दण्ड, भेदको नीति अपनाएर सबैलाई घरमा शौचालय बनाउन लगाए पनि त्यसको प्रयोग हुनुपर्ने भएको छैन। ‘गोली हान। तर पनि शौचालयमा दिसा गर्दिनँ’ भन्नेहरू धेरै छन्। शिक्षामा रजिस्टरमा विद्यार्थी देखिने प्रवृत्ति रहेको छ। कक्षाकोठामा जाँदा कम हुने तर रजिस्टरमा धेरै देखिने यस भेगको रोग नै बनेको छ।

LEAVE A REPLY