स्ववियु चुनावको मुखमा चहलपहलै छैन



नेपाल समाचारपत्र
सुर्खेत
विद्यार्थीको साझा मञ्च स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउन अब एक महिना बाँकी छ। त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने मिति तोकेको छ। विगत आठ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन्। यसअघि २०६५ सालमा मात्र स्ववियु चुनाव भएको थियो। लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थी राजनीति नै संकटमा परेको बहस शुरू भइराखेका बेला त्रिविले चुनावको मिति तोकेको थियो।

सुर्खेतमा रहेका ७ वटा क्याम्पसमा चुनावी माहोल अझै बन्न सकेको छैन। विगतका चुनावमा स्ववियु चुनाव हुने घोषणा भए मात्रै पनि विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनमा प्रचारप्रसारदेखि उम्मेदवार घोषणासम्मका कामहरू शुरू भइसक्थे। पर्चा, पोस्टर, ब्यानरसहित उम्मेदवारहरूको पक्ष विपक्षमा हरेक चिया पसलमा बहसहरू हुने गर्थे। स्ववियु चुनावले स्थानीय चुनावकै झल्को दिने गथ्र्यो तर यसपटक भने त्यति धेरै उत्साह देख्न सकिएको छैन। अझै पनि केन्द्रमा नेपाल विद्यार्थी संघले ठोस निर्णय दिन नसकेका कारणले थुप्रै विद्यार्थीलाई अझै पनि चुनाव हुनेमा भने शंका लागिरहेको प्रस्ट देखिन्छ। शिक्षा क्याम्पस सुर्खेतमा अध्ययनरत हिक्मत बस्नेतका अनुसार चुनाव आउन महिना दिन मात्रै बाँकी रहँदा समेत नेविसंघ उमेर हदबन्दीको बहाना देखाउँदै चुनावका लागि तयार नभएको देखिएको आरोप लगाए।

यता सुर्खेतस्थित क्याम्पसहरूमा आजसम्म न त कुनै विद्यार्थी संगठनले चुनावको तयारी शुरू गरेका छन न त कुनै व्यक्तिले उम्मेदवारी नै घोषणा गरेका छन्। त्यसो हुनुमा लामो समयदेखि चुनाव नभएको र चुनावमा उत्साहित रूपमा लाग्ने नेता कार्यकर्ता पार्टी पंक्तिमा सिफ्ट भइसकेको हुँदा यस्तो भएको हुन सक्ने ठहर गर्न सकिन्छ।

केन्द्रमा नेविसंघले अहिलेसम्म पनि ठोस निर्णय दिन नसकेका कारण चुनावी सरगर्मी बढ्न नसकेको अनेरास्ववियु सुर्खेतका अध्यक्ष प्रेम खड्का बताउँछन्। अखिल आन्तरिक रूपमा सशक्त तवरले चुनावी तयारीमा जुटेको, बाहिरी रूपमा देखिने गरी प्रचारप्रसारमा नउत्रिएको दाबी गरे। उनका अनुसार केही दिनभित्रै अखिल सुर्खेतले औपचारिक रूपमै कार्यक्रमहरू गर्ने, प्रचारप्रसार अभियानलाई तीव्रता दिने र सुर्खेतका सबै क्याम्पस लक्षित अभियानै सञ्चालन गरेर ऐतिहासिक रूपमा विजयको झन्डा फहराउन तत्पर रहेको जानकारी दिए।

अखिलले अहिलेसम्म उम्मेदवारहरूको विषयमा कुनै पनि छलफल नगरेको, अहिले संगठनलाई एकताबद्ध बनाउँदै एकीकृत रूपमा चुनाव लक्षित अनौपचारिक छलफल, भेला गरिरहेको जानकारी दिए। जिल्लाका सातै क्याम्पसमा सर्वसम्मत रूपमा उम्मेदवार घोषणा गर्ने आफूहरूको योजना रहेको उनको भनाइ छ। चुनावको १५ दिन अगावै उम्मेदवारहरू घोषणा गरिसक्ने जानकारी दिए। अखिलले अहिले सम्म गठबन्धन बनाउने योजना नबनाएको र अन्य संगठनहरूले तालमेल गरेर अघि जाऊँ भन्ने कुरा राखेमा आफूहरूसँग त्यो विकल्प पनि खुला रहेको जानकारी दिए।
उता नेविसंघ सुर्खेतका सभापति विवेक आचार्य भने केन्द्रले अहिलेसम्म स्पष्ट निर्देशन नदिएकाले चुनावी माहोल बनाउन नसकिएको बताउँछन्। उनका अनुसार केही दिन पहिले मात्रै नेविसंघको केन्द्रीय समितिले देशैभरका लागि स्ववियु चुनाव लक्षित ५ हजार १ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ। स्थानीय तवरमा भने नेविसंघले विभिन्न क्याम्पसका कक्षाहरूमा समितिहरू गठन गर्ने अभियानलाई तीव्रता दिएको उनको भनाइ छ। केन्द्रले यसपटकका लागि त्रिभुवन विश्वविद्यालयसँग उमेर हदबन्दी हटाउन माग गरेको र त्यसका लागि अबको केही दिनभित्रै टीयूमा मागपत्र पेस गर्ने जानकारी दिए। उमेर हदबन्दी हटेको खण्डमा चुनावी वातावरण बन्ने उनको आँकलन छ।

यसैबीच अखिल क्रान्तिकारीले स्ववियु चुनावको मिति नजिकिँदै गर्दा शुक्रबार प्रदेश स्तरीय भेला सम्पन्न गरेको छ। अखिल क्रान्तिकारी (प्रचण्ड निकट) अध्यक्ष महेश जीसीले केन्द्रको सर्कुलरअनुसार प्रदेश भेलाको आयोजना गरिएको र यो भेलाले सबै नेता कार्यकर्तालाई जिम्मेवारी बाँडफाँड गरेकाले अब आफूहरू स्ववियु चुनावको तयारीमा होमिएको जानकारी दिए। उनले अहिलेसम्म कुन विद्यार्थी संगठनसँग गठबन्धन बनाउने, या एक्लै चुनावमा जाने भन्ने निक्र्यौल नभइसकेको बताए।

सुर्खेतमा क्याम्पस शिक्षा, सिम्ता बहुमुखी क्याम्पस राकम, गुर्वाकोट बहुमुखी क्याम्पस सहारे, हिमशिखर बहुमुखी क्याम्पस रामघाट, भेरी शिक्षा क्याम्पस गुमी, अमरदीप क्याम्पस नेवारे, जनता बहुमुखी क्याम्पस विद्यापुरमा स्ववियु निर्वाचन हुनेछ। यी सबै क्याम्पसमा करिब ६ हजारभन्दा बढी विद्यार्थी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्