विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क सौर्य बत्ती



नेपाल समाचारपत्र
सिन्धुली
सिन्धुलीमा विपन्न वर्गका ४ हजार २ सय ६६ जना विद्यार्थीलाई सौर्य बत्ती वितरण गरेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा विद्युत् लाइनको सेवा नपुगेका ७ गाविसका बालबालिकालाई सौर्य बत्ती वितरण गरेको हो।

अध्ययनलाई सहज बनानउन ग्रामीण क्षेत्रका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीलाई सौर्य बत्ती वितरण गरिएको जिविस सिन्धुली, वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखाका वातावरणीय अधिकृत सन्दीप उपाध्यायले जनकारी दिनुभयो।

सिन्धुलीमा राष्ट्रिय प्रसारण विद्युत् नपुगेका कुशेश्वर दुम्जा, डुडभञ्ज्याङ, वितिजोर, सोल्पाठाना, महेन्द्रझ्याडी, हरिहरपुरगढी र खोलागाउँ गाविसका विभिन्न विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने ४ हजार २ सय ६६ जना विद्यार्थीलाई सौर्य बत्ती वितरण गरिएको अधिकृत उपाध्याले बताउनुभयो।

कुशेश्वर दुम्जामा १ हजार २ सय ९, डुडभञ्ज्याङमा ६ सय ९, वितिजोरमा ३ सय ८९, सोल्पाठानामा २ सय ६३, महेन्द्रझ्याडीमा ५ सय ४८, हरिहरपुरगढीमा ६ सय ८४ र खोलागाउँमा ५ सय २८ थान गरी १० वाटको पिक सिस्टमको ४ हजार २ सय ६६ जना विद्यार्थीलाई सौर्य बत्ती निःशुल्क वितरण गरिएको छ।

विपन्न वर्गका विद्यार्थीबाट माग भएअनुसार सबैलाई पहिलो चरणमा समेट्न नसकिएकाले छुटेका ५ सय ३४ जना विद्यार्थीलाई दोस्रो चरणमा वितरण गरिने वातावरणीय अधिकृत सन्दीप उपाध्यायले जानकारी दिनुभयो।

उहाँका अनुसार अझै कुशेश्वर दुम्जाका १ सय ५९, डुडभञ्ज्याङका ७०, वितिजोरका ११, सोल्पाठानाका १३, महेन्द्रझ्याडीका १३, हरिहरपुरगढीका ११ र खोलागाउँ २ सय ५७ गरी ५ सय ३४ जना विद्यार्थीलाई सौर्य बत्ती दिन बाँकी रहेकाले केन्द्रसँग माग गरिएको छ।

पिक सिस्टमको सौर्य बत्ती बोकेर सहजै हिँडडुल गर्न सकिने र २ वटा बत्ती ५ घण्टासम्म निरन्तर बल्ने हुँदा विद्यार्थीले रातको समयमा टुकी बालेर पढ्नुपर्ने अवस्थाको अन्त्य आएको उपाध्यायले बताउनुभयो।

यसबाट मोबाइल पनि चार्ज गर्न सकिने भएकाले विद्यार्थीलाई दिइएको सौर्य बत्ती पछि ग्रामीण क्षेत्रमा सञ्चार सुविधको समेत वृद्धि भएको उहाँको भनाइ रहेको छ। राज्यले राष्ट्रिय प्रसारणको लाइन पुर्याउन नसकेका गाविस र विपन्न वर्गका विद्यार्थीको पहिचान गरी निःशुल्क सौर्य बत्ती वितरणले विद्यार्थीको अध्ययनमा पनि निकै सहज र अभिभावको खर्चसमेत कटौती भएको उहाँको भनाइ छ।

रातको समयमा धेरै विद्यार्थीले आर्थिक अभावका कारण पढ्ने चाहना हुँदा पनि नपाएको पाइएको भन्दै उपाध्यायले भन्नुभयो– ‘मट्टीतेलको सहायताले टुकी बालेर केही विद्यार्थीले अध्ययन गर्ने गरेको भए तापनि मट्टीतेलको अभावमा धेरै विद्यार्थीले रातको समयमा गृहकार्य तथा अध्ययन गर्न नपाएको विद्यार्थीले बताए, अहिले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र राष्ट्रिय ग्रामीण नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा विपन्न वर्गका विद्यार्थीलाई सौर्य बत्ती प्रदानपछि उनीहरूले सहज तवरले नियमित अध्ययन गर्न पाएका छन् भने उज्यालोका लागि मट्टीतेल खरिद गर्नु नपर्दा अभिभावकको खर्च पनि कटौती भएको छ।’

प्रतिक्रिया दिनुहोस्