घरजग्गाको कारोबार र राजस्व वृद्धि



नेपाल समाचारपत्र
लमजुङ
जिल्लामा घरजग्गाको कारोबारमा बढोत्तरी भएसँगै त्यसबाट संकलन हुने राजस्व रकममा पनि वृद्धि हुन गएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा भएको कारोबारले तुलनामा सो वृद्धि हुन गएको हो ।

‘चालू आवको ६ महिनामा जग्गाको कारोबार गत आवको सोही अवधिको तुलनामा भन्दा २० प्रशितले बृद्धि भएको छ ।’ मालपोत कार्यालयका प्रमुख अधिकृत हरिहर दाहालले बताउनुभयो । उहाँका अनुसार कार्यलयले आव २०७३⁄७४ को मंसीर मसान्तसम्म रजिस्टेसनबाट २ करोड रुपियाँभन्दा बढी राजस्व संकलन भएको छ ।

सो अवधिमा जिल्लाका नगरपालिकाभित्रको घरजग्गा कारोबारको रजिस्टेसनबाट एक करोड ९१ लाख ८५ हजार ८ सय ५४ रुपियाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । नगरपालिका बाहेक गाविसभित्रका नागरिकले गरेको घरजग्गा कारोबारको रजिस्टेसनबाट १८ लाख ९२ हजार २ सय ३४ रुपियाँ राजस्व संकलन भएको छ ।

मंसीर मसान्तसम्म एक हजार ७८ जनाले घरजग्गा कारोबार गरेका छन् । तीमध्ये ५ सय ३० जना महिलाको नाममा घरजग्गा कारोबार भएको अधिकृत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र शहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था छ । सोही कारण महिलाको स्वामित्वमा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको दाहालको भनाइ छ ।

लमजुङमा पाँच नगरपालिका छन् भने ३५ गाउँ विकास समिति रहेका छन् । जग्गाको कारोबारमा खेतीभन्दा पनि आवासका लागि किनबेच भइरहेको मालपोत कार्यालयका प्रमुख दाहाल बताउनु हुन्छ ।

उहाँका अनुसार सरकारले महिला, दलित, शहिद परिवार, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायतका आठ शीर्षकमा जग्गाको स्वामित्व लिँदा जग्गा पास दस्तुरमा छुट दिने व्यवस्था गरेको छ । उहाँका अनुसार लमजुङमा महिलाको नाममा जग्गा पास गराउनेको संख्या बढ्दै गएको छ । चालू आव २०७३⁄७४ को मंसीर मसान्तसम्म ५ सय ३० जना महिलाको नाममा जग्गाधनी प्रमाणपत्र बनेको जिल्ला मालपोत कार्यालय लमजुङका प्रमुख मालपोत अधिकृत हरिहर दाहालले बताउनुभयो ।

यसैगरी, महिलाको नाममा जग्गा पास गराउँदा राजस्वमा छुट दिने व्यवस्थासँगै महिलाको नाममा जग्गा पास गर्ने बढेको प्रमुख मालपोत अधिकृत दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्