लोडसेडिङको मुक्तिसँगै मेलम्चीले जगाएको आशा



(रूपनारायण खतिवडा) काठमाडौं उपत्यकामा स्वच्छ खानेपानी उपलब्ध गराइ उपत्यकाबासीले भोगिरहेको खानेपानीको विकराल समस्या दीर्घकालीन रूपमा समाधान गर्ने अभिष्टका साथ कार्यान्वयनमा रहेको मेलम्ची खानेपानी आयोजनाले पछिल्लो समयमा केही गति लिएको छ। केही दिनअघि आयोजनाको सुरुङमार्गअन्र्तगतको सबैभन्दा लामो खण्डका रूपमा रहेको ९ दशमलव ४ किलोमिटर लामो सुन्दरीजल–सिन्धु खण्ड मेलम्ची खानेपानी विकास समितिकै भाषामा ‘ब्रेक थ्रु भएको छ। आयोजनाको उक्त खण्ड खुल्नु सफलताको महत्त्वपूर्ण खुड्किलो भएको समितिको दाबी छ। दुई दशकदेखि कार्यान्वयन भइरहेको यो आयोजना विभिन्न कारणहरूको विद्यमानतामा अपेक्षा गरेभन्दा एक दशक बढी अवधी नै ढिलो भएको भए तापनि आगामी २०७४ सालको दशैंअघि पूरा गर्ने लक्ष्य सरकारले सार्वजनिक गरेसँगै उपत्यकाबासीमा आशा जागेको छ।

मेलम्ची खानेपानी आयोजना नेपाल सरकारले उच्च महत्व दिएको राष्ट्रिय गौरवको आयोजना हो। २०६४ सालको अन्त्यसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याएर वितरण गरिने महत्वकांक्षी लक्ष्यका साथ आर्थिक वर्ष २०५५⁄५६ मा यो आयोजनाको शुरूआत भएको थियो। २ सय ८७ मिलियन अमेरिकी डलर लागत रहेको यो आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक रहेको छ।

मेलम्ची आयोजना २ चरणमा पूरा गरी काठमाडौं उपत्यकामा दैनिक ५१ करोड लिटर पानी आपूर्ति गर्ने सरकारी योजना रहेको छ। जसअन्तर्गत सिन्धुपाल्चोक जिल्लाका मेलम्ची, यांग्री र लार्के खोलाबाट १७⁄१७ करोड लिटर पानी ल्याइनेछ। हाल सम्पन्न हुन लागेको पहिलो चरणको आयोजनाअन्तर्गत मेलम्ची खोलाको मुहानमा बाँध बनाई प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्फत काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रसम्म ल्याएर प्रशोधित पानी खानेपानीका रूपमा उपत्यकामा बितरण हुनेछ। दोस्रो चरणमा यांग्री र लार्के खोलाको पानी ल्याउने लक्ष्य रहेको छ। यद्यपि, दोस्रो चरणमा बाँकी दुईवटा खोलाबाट पानी ल्याउने क्रममा हाल निर्माण भएको सुरुङमार्ग वा टनेलबाटै दुवै खोलाको पानी आपूर्ति हुने भएकाले दोस्रो चरणको काममा पहिलो चरणमा जस्तो दशकौंको समय नलाग्न सक्छ।

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत मेलम्ची खोलाको पानीलाई काठमाडौं उपत्यकामा भित्र्याउनका लागि कूल २७ दशमलव ५८ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने हुन्छ। जसमध्ये केही दिनअघिको ब्रेक थु्र सम्म गरी हालसम्म २२ किलोमिटर सुरुङ निर्माण भइसकेको तथा अब सिन्धु–ग्याल्थुम खण्ड र ग्याल्थुम–अम्बाथान खण्ड गरी करिब ५ किलोमिटर सुरुङ खन्ने कार्य मात्रै बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिद्वारा हालै जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। हालसम्म निर्मित सुरुङमध्ये चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कम्पनी (सीआरसीसी) ले करिब साढे ६ किलोमिटर निर्माण गरेको थियो भने बाँकी निर्माण कार्य हालको पछिल्लो ठेकेदारका रूपमा रहेको इटालेली कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले गरिरहेको छ।

यसरी हेर्दा, सुरुङमार्गको निर्माण कार्यमा ८० प्रतिशतभन्दा बढी प्रगति भएको देखिन्छ भने सुन्दरीजलमा दैनिक साढे ८ करोड लिटर प्रशोधन क्षमता भएको पानी प्रशोधन केन्द्रका इकाइहरूको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको समितिले जनाएको छ। दोस्रो चरणमा हालकै जति क्षमता रहने प्रशोधन केन्द्र निर्माणका लागि समेत ठेक्का सम्झौता भइसकेको छ। अर्कोतर्फ, खानेपानीको बितरण लाइन निर्माणका लागि यतिबेला काठमाडौंका सडकपेटीहरू धमाधम भत्काउन थालिएको छ। उपत्यकाभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अगुवाइमा पाइप लाइन निर्माण गर्ने र बिछ्याउने कार्यले दिनरात गति लिएको देखिन्छ।

उपत्यकाका तिनवटै जिल्लामा गरी कूल ६ सय २२ किलोमिटर पाइपलाइन बिछ्याउने योजना रहेकोमा हालसम्म १ सय २२ किलोमिटर पाइपलाइनको काम भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तथ्यांक छ। यसै गरी उपत्यकाका ८३ हजार ५ सय ५५ घरमा धारा जडान गरिनुपर्नेमा हालसम्म ८ हजार १ सय ७ घरमा धारा जडान कार्य सम्पन्न भएको देखिन्छ। पाइपलाइन विस्तार र धारा जडानको कार्य आगामी असोज महिनाभित्रै सम्पन्न गर्ने योजना काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राखेको र यसैअनुरूप तीव्रगतिमा काम भइरहेको अवस्था छ।

यस किसिमको स्थितिमा एकातर्फ, सरकारले उच्च प्राथमिकता दिएको र ‘पूर्वाधार विकासबाट आर्थिक रूपान्तरण’को लक्ष्य बोकेको यस किसिमको गौरवको आयोजना शुरूआती चरणमा अनुमान गरिएको निर्दिष्ट समयसीमाभन्दा एकदशक बढी अवधीमा सम्पन्न हुनलाग्दा पनि खुसी नै मान्नुपर्ने बाध्यात्मक अवस्थाबाट हामी गुज्रिरहेका छौं।

मोटामोटी रूपमा हेर्दा दशकौंदेखि राजनैतिक नेतृत्वको भाषण गर्ने माध्यम, उपत्यकावासीहरूको आशाको केन्द्र र कतिपय सन्दर्भमा हँसीमजाकको बिम्बसमेत बन्ने गरेको मेलम्ची खानेपानी आयोजनाले हाल निर्धारित समसयसीमाकै हाराहारी कार्यसम्पन्न गर्नसक्ने यथेष्ट आधारहरू देखिएका छन्। अनावश्यक रूपमा विलम्ब हुनुका साथै विभिन्न समस्याहरूबाट ग्रस्त बनेरै भए पनि आयोजना लक्ष्यप्राप्तिको समीपमा आइसकेको छ। मेलम्ची खानेपानी आयोजनाको लक्ष्य पूरा भएसँगै उपत्यकावासीले खानेपानीको संकटबाट मुक्ति पाउनेछन्। पानीजन्य रोगहरूबाट समेत बच्न सक्ने अवस्था रहन्छ। लोडसेडिङको मारबाट केही राहत महसुस गरिरहेका उपत्यकावासीका लागि खानेपानीका सन्दर्भमा पनि दीर्घकालीन रूपमा राहत महसुस हुन सक्ने आशा र अपेक्षा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्