पर्यटन विभाग अनलाइन प्रणालीमा जाँदै विदेशबाटै हिमाल आरोहणको अनुमति लिन सकिने



नेपाल समाचारपत्र
काठमाडौं
पर्यटन विभागले अनलाइन प्रणालीबाट सेवा प्रदान गर्ने भएको छ । अनलाइन प्रणाली शुरू भएपछि विश्वको जुनसुकै ठाउँबाट पनि सुविधा लिन सकिने विभाले जनाएको छ । विभागले विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सहयोगमा अनलाइन सेवा शुरु गर्न लागेको हो ।

पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले आईएफसीको सहयोगमा विभागलाई प्रविधिसँग जोडेर सेवा प्रदान गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता ढकालले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘विभागलाई अनलाइनमैत्री बनाउन आईएफसीले सहयोग गरिरहेको छ । हाल डेमो बनाउने काम भइरहेको छ ।’

विभागले आगामी असारसम्म अनलाइन सेवाको काम पूरा गरेर साउनदेखि सेवाप्रवाही सेवा दिने तयारीका साथ काम अगाडि बढाएको छ । आईएफसीले ३ करोड रुपियाँ सफ्टवेयरमा र विभाग आफैंले हार्डवेयरका लागि करिब ६० लाख रुपियाँ लगानी गर्नेछ । अनलाइनबाट सेवा शुरु भएपछि विभागको कार्यक्षेत्र र प्रभाव अझ छरिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखिने विभागको विश्वास छ । विभागका अनुसार अनलाइन सेवा सुचारु भएपछि विदेशमै बसेर पनि हिमाल आरोहणको अनुमति लिन सकिने छ । यसले गर्दा सेवाग्राहीको बाटोको म्यादलाई घटाउने प्रवक्ता ढकालले बताउनुभयो ।

विश्वको जुनसुकै ठाउँमा बसेर पर्यटकले कुन हिमाल आरोहण गर्ने हो ? त्यसको सम्पूर्ण कागजात सिधैं पर्यटन विभागमा पठाउन सक्छन् । ती कागजातका आधारमा विभागले हिमाल आरोहणको अनुमति दिने पनि प्रवक्ता ढकालले बताउनुभयो । उहाँका अनुसार अनलाइनबाटै पर्यटकले कुन कागजात पुगेन, के गर्नुपर्छ, कति समय लाग्छ र कस्तो तयारी हुनुपर्छ ? सबै जानकारी लिन सक्नेछन् । यसबाट पर्यटक आगमनमा वृद्धि र पर्यटकको सेवा थप प्रभावकारी हुने विभागले जनाएको छ । आईएफसीले कम्पनी रजिष्टार, उद्योग विभागपछि पर्यटन विभागको सेवालाई अनलाइन बनाउन लागेको हो । हाल हिमाल आरोहणमा जानुपर्दा दुई साता अगाडि नै आउनुपर्ने, बाध्यता रहेको छ । त्यस्तै कागजात मिलाउनु पर्ने, व्यवसायीले भने अनुसारको हिमाल जानुपर्ने र व्यवसायीले तोके अनुसारको पैसा तिर्नुपर्ने पर्यटकलाई बाध्यता छ ।

अनलाइन प्रणालीमा गएपछि नियगमन गर्न सजिलो हुने र पारदर्शिता आउने विभागको भनाइ छ । आरोहणका नाममा पर्यटकलाई बढी दुःख दिने काम अनलाइन सेवापछि पूर्णरुपमा बन्द हुने दाबी विभागले गरेको छ । सेवाग्राहीलाई विगतमा दुई सातासम्म लाग्ने गरेको काम अब २ दिनमै विभाग अनलाइनमा गएपछि हुने बताइएको छ । ट्राभल, ट्रेकिङ, र्याफटिङ, हिमल आरोहणलगायत होटल, एयरलाइन्स, साहसिक पर्यटनका गतिविधि सबैको दर्ता, नवीकरण, प्रतिवेदन पेससमेतका काम अब अनलाइनबाटै हुने छ । तर, राजस्व तिर्न काम भने अनलाइनबाट हुने छैन । होटल संघ नेपाल (हान) का महासचिव तथा प्रवक्ता विनायक शाहले ‘टेक्नोलोजीमैत्री हुँदै जानु राम्रो हो, अनलाइनमा गएपछि दिनहुँ अपडेट हुनुपर्यो।’

प्रतिक्रिया दिनुहोस्