केर्बेर अन्तिम १६ मा



मेलबर्न, (एजेन्सी)
डिफेन्डिङ च्याम्पियन एन्जेलिक केर्बेर चेक खेलाडी क्रस्टिना पिलिस्कोभालाई हराएर अस्ट्रेलियन ओपनको अन्तिम १६ मा पुगेकी छन्। शीर्ष खेलाडी जर्मनले सोझो सेटमा ६–०, ६–४ ले जितेकी हुन्। यसअघिका दुई चरणका खेल केर्बेरले तीन सेटमा जितेकी थिइन्। चौथो चरणमा उनको सामना अमेरिकी खेलाडी कोको भान्डेवेगेसँग हुनेछ। कोकोले क्यानडाकी युजीनी बउचार्डलाई ६–४, ३–६, ७–५ ले हराएकी थिइन्।

यसैगरी जारी प्रतियोगिताकी पाको महिला खेलाडी भेनस विलियम्स र स्पेनकी २३ वर्षीया गार्बाइन मुगुरुजालाले पनि चौथो चरणमा स्थान सुरक्षित गरे। ३६ वर्षीया भेनसले चीनकी डुआन यिङयिङलाई ६–०, ६–१ ले हराइन्। जबकि फ्रेन्च ओपन विजेता मुगुरुजाले एनास्टासिया सेभास्टोभालाई ६–२, ६–४ ले पन्छाएकी थिइन्। त्यस्तै रसियन खेलाडी स्वेटलाना कुजनेटसोभाले अन्तिम १६ मा पुग्न तीन घण्टा ३६ मिनेटसम्म संघर्ष गर्नुपरेको थियो। अन्तिम सेटमा ३–० ले पछि परेकी उनले सर्बियाकी यलेना यान्कोभिचलाई ६–४, ५–७, ९–७ ले हराइन्।

मेन्स सिंगल्सतर्फ रोजर फेडेररले १०औं वरीयताको टोमास बर्डिचलाई हराएर अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरे। ३५ वर्षीय स्विस खेलाडीले आफ्ना प्रतिद्वन्द्वीलाई हराउन केबल १ घण्टा ३२ मिनेट समय लागेको थियो। चेकविरुद्ध ६–२, ६–४, ६–४ ले जितेको फेडेररले विश्व नम्बर पाँच केइ निशिकोरीसँग अर्को चरणमा खेल्नेछन्।

यसै गरी जापानका निशिकोरीले स्लोभाकियाका लुकास लाकोलाई ६–४, ६–४, ६–४ ले पाखा लगाए। त्यस्तै पाँचपटक मेलबर्न कोर्टमा फाइनल खेलेका एन्डी मुरेले साम क्वेरीलाई ६–४, ६–२, ६–४ ले पन्छाए। यसपटकको उपाधि दाबेदारीमा रहेका उनले चौथो चरणमा जर्मनीका मिस्चा जेभेरोभसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्