प्राडा रामकण्ठ माकजू श्रेष्ठ
नवनियुक्त उपकुलपति
काठमाडौं विश्वविद्यालय

लामो रस्साकस्सीपछि काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा रामकण्ठ माकजू श्रेष्ठ पुनः नियुक्त हुनुभएको छ । माकजूको पहिलो चारवर्षे कार्यकाल मंसिर २६ गते समाप्त भएपछि केयूको उपकुलपति बन्न धेरैले दौडधुप गरे पनि अन्ततः विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ ले हिजो शुक्रबार पुनः उहाँलाई नै नियुक्त गर्नुभएको हो । विस्तारै राजनीतिक हस्तक्षेप बढ्दै गएको केयूमा पुनः नियुक्त हुनुभएका उपकुलपति माकजूले अघिल्लो कार्यकालमा केयूको २५ वर्षको साख जोगाउँदै केही नयाँ कार्य गरेको पनि बताउनुभएको छ । अस्ट्रियामा १६ वर्ष मेडिकल शिक्षा लिएर नेपालमै केही गर्नुपर्छ भन्ने भावनाका साथ धुलिखेल सामुदायिक अस्पतालको निर्माण र सञ्चालन गरी नमुना पेस गरिसक्नुभएका उहाँले आगामी कार्यकालमा केयूको गुणस्तरीय शिक्षालाई अझ राम्रो बनाउने लक्ष्य लिएको बताउनुभएको छ ।

अघिल्लो चारवर्षे कार्यकालमा भएका विवादित विषयमा उहाँले पुर्याउनुभएको योगदान र आगामी कार्यकालका योजनाका बारेमा नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिना, रामकृष्ण चापागाईं र मोतीराम तिमल्सिनाले हिजो शुक्रबार गरेको कुराकानीको सारसंक्षेपः

ठूलो रस्साकस्सीका बीच तपाईं पुनः उपकुलपतिमा नियुक्त हुनुभयो, कस्तो अनुभूति भइरहेको छ ?
म आफैलाई अचम्म लागेको छ। धेरै व्यक्तिहरूले विश्वास गरेका थिए, सोचेका थिए पदका लागि जे पनि हुन सक्छ। तर त्यस्तो भएन। त्यस्तो मूल्य मान्यता मेरो नियुक्तिले भत्काइदियो। मलाई हर्षित र अचम्मित बनाएको छ।

यहाँले यसअघि बिताउनुभएको कार्यकालका कारण दोस्रोपटक नियुक्त हुन अलिक धेरै शक्ति केन्द्रहरू धाउनुपर्यो होइन ?
को–को कहाँ–कहाँ धायो मलाई जानकारी हुनु आवश्यक भएन। म त्यसरी धाएको पनि छैन। धाउनु पनि परेन।

कार्यकालमा गरेका कामले किन विवाद ल्यायो त ?
मैले विशेष गरी मेडिकल क्षेत्रमा ध्यान दिएँ। लामो समय मेडिकल क्षेत्रमै काम गरें। शुरुआत पनि मेडिकल क्षेत्रबाटै गरें। मेडिकल क्षेत्रलाई अझै राम्रो बनाउन मेरो ध्यान गएकै हो। कुनै क्षेत्रलाई किन धेरै राम्रो नगराउने? अरू क्षेत्रमा अलिक कम ध्यान पो गयो कि? यो कार्यकालमा मैले धेरै साथीहरूलाई चिनें। चिन्ने अवसर पनि पाएँ। चार वर्षको समय सिक्नै पनि लाग्यो।

यहाँले मेडिकल शिक्षामा ध्यान दिएँ भनिरहँदा मेडिकल शिक्षाको बेथिति हटाउन सहयोग नगरेको भन्ने आरोप खेप्नुपर्यो होइन र ?
यसो भनिरहँदा राम्रा कुराभन्दा नराम्रा कुराहरू अगाडि आए। राम्रा कुराहरू राम्रै भइहाले। नराम्रा कुराहरूको चर्चा भयो। चार वर्षमा जसरी मेडिकल क्षेत्रमा सुधार आए त्यो अभूतपूर्व हो। मेडिकल क्षेत्रका कार्यक्रमहरू नै नयाँ नयाँ आए। मेडिकल क्षेत्रमा ८ वटा विधाहरू थपिएका छन्। गुणस्तरमा फड्को मारेका छौं। पहिला पास भएको र फेल भएको कुरा पनि थाहा हुँदैनथ्यो। अहिले हामीले छर्ल· पारेका छौं। शुल्क पनि पारदर्शी भएको छ। सरकारले तोकेको भन्दा कम मूल्यमा मेडिकल शिक्षा उपलब्ध गराएका छौं। मेडिकल क्षेत्रमा हामीले थुप्रै सुधार गरेका छौं। अझै गर्दै लैजाने छौं।

काठमाडौं विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन भनिन्छ नि ?
त्यस्तो होइन। काठमाडौं विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल भनेको धुलिखेल अस्पताल हो। यसमा कोही पनि कन्फ्युज हुनुपर्ने कारण छैन। आफ्नै अस्पताल भनेको नै धुलिखेल अस्पताल हो। पठनपाठन ठिक छ कि छैन? त्यहाँ अध्ययन हुने विषय, त्यहाँको अनुगमन र त्यहाँको सबै रेखदेख पनि काठमाडौं विश्वविद्यालयकै हो। गोजीमा भएको मेरो र झोलामा भएको हाम्रो भन्ने कुरा यसमा लागु हुँदैन।

धुलिखेल अस्पताल शिक्षण अस्पताल हो भन्ने कुरा कानुनी आधारमा छैन र ?
छ। हामीले नेपालको कानुनअनुसार सबै निकायमा त्यसका बारेमा जानकारी गराएका मात्रै छैनौं त्यसको अनुमति पनि लिएका छौं। अब शक्तिपीठमा गएर गरिएको विवाहलाई मात्रै विवाहको मान्यता दिने हो र? कोर्टमा भएको विवाहलाई चाहिँ विवाह नठान्ने? दुवै विवाह विवाह नै हुन्। कसैलाई त्यस्तो लाग्न सक्छ। तर धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल हो। यसमा दुईमत छैन।

यहाँको पुनः नियुक्तिको विषयलाई लिएर क्षमतामाथि प्रश्न उठाइयो नि ? नियुक्तिकै विषयमा असन्तोष हुनेहरू पनि होलान्, कसरी व्यवस्थापन गर्नुहुन्छ ?
पद एउटा छ। आकांक्षी धेरै हुनु स्वाभाविक हो। छान्ने व्यक्तिहरूलाई पनि सजिलो थिएन। कामको मूल्यांकन भएको भनेको यही हो। जसले काम गरेको छ, उसलाई छान्न सहज पनि भयो होला। जो कहिल्यै कुनै पदमा, जागिरमा समावेश भएको छैन। म पदमा होइन पदको सिर्जनामा विश्वास गर्छु। हामीले हजारौं पदहरू सिर्जना गरेका छौं । मलाई विश्वास छ, यो नियुक्ति र सिफारिस कामकै आधारमा भएको हो। म सबै साथीहरूको अब पुनः टिम लिडर भएको छु। सबैलाई समेटेर, सबैको भावना अनुसारअगाडि बढ्छु।

तपाईंको व्यक्तिगत स्वभावका कारण सबै पक्षसँग समन्वय गर्न नसक्ने कमजोरीले दोस्रोपटकको नियुक्तिमा कठिनाइ भयो पनि भनिन्छ नि ?
कमीकमजोरी भएको महसुस भएको छ। त्यसबाट सिक्न सक्नु महानता हो। राय, सल्लाह, सुझाव लिएरै अगाडि बढ्नेछु।

चार वर्षे कार्यकालमा के गर्नुभयो ? अब चुनौती के देख्नुभएको छ ?
म जादुको छडी लिएर नियुक्ति भएको हुँ र? जसले नियुक्ति भएको चार वर्षमै सबै अपेक्षा पूरा गर्न सक्छ । चार वर्षमा हामीले काठमाडौं विश्वविद्यालयका मूल्यमान्यतालाई बचाएका छौं र हाम्रा लक्ष्य र कल्पनासँग मेल खाने पाइला चालेका छौं। उदाहरणका लागि गत वर्षको विनाशकारी भूकम्पपछि हाम्रा शिक्षक, कर्मचारी र विद्यार्थीहरूले उद्धार, राहत, उपचार, पुनर्वास र पुनर्निर्माणमा हजारौं परिवारलाई सहयोग गरेका छन्। भत्किएका केही सांस्कृतिक र ऐतिहासिक सम्पदाहरूलाई पुनर्जीवन दिने कार्यमा हामी अहिले पनि लागिरहेका छौं। शिक्षण र अनुसन्धानलाई कक्षाकोठामा सीमित नगरी समुदायसम्म पुर्याउन जोड दिएका छौं। हाम्रा विशेषज्ञहरूले युवाहरूलाई व्यवसाय र उद्यमीशलताप्रति आकर्षित गराइरहेका छन्। समुदायमा वातावरण, स्वच्छता र सरसफाइसम्बन्धी प्रविधिहरू विकास गर्न हाम्रा शिक्षक र विद्यार्थीहरू धेरै ठाउँमा कार्यरत छन्। प्राज्ञिक कार्यक्रम, अनुसन्धान र विकासका लागि देश विदेशका विभिन्न संघसंस्थाहरूसँग सक्रिय सहकार्य गरेका छौं।

विश्वस्तरीय विशेषज्ञहरूले विभिन्न अनुसन्धान गर्ने केन्द्रका रुपमा प्रयोग हुने नमुना गाउँ निर्माण गर्न हाम्रो विश्वविद्यालयले कोइकासँग ऐतिहासिक सम्झौता गरेको छ। नेपाली समाज र परिवेश सुहाउँदा प्रविधि र सिर्जनाहरूको अध्ययन गराएका छौं। अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय र संघसंस्थाका विशेषज्ञहरूलाई देशमा भित्त्याएर नेपाली विशेषज्ञहरूको स्तर बढाएका छौं। यस्ता थुप्रै काम चार वर्षे कार्यकालमा भएका छन्।

रिसर्च गरेर मात्रै होइन, त्यो त्यही ठाउँसम्म पुर्याउनुपर्ने प्रमुख चुनौती छ। समुदायमा बस्ने मानिसहरूको जीवनमा सकारात्मक सोच, त्यसले ल्याएको गुणस्तरीयता प्रमुख कुरा हो।

आगामी चार वर्षमा काठमाडौं विश्वविद्यालयलाई अगाडि बढाउने तपाईंका योजना के छन् ?
सर्वप्रथम त विश्वविद्यालयको सेमेस्टर प्रणालीको शैक्षिक क्यालेन्डर धरमराउन दिनेछैन। प्रशासनिक तथा आर्थिक पक्षलाई पारदर्शी र स्वच्छ राख्नेछु। नेपालका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधारमा सहयोग पुर्याउँदै यो विश्वविद्यालयले नेपाल र दक्षिण एसियामै जलविद्युत् तथा नवीकरणीय ऊर्जासम्बन्धी शिक्षण र अनुसन्धानको प्रमुख केन्द्रको रुपमा स्थापित गर्नेछु। त्यससँगै अत्यावश्यक पूर्वाधारहरूको निर्माणमा सक्रिय भई लगानी गर्ने, विश्वविद्यालय गाउँमा र विद्यार्थीमैत्री विश्वविद्यालय बनाउने अवधारणा बोकेका छौं।

त्रिपुरासुन्दरी मन्दिरको पुनर्निर्माण गर्नेर्छाैं। विश्वविद्यालय कन्भेन्सन सेन्टरको शुरुआत गरिसकेका छौं। ट्रमा सेन्टरको काम अगाडि बढाइएको छ। बर्थिङ सेन्टर र दन्त विभागलाई पूर्णता दिँदै लङ्गस् सेन्टरको शिल्यान्यास गर्दैछौं। आईटी पार्कलाई विस्तार र विकास गर्ने प्रमुख उद्देश्य छ। यसका लागि ५ अर्ब रुपियाँको लगानी आवश्यक छ। त्योमध्ये हामीले केही रकम जुटाइसकेका छौं। अरू सहयोग आउने क्रम जारी छ।

अर्काे हामीले कल्पना गरेको विश्वविद्यालय भनेको जहाँ पढाएका विषयको भन्दा गरेका कामको बढी मूल्य हुन्छ र सबै विधाका मानिसहरू बसेर प्राज्ञिक बहस गर्ने वातावरण हुन्छ, जसले समुदायमा गाभिएर रोजगारी सिर्जना गर्छ र समाजको परिवर्तनमा अमूल्य योगदान पुर्याउँछ, जसले आपसमा हातेमालो गरेर सहयोग गर्ने संस्कार बसाउँछ र समाजमा मिलिजुली बसेका मानिसहरूका बीच फाटो नल्याई एक अर्काको अझ नजिक ल्याउँछ, जहाँ विशेषज्ञ र विद्वान्हरूको जस्तै दिनहुँ माटोमै रहेर परिश्रम गरिरहने विपन्न किसानहरूको पनि सम्मान हुन्छ, जहाँ संसार परिवर्तन गर्ने खालको भाषण गरेर पनि काम नगर्ने मान्छेको सट्टा काखमा नानी च्यापेर नदीको किनारमा ढुंगा फुटाइरहेकी गरिब महिलाको श्रमको महत्त्व हुन्छ, अनि जसले विदेशमा श्रमिक बनेका हजारौं युवाको हितका लागि भनेर गरिने फोस्रा गफको सट्टा त्यस्ता युवाहरूले बगाएको पसिनालाई बढी महत्त्व दिन्छ, हो यही हो मैले कल्पना गरेको हाम्रो विश्वविद्यालय। आगामी कार्यकालमा यो पूरा हुनेछ। शुरुआत भएका कामहरूलाई पूर्णता दिनेछु। सबै साथीभाइहरू, विश्वविद्यालय भित्र र बाहिरको टिमको सहयोग, सल्लाह र सुझाव लिएर अगाडि बढाउनेछु।

दोस्रो पटक नियुक्ति हुनुभयो, अब पहिलो निर्णय के गर्नुहुन्छ ?
भोलि आइतबार विश्वविद्यालयकै इतिहासको सबैभन्दा ठूलो योजना कोइकासँग भएको सम्झौताको कार्यान्वयनका लागि हस्ताक्षर गर्नेछु। हिजो शुक्रबार नियुक्ति लिएपछि मैले त्यसको तयारीसमेत गरेको छु। एक अर्बको उक्त कार्यक्रम भोलिबाटै शुभारम्भ हुनेछ। जसले क्याम्पसबाट समुदायसम्म अध्ययन अनुसन्धान र विकास पुर्याउन महत्त्वपूर्ण सहयोग पुर्याउनेछ।

विश्वविद्यालयको आन्तरिक स्रोत घट्दै गएको हो ?
त्यस्तो छैन। हाम्रा आन्तरिक स्रोतहरू बढेका छन्। बाहिर बजारमा आउने हल्लाहरूलाई मात्रै विश्वास गर्ने हो र? त्यहाँको सम्पूर्ण कुरा उपकुलपति, रजिष्ट्रार, डीन र सिंगो विश्वविद्यालयको टिमलाई थाहा हुनेछ। हामो स्रोत घट्दै होइन बढ्दै गएको छ। ढुक्क हुनुस् आन्तरिक कार्यक्रम, रिसर्च र विश्वसनीयता बढ्दै गएको छ। हामीले आम्दानी खर्चको पारदर्शितासमेत गरेका छौं।

राजनीतिबाट विश्वविद्यालयहरू मुक्त हुन सकेनन् भनिँदै छ, काठमाडौं विश्वविद्यालयलाई मुक्त गराउन सक्नुहुन्छ ?
राजनीति मैले नबुझेकाले पनि होला मलाई त्यस्तो लाग्दैन। अहिले जे भयो राम्रो भयो। म आफै पनि राजनीतिबाट मुक्त भएको मान्छे हुँ। मलाई राजनीतिमा तान्न मन लाग्ने दल तथा व्यक्तिहरूले जताजता मन लाग्छ उतैउतै तानेर हेर्नुभए हुन्छ। म तपाईंहरू सबैको हुँ।

मेडिकल शिक्षाको बेथिति हटाउन भन्दै पटकपटक सत्याग्रह गर्नुभएका डा. गोविन्द केसीको अभियानलाई आगामी दिनमा कसरी लिनुहुन्छ ?
मित्र डा. गोविन्द केसीका धेरै कुराहरू राम्रा छन्। राम्रा कुराहरूलाई समर्थन हुन्छ। नपुग कुराहरूलाई थप राम्रो बनाउँदै अगाडि बढ्नुपर्छ। मेडिकल क्षेत्रमा सुधार गर्नु
आवश्यक छ।

तपाईंको नियुक्ति प्रधानमन्त्री र शिक्षा मन्त्रीले झापाको बीएण्डसी कलेजलाई सम्बन्धन दिने सर्तमा मात्रै गरिएको भनिँदै छ नि ?
धेरैका धेरै आकांक्षा हुन्छन्। इच्छा पनि हुन्छन्। तर म कुनै पनि सर्त गोजीमा राखेर, झोलामा बोकेर उपकुलपतिमा नियुक्ति भएको होइन। मलाई आवश्यक पनि छैन। मेरो व्यक्तिगत फेसबुक एकाउन्ट पनि छैन। इमेल एकाउन्ट पनि छैन। विश्वविद्यालयको २५ वर्षे मूल्यमान्यतालाई जोगाउनु मेरो कर्तव्य हो।

तपाईंले कल्पना गर्नुभएको विश्वविद्यालय कस्तो हो ?
हामीले यस्तो विश्वविद्यालयको कल्पना गरेका छौं जहाँ पढाएका विषयको भन्दा गरेका कामको बढी मूल्य हुन्छ र सबै विधाका मानिसहरू बसेर प्राज्ञिक बहस गर्ने वातावरण हुन्छ। जसले समुदायमा गाभिएर रोजगारी सिर्जना गर्छ र समाजको परिवर्तनमा अमूल्य योगदान पुर्याउँछ, जसले आपसमा हातेमालो गरेर सहयोग गर्ने संस्कार बसाउँछ र समाजमा मिलिजुली बसेका मानिसहरूका बीच फाटो नल्याई एक अर्काको अझ नजिक ल्याउँछ। जहाँ विशेषज्ञ र विद्वान्हरूको जस्तै दिनहुँ माटोमै रहेर परिश्रम गरिरहने विपन्न किसानहरूको पनि सम्मान हुन्छ। जहाँ संसार परिवर्तन गर्ने खालको भाषण गरेर पनि काम नगर्ने मान्छेको सट्टा काखमा नानी च्यापेर नदीको किनारमा ढुंगा फुटाइरहेको गरिब महिलाको श्रमको महत्त्व हुन्छ, अनि जसले विदेशमा श्रमिक बनेका हजारौं युवाको हितका लागि भनेर गरिने फोस्रा गफको सट्टा त्यस्ता युवाहरूले बगाएको पसिनालाई बढी महत्त्व दिन्छ हो, यही हो मैले कल्पना गरेको हाम्रो विश्वविद्यालय।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
काठमाडौं विश्वविद्यालय बुझ्ने हो भने विश्वविद्यालयभित्रै आउनुस्। विश्वविद्यालय बुझ्ने मानिससँगै कुरा गर्नुस्। धुलिखेल, काभ्रेबासी र नेपालीहरूकै गहना हो विश्वविद्यालय।

LEAVE A REPLY