यस्ता पनि पति ⁄ पत्नीलाई जिउँदै आगो



काठमाडौं पठाउनुअघि भेरी अञ्चल अस्पतालमा सुनिता ।

कुमार श्रेष्ठ, बाँके
नेपालगन्ज–१२ का राजेन्द्र खटिक (कारिया) ले पत्नीलाई जलाएका छन्। मदिरा सेवनका लागि पैसा माग्दा नपाएपछि राजेन्द्रले पत्नी सुनिता खटिकलाई मट्टितेल छर्केर आगो लगाएका हुन्। शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेकी सुनिताको अवस्था गम्भीर रहेको छ।

अटोरिक्सा भाडामा चलाउने राजेन्द्रले बिहीबार दिउँसैदेखि पत्नीसँग झगडा गरेका थिए। ‘दिउँसो ३ बजेतिर नै पत्नीलाई पिटेर २ सय रुपियाँ लिएर गएका थिए, त्यसको रक्सी खाएर आएका राजेन्द्रले फेरि साँझ २ सय रुपियाँ मागे, पैसा नभएकी पत्नीले कहाँबाट ल्याएर दिनु, सुनिताकी दिदी संगीताले भनिन्– ‘दोस्रोपटक २ सय रुपियाँ नदिएपछि सानो भाइलाई मट्टितेल लिन पठाएर आगो लगाए।’

‘दिउँसो झगडा हुँदा नै आज तँलाई आगो लगाइदिन्छु भनेका थिए। बहिनीले यस्तो भनेको छ भनेर भनेकी थिई’, दिदी संगीताले भनिन्– ‘हामीलाई के थाहा साँच्चै जलाउँछ भन्ने कुरा।’ भाइ गौतमलाई मट्टितेल लिन पठाएर पत्नीलाई कोठामा जलाएपछि राजेन्द्र ढोका बन्द गरेर भागेका थिए। भाउजूभित्र चिच्याएपछि देवर गौतमले ढोका खोलेका थिए। ‘ढोका खुल्नेबित्तिकै बहिनी बचाऊ बचाऊ भन्दै मेरो घरतिर दौडिरहेकी थिई’, दिदी संगीताले भनिन्– ‘त्यसपछि प्रहरीलाई खबर गरेर अस्पतालमा ल्यायौं।’

सासू दुखराना खटिकले पति–पत्नी दिउँसैदेखि झगडा गरेको र आफूहरू आगो लागेपछि मात्रै गएको बताए। सासूले आफैले आगो लगाएको भन्न सिकाएअनुरूप बिहान केहीसँग सुनिताले आगो आफैले लगाएको बताएकी थिइन्। ‘छोरालाई बचाउनका लागि आगो आफैले लगाएको भन्न सिकाएका थिए। मैले वास्तविक के हो भनेपछि बहिनीले सबै सत्य कुरा बोली।’ –दिदी संगीताले रुँदै भनिन्।

राजेन्द्रले चार वर्षअघि भारत गोरखपुरकी सुनितासँग विवाह गरेका थिए। उनीहरूको डेढ वर्षकीे छोरी छन्। विवाह गरेपछि राजेन्द्र छुटिएर बसेका छन्। मदिराको लतमा परेका राजेन्द्रले दैनिक नै पत्नीलाई कुट्ने गरेका थिए। छोरी गर्भमा रहँदा पनि बाँधेर बेस्सरी कुटेका थिए। नजिकै घर रहेकी दिदी संगीताकाअनुसार गत असारमा त खुकुरीले टाउकोमा हानेर दुई दर्जन टाका लगाउनुपरेको थियो। त्यतिबेला प्रहरीले राजेन्द्रलाई लगेको थियो। केही दिनमा उनी छुटेका थिए।

दैनिक हिंसामा परे पनि सुनिताले बाहिर कसैलाई भनेकी थिइनन्। नजिकै रहेकी दिदीलाईसमेत घरको कुरा लुकाउने गरेकी थिइन्। ‘बाहिर भनेमा झन् पिट्थ्यो। एक दिन बहिनीले पिटाइ खाइरहेको देखेर छुट्याउन जाँदा एक मुक्का मैले पनि खाएँ,’ दिदी संगीताको भनाइ थियो।

पत्नीलाई जलाएपछि भागेका राजेन्द्रलाई प्रहरीले खोजी गरिरहेको छ। धेरै जलेकाले थर–थर काँपिरहेकी सुनितालाई डाक्टरले अन्यत्र लैजान भनिसकेका छन्। पैसाको अभावमा भेरी अञ्चल अस्पतालमा राखिएकोमा शुक्रबार बेलुका थप उपचारार्थ काठमाडौं लगिएको छ। डा. रूपानन्द अधिकारीले ५० प्रतिशत भन्दा बढी जलेकाले यहाँ उपचार हुन नसक्ने बताएका थिए। बाँकेमा पत्नी जलाउने घटना धेरै हुने गरे पनि बीचमा रोकिएको थियो। यसअघि बाँकेमा हासरुन इद्रिसी, रिहाना शेष, चाँदनी सल्मानी, पूजादेवी नाउ, हेमकुमारी धोवी, जहाजहा बेगम, बर्दियाकी शिवा हासमीलाई जिउँदै जलाइएको थियो। घरपरिवारले नै जलाए पनि अधिकांश पीडितले अस्पतालको शैयाबाट ‘आफैंले आगो लगाएको’ बताएका थिए।

प्रतिक्रिया दिनुहोस्