केयूमा पुनः माकजू



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा रामकण्ठ माकजू श्रेष्ठलाई नियुक्त गर्नुभएको छ। लामो रस्साकस्सीपछि उपकुलपतिका लागि नाम सिफारिस भएका चार जना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले माकाजूलाई शुक्रबार उपकुलपतिमा पुनः नियुक्त गर्नुभएको हो। सर्च कमिटीको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्ति गर्ने प्रावधान रहेको छ।

‘काठमाडौं विश्वविद्यालय ऐन, २०४८ को दफा १४ बमोजिम गठित समितिको सिफारिसमा काठमाडौं विश्वविद्यालयको रिक्त उपकुलपति पदमा सोही ऐनको दफा १४ को उपदफा १ बमोजिम नियुक्त गरेको छु। तपाईंबाट आफ्नो पदअनुरूपको कर्तव्य पालन तथा आचरण प्रकट हुने अपेक्षा राखेको छु –कुलपतिले दिनुभएको नियुक्ति पत्रमा उल्लेख गरिएको छ।

डा. माकाजूको मंसिर २६ गते चारवर्षे कार्यकाल सकिएपछि केयूमा उपकुलपति नियुक्तिको लफडा बल्झिएको थियो। उपकुलपतिको नाम सिफारिस गर्न मंसिर १३ गते गठित सर्च कमिटीले २६ गते नियुक्ति हुने उपकुलपतिको नाम सिफारिस गर्न नसकेर केयू नेतृत्वविहीन भएपछि राजिस्ट्रार भोला थापालाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिइएको थियो। काठमाडौँ विश्वविद्यालयको उपकुलपति चयन गर्नका लागि शिक्षामन्त्री तथा सहकुलपति धनिराम पौडेलको अध्यक्षतामा तीन सदस्यीय समिति गठन भएको थियो। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको काठमाडौँ विश्वविद्यालय सभाको ७५औँ बैठकले उक्त निर्णय गरेको हो। समितिका सदस्यहरूमा काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा सदस्य रहनुभएको थियो।

आगामी चारवर्षे कार्यकालका बारेमा उपकुलपति माकजूले नेपाल समाचारपत्रसंग भन्नुभयो– ‘विश्वविद्यालय कन्भेन्सन सेन्टरको शुरुआत गरिसकेका छौं। ट्रमा सेन्टरको काम अगाडि बढाइएको छ। बर्थिङ सेन्टर, दन्त विभागलाई पूर्णता दिँदै लङ सेन्टरको शिल्यान्यास गर्दै छौं। आईटी पार्कलाई विस्तार र विकास गर्ने प्रमुख उद्देश्य छ। यसका लागि ५ अर्ब रूपियाँको लगानी आवश्यक छ। त्योमध्ये हामीले केही रकम जुटाइसकेका छौं। अरू सहयोग आउने क्रम जारी छ।’

प्रतिक्रिया दिनुहोस्