पाँचखालको वन कार्यालय बनेपामा



नेपाल समाचारपत्र
काभ्रे
लोकतन्त्र आएको एक दशक बितिसक्दा समेत जिल्ला वन कार्यालय मातहतको सेक्टर वन कार्यालय गैरकानुनी रूपमा सञ्चालन भएको खुलासा भएको छ। व्यवसायी तथा सर्वसाधारणको सहजताका लागि पाँचखाल क्षेत्रमा रहनुपर्ने कार्यालय बनेपाको बुडोलबाट सञ्चालन भइरहेको छ।

रेन्जपोस्टहरू इलाका वन कार्यालयमा स्तरोन्नति भएपछि रेन्जपोस्टले गर्ने सबै काम इलाका वन कार्यालयबाट हुँदै आएको छ। महादेवस्थानमा रहेको इलाका वनसमेत पाँचखालबाट सञ्चालन हुँदै आएको छ। कार्यालय पाँचखाल राखेको महादेवस्थान इलाकाका सबै कागजात सोही ठेगानाबाट सञ्चालनमा ल्याइएको छ भने सेक्टर वन कार्यालयले समेत बनेपाको बुडोलबाट कार्यालय सञ्चालन गरिरहेको छ। सेक्टर वन कार्यालयका प्रमुख रामकुमार भण्डारी पाँचखाल कार्यालय राखेर बस्नै मान्दैनन्। उनी आफैंले पाँचखालको कार्यालय बनेपाबाट सञ्चालन गरेपछि महादेवस्थानको कार्यालय पनि पाँचखालबाट सञ्चालन भएको हो। जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकले समेत गैरकानुनी ढंगबाट कार्यालय सञ्चालन गर्ने मातहतका कार्यालयलाई कारबाही गर्न सकेको छैन।

उता पाँचखाल नगरपालिका–३ फेदी बजारमा रहेको उमादेवी फर्निचरमा थुपारिएको ५ सय २१ थान गोलिया काठ तस्करी गर्ने मुख्य अभियुक्त तेजप्रसाद न्यौपानेलाई मुद्दा दर्ता गरे पनि उनको फर्निचर बाहिर रहेका काठहरूका बारेमा अनुसन्धान गरेको थिएन। तेज न्यौपानेको फर्निचरभित्र रहेको काठहरू कहाँबाट ल्याइए? कि उनको फर्निचरभित्र उनको काठ उत्पादन हुने जंगल छ? जंगलभित्र रहेको काठ कसरी न्यौपानेको फर्निचरमा जम्मा भयो? त्यसका बारेमा अनुसन्धान गर्नुपर्दैन? वन कार्यालयले तोकेका अनुसन्धान अधिकृत ओमबहादुर ओलीले सबै काठ न्यौपानेको भन्दै प्रतिवेदन तयार पारी अदालत बुझाए। थप अनुसन्धानका लागि उनले चासो राखेनन्। अहिले फर्निचर बाहिर भएको काठका मालिकलाई खोजी भइरहेको छ। बाहिर ५ सय क्युफिट काठ रहेको छ। निरन्तर पत्रपत्रिकामा समाचार आउन थालेपछि वन कार्यालयका प्रमुख प्रेम खनालले थप अनुसन्धानका लागि निर्देशन दिए तर अनुसन्धान फितलो बनाउँदै मुख्य अभियुक्तलाई जोगाउने तयारी गरिएको छ। वन कार्यालय भित्र हुर्किंदै गरेका धमिराहरूले वन तहसनहस हुँदा समेत मूकदर्शक बनेर रकम कुम्ल्याइरहेको सूचना कार्यालय प्रमुखलाई हुँदा समेत राजनीतिक दलहरूको संरक्षणका कारण उनले कारबाही गर्न सकेका छैनन्।
वन फँडानी भएको देउपुरको सालठाँटी वन तथा सोही क्षेत्रका वन पाखाहरूको समेत अवलोकन र अनुसन्धान कार्यालयले गर्न चाहेन। तर खनालले सेक्टर वन कार्यालयका प्रमुख रामकुमार भण्डारीलाई जिल्लाका सबै इलाका कार्यालय मातहतका सामुदायिक, निजी र राष्ट्रिय वनको अनुगमन गरी प्रतिवेदन बुझाउन पत्र नै लेखेका छन्। भण्डारी उक्त पत्रको बेवास्ता गर्दै उल्टै वन कार्यालय प्रमुखलाई कसरी यो छोटो समयमा अनुगमन हुन सक्छ? भन्दै रन्किन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्