बेसहारा चार बालिकालाई सहयोग



नेपाल समाचारपत्र
गुल्मी
सुत्केरी अवस्थामा आमाको मृत्युपछि बेसहारा बनेका गुल्मीका ४ जना बच्चालाई आर्थिक सहयोग प्राप्त भएको छ। पुर्काेट दह–१ का दुर्गाप्रसाद भुसालकी पत्नी दुर्गाकुमारीको मृत्यु भएपछि आर्थिक अभावमा उनका ४ सन्तान बेसहारा बनेको खबर सार्वजनिक भएपछि अहिले उनीहरूका लागि विभिन्न व्यक्ति संघसंस्थाबाट सहयोग प्राप्त भएको हो। कात्तिक २० गते सुत्केरी भएकी २६ वर्षकी दुर्गाकुमारी २३ गतेदेखि बिरामी परेकी थिइन्। मंसिर ३ गते उपचारका क्रममा उनको निधन भएको थियो। उनको पक्षघातको कारण उहाँको निधन भएको थियो। दुर्गा कुमारी आफ्नो पाँचौं सन्तान जन्माएपछि दिवंगत भएकी हुन्। उनको उपचारका लागि बढी नै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेपछि निधन भएको थियो।

बालबालिकाको लालनपालन सँगै शिक्षाका लागि भन्दै गुल्मेली समाज जापानबाट १ लाख ५ हजार ५ सय सहयोग गरेका छन्। जापानमा रहेका नेपालीको सहयोगमा प्राप्त रकम शुक्रबार तम्घासमा सम्पन्न एक कार्यक्रममा पत्रकारको उपस्थितिमा गुल्मीका स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठले बालिका संगीता भुसाललाई हस्तातरण गरेकी छन्। हस्तान्तरण कार्यक्रममा बोल्दै स्थानीय विकास अधिकारी श्रेष्ठले छोरीलाई विभेदपूर्ण हेराइ हटाउने उदाहरण त्यहाँका बालबालिकाले आमाको किरिया गरेर दिलाएको बताइन्।

उनले बालबालिकाको शिक्षा सँगै लालनपालनका लागि सहयोग गर्ने दाताहरूलाई धन्यवादसमेत दिइन्। स्थानिय बिकास अधिकारी श्रेष्ठले बालबालिकाको शिक्षासँगै उनीहरूको हेरचाहका लागि सबैतिरबाट सहयोग सद्भावप्रति कृतज्ञता प्रकट गरिन्। बालबालिकाको लालनपालनसँगै शिक्षाका लागि विभिन्न स्थानबाट हाल १२ लाख ३५ हजार सहयोग प्राप्त भएको स्थानीय शिक्षक एवं उक्त सहयोग अभियानका संयोजक बोमबहादुर कुँवरले जानकारी दिए। शिक्षक कुँवरले २ लाखभन्दा बढी ऋण तिरेको र केही रकम स्थानीय सहकारीमा ब्याजमा लगाएर लालनपालन गर्न खर्चिने र अन्य रकम बालबालिकाको नाममा खाता खोलेर राख्ने बताए। रकम जुटाउन सहयोग गर्ने विभिन्न मिडियाका पत्रकार र सहयोग गर्ने दातालाई स्थानीय शिक्षक कुँवरले धन्यवादसमेत दिए।

आमाको निधनपछि १३ वर्षकी संगीता र ११ वर्षकी रमिता किरिया बसेका थिए। ८ र ६ वर्षका अरू दुई छोरीलाई भने सानै भएको कारणले किरियामा राखिएको थिएन। उनले आफ्नो जीवनको अन्तिम क्षणमा जन्माएकी नाबालिका छोरीलाई भने एक जना स्थानीयले धर्म छोरी बनाएर पाल्छु भनेर लगेका छन्।

पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस–९ का विश्व भुसालले दुर्गाकुमारीकी कान्छी छोरीलाई आफ्नै छोरी जस्तै गरेर पाल्नका लागि आफूले लगेको बताए। दुर्गाप्रसाद र दुर्गाकुमारीको परिवार गाउँकै गरिबमध्येको एक परिवार रहेको स्थानीय बताउँछन्। दुर्गाप्रसादको कुनै पनि आय आर्जनको बाटो छैन।

प्रतिक्रिया दिनुहोस्