मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड अलपत्र



दीपेन्द्र शर्मा, जाजरकोट
र्माण शुरू भएको ७ वर्षसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्रइक खोल्ने कार्य पूरा भएको छैन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डको ट्रइक खोल्ने कार्य अहिलेसम्म पूरा हुन सकेको छैन। सम्बन्धित पक्षको उदासिनताका कारण जाजरकोट खण्डको ट्रइक खोल्ने काम निर्माण कार्य शुरू भएको लामो समयसम्म पनि नसकी अलपत्र पारिएको छ।

एकैसाथ निर्माण कार्य शुरू गरेको लोकमार्गको रुकुम र दैलेख खण्डमा समयमा काम गरेर २ वर्षअघिदेखि यातायात सेवा सञ्चालन भइरहेका छन। लोकमार्गको जाजरकोट खण्ड सडक आयोजना र निर्माण कम्पनीको चरम लापरबाहीले अलपत्र परेको छ। ठेक्का सम्झौता भएको मितिले २ वर्षमै निर्माण सम्पन्न गर्नुपर्नेमा सडकको ट्रइक खोल्ने कार्यसमेत ७ वर्ष बित्दा पनि पूरा नभई अलपत्रै रहेको छ।

लोकमार्गको जाजरकोट खण्डको सडक निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको चरम लापरबाहीले लोकमार्गको दर्जनभन्दा बढी ठाउँहरूमा निर्माण कार्य अलपत्र पारिएको छ। जाजरकोटको कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटरअन्तर्गत जिल्लाको कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभीर, कालढुंगा थलहबजार, चुवादेउली भीर, फाल्मा, साल्माको भुसखोलालगायतका स्थानहरूमा निर्माण कार्य अलपत्र पारिएको छ। उक्त लोकमार्गअन्तर्गत थलहगाड पुल, भेरी पुल, बंग्रेखोला पुल र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ।

जाजरकोट खण्डको भूभागको सडक निर्माणको जिम्मा लिएका आधा दर्जन बढी निर्माण कम्पनीको चरम लापरबाहीका कारण तोकेको मितिमा काम नगर्दा निर्माण कार्य अलपत्र परेको हो। सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य अधुरै भएको छ।

काम नै शुरू नभएका मन्ताभीर र थलहगाडको पुल निर्माण ट्रइक खोल्ने कार्य सम्पन्न भएको प्रतिवेदन मध्यपहाडी लोकमार्ग पश्चिम खण्ड आयोजना कार्यालय दाङले १ वर्षअघि सडक विभागमा बुझाइसकेको छ। १ किलोमिटर दूरीको मन्ताभीर र थलहगाडको पुल निर्माण कार्य अझै पनि शुरू भएको छैन। आयोजनाले जाजरकोट खण्डको निर्माणमा १ अर्ब बढी खर्च गरेको छ।

मन्ताभीर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न सकेको थिएन। विगतमा ढिलासुस्तीका कारण काम शुरू नगरेका निर्माण कम्पनी तथा व्यवसायीलाई काम शुरू गर्न ताकेता गरेको आयोजना कार्यालय दाङका डिभिजन इन्जिनियर नारायणप्रसाद निउरेले बताए। ‘जसरी भए पनि सम्झौताको काम म्यादभित्र पूरा गराउन कार्यालय लागेको छ, तोकिएको मितिमा काम पूरा नगर्ने व्यवसायीको ठेक्का तोड्ने र उनीहरूको फर्मलाई कालोसूचीमा राख्छौं’ –निउरेले भने। ‘मन्ताभीरको चट्टान काट्न व्यवसायी तयार भएकाले अब छिट्टै काम शुरू हुन्छ, अबको केही दिनमै मन्ताभीरको चट्टान काट्न मेसिन जाँदै छ’ –उनले भने। जाजरकोट खण्डमा २ किलोमिटर मात्र ट्रइक खोल्न गर्न बाँकी रहेको निउरेको दाबी छ।

लोकमार्गको समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि ठाउँठाउँमा जीर्ण हुन थालेको भुरका स्थानीय पूर्णदेव शर्माले बताए। ‘ग्याभिङ, वाल, नाली, वाइडिङ, पुल निर्माणलगायत कार्य निर्माणमा चरम लापरबाही छ, फाउन्डेसनविनाको वाल बनाइएको छ, गरेको काम पनि गुणस्तरहीन छ’ –शर्माले भने। राष्ट्रिय महत्त्वको लोकमार्ग निर्माणमा लापरबाही गर्ने व्यवसायी तथा सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याउनुपर्ने शर्माको माग छ।

लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति सरकार पनि उदासिन भएको भेरीमालिका नगरपालिका–११ का इमाश्वर देवकोटाले बताए। ‘हामीले प्रधानमन्त्री प्रचण्डलाई यसमा भएको अनियमितता ढिला सुस्ती तथा सरकारबाट अनुगनमनका लागि ज्ञापनपत्र बुझाएको थियौं, कुनै सुनुवाइ भएन’ –देवकोटाले भने। पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको जुलाघाट पुग्ने १ हजार ६ सय ६५ किलोमिटरको लोकमार्गको जाजरकोट खण्डले सदरमुकामलाई समेत छुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्