राणाकालीन दरबार भत्काइँदै



 

पहिलो लटमा ललिता निवास र सिंहमहल त्यसपछि श्रीमहल र हरिहर भवन भत्काइने

ईश्वरराज ढकाल, काठमाडौं ।
राणाकालीन दरबार बचाउने कि भत्काउने भन्ने बहस चलिरहेका बेला पुरातत्व विभागले दुई चर्चित दरबार भत्काउने निर्णय गरेको छ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको मुख्यालय (ललिता निवास) र थापाथलीको थापाथली दरबार (सिंहमहल) भत्काइने भएको हो। राणा प्रधानमन्त्री सुवर्ण शमशेरले बनाएको बालुवाटारको भवन ललिता महलको नामले चिनिन्छ। भूकम्पले अगाडिको आकर्षक भाग पूरै खसालेपछि बस्नै नहुने हुँ दा नेपाल राष्ट्र बैंकको भवन भत्काएर नयाँ भवन बनाउन लागिएको हो।

विभागले स्वरूप परिवर्तन हुन नदिने गरी नयाँ बनाउन स्वीकृत दिएको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले बस्नै नहुने गरी भत्केका राणाकालीन दरबारलाई पूर्णरूपमा भत्काएर नयाँ बनाउन स्वीकृत दिइएको बताउनुभयो।

दुई चर्चित राणाकालीन दरबार भत्काउने निर्णय भएपछि २०७२ वैशाखमा भत्किएका अन्य दरबार पनि भत्कने खतरा बढेको छ। जंगबहादुरले आफ्ना छोरा जगतजंगलाई बस्न थापाथली दरबार बनाउन लगाएका थिए। पछि चन्द्र शमशेरले सो भवन कब्जा गरी आफ्ना छोरा सिंह शमशेरलाई दिएका थिए। त्यसैले सो दरबारको नाम सिंहमहल रहन गएको थियो।

एक शताब्दी नाघेका दरबार भत्काउन थालिएपछि राणाकालीन दरबारको अस्तित्व खतरामा पर्ने देखिएको छ। तर विभागले भने आधुनिक सामग्री प्रयोग गरे पनि मौलिकता, संस्कृति र आकर्षणलाई नमेटिने गरी भवन निर्माण गर्न स्वीकृत दिएको जनाएको छ।

भवन निर्माण विभाग र राष्ट्र बंैकले देशको बहुमूल्य सम्पत्ति र गहना राख्ने भवन बलियो बन्नुपर्ने तर्क गर्दैै राष्ट्र बंैकको मुख्यालय र थापाथली कार्यालय भत्काएर नयाँ बनाउन पटकपटक दबाब दिएको थियो। सरकारले नै आग्रह गरेपछि पटकपटक छलफल गरी स्वरूप नबिग्रने गरी भत्काउन सहमति दिइएको विभागले जनाएको छ। विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले विज्ञसँगको पटकपटक भएको छलफलपछि दुई दरबार भत्काउन सहमति दिएको जानकारी दिनुभयो।

‘भवनको ड्रइङ र डिजाइन तयार गरी पुरातात्विक रूपमा बनाउने भवनको स्वीकृति विभागबाट लिनुपर्ने हुन्छ’ –उहाँले भन्नुभयो। विभागले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र राष्ट्रिय आवास कम्पनी रहेको पुल्चोकस्थित श्रीमहलसमेत भत्काउन दिने अन्तिम निर्णय गर्न लागेको छ। विभागका महानिर्देशक दाहालले कामै नलाग्ने गरी भत्किएको सो दरबार पुनर्निर्माण गर्नुको विकल्प नभएको बताउनुभयो। उहा“ले भन्नुभयो– ‘मौलिकता नबिग्रिने गरी नया“ निर्माण गर्न स्वीकृत दिने चरणमा छौं।’

पाँचतले यो दरबार राणाकालमा श्री दरबारको नामले परिचित थियो। विसं १९७६ सालमा बनाउन शुरू गरिएको यो दरबार १९७८ सालमा सम्पन्न भएको थियो। तत्कालीन श्री ३ चन्द्रशमशेरले छोराहरूका लागि यो भवन बनाइदिएका थिए।
‘जुन दरबारमा जुन कार्यालय रहेका छन्, ती कार्यालयलाई दरबारको पुरातात्विक स्वरुप नबिग्रिने गरी तत्कालका लागि मर्मत गरेर बस्न अनुमति दिएका छांै।’ –महानिर्देशक दाहालले भन्नुभयो। ‘सय वर्ष नाघेका अधिकांश दरबारहरू मास्न वा भत्काउन परे विभागले स्वीकृति दिनुपर्छ। हामीले सबै निकायलाई नेपालको वास्तुकला जोगाउन दरबारहरूको उचाइ नघट्ने गरी, बाहिरी भागको स्वरुप नबिगारी जति क्षेत्रफल खाली छ, त्यही नै कायम हुनेगरी मर्मत गरेर मिल्ने भए बस्न भनिसकेका छौं।’ –उहाँको भनाइ छ।

विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको कार्यकालमा थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालय नबिग्रिने गरी भवन बनाउन स्वीकृति दिएको थियो।

कार्कीले आफ्नो कार्यकालमा मुख्य दरबार भत्काउन स्वीकृत नदिएको दाबी गर्दै बनेका संरचनाबाहेकका स्थानमा नयाँ भवन निर्माण गर्न स्वीकृति दिएको जानकारी दिनुभयो।

विभागका महानिर्देशक दाहालले केही दरबारहरू पुनः निर्माण गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी गराउनुहुँदै करिब तीन दर्जनको संख्यामा रहेका राणाकालीन दरबारका बारेमा विस्तृत अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनुभयो। शहरी विकास तथा भवन निर्माण विभागले केही महिनाअघि सिंहदरबार भत्काउने विषय उठान गर्दा सबै संस्कृति र पुरातत्वविद्ले चर्को विरोध गरेका थिए।

राणाकालीन दरबार भत्काउन नदिने अडान लिएको विभागले सरकारी दबाबले पुरानो संरचना नबिग्रिने गरी पुनर्निर्माण गर्न भन्दै स्वीकृति दिने तयारी गर्दै आएको छ। पछिल्लो सिकार राणाकालीन दुई चर्चित दरबार ललिता निवास र सिंह महल (थापाथली दरबार) भएका छन्। लगत्तै श्री महल र हरिहर भवनसमेत भत्काउने तयारी गरिँदै छ।

तर विभागका महानिर्देशक दाहालले जति क्षेत्र बगैंचाले ओगटेको छ, त्यति नै कायम हुनुपर्छ, सबै वास्तुकला जस्तो छ त्यसै गरी बनाउनुपर्छ भन्नुभयो। दरबार पुनर्निर्माण गर्ने तयारीमा रहेका कार्यालयलाई विभागले स्पष्ट निर्देशन दिएको दाबी उहाँको छ। उहाँ भन्नुहुन्छ– ‘भित्री भागमा केही परिवर्तन भए पनि बाहिरी भागजस्ताको तस्तै हुनुपर्छ। पुरातात्विक महत्वले भरिएको दरबारको स्वरुप कसैले बिगार्ने गरी पुनर्निर्माण गर्न पाउँदैनन्।’

प्रतिक्रिया दिनुहोस्