अमेरिकामा राष्ट्रपतिको शपथ ग्रहण आज



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले आज अमेरिकी कंग्रेस क्यापिटल हिलको परिसरमा पदको शपथ ग्रहण गर्नेछन्। उनको शपथ ग्रहणसँगै निवर्तमान राष्ट्रपति बाराक ओबामा आफ्नो ८ वर्षे लामो कार्यकालसँगै ह्वाइट हाउसको बसाइ टुंग्याएर त्यहाँबाट प्रस्थान गर्नेछन्।

विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाको राष्ट्रपति बन्नुको महत्वमा मात्रै डोनाल्ड ट्रम्पको यो शपथ ग्रहण सीमित छैन। उनको अत्यन्तै विवादास्पद अभिव्यक्ति, व्यक्तित्व, विश्वमामिलामा उनको अप्रत्यासित पृथक धारणले पनि उनको यो शपथ ग्रहणले विश्वले विशेष चासो दिएर हेर्ने पक्का छ।

के हुन्छ शपथ ग्रहणमा ?

वासिङ्टनमा आजकोे बिहानीमा राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसको पलंगमा आँखा खोल्नेछन् तर राति त्यहाँ ओबामा होइन नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प सुत्नेछन्।

दिनको ठीक १२ बजेसम्म पनि ह्वाइट हाउस ओबामाको हुनेछ र परम्पराअनुसार त्यसको एक मिनेट अगाडिसम्म पनि नयाँ राष्ट्रपतिले त्यहाँ प्रवेश गर्न पाउँदैन।

वर्षौंदेखिको परम्पराअनुसार सत्ताको हेरफेरका लागि ह्वाइट हाउसको कर्मचारीसँग मात्र ६ घन्टाको समय हुनेछ। बिहान साढे १० बजेतिर जब डोनाल्ड ट्रम्प आफ्नो शपथ ग्रहण भाषणका लागि तयार हुनेछन्, दुई वटा ठूला ट्रक ह्वाइट हाउसभित्र आउनेछ र उल्टो दिशामा फर्काएर राखिनेछ।

सयभन्दा धेरै कर्मचारीले फुर्तीका साथ एउटा ट्रकमा राष्ट्रपति ओबामाका बाँधिएको सामान लोड गर्न थाल्छन् र अर्को ट्रकबाट ट्रम्पको सामान झारिनेछ।

ती सबै काम सेनाको जस्तै अत्यन्त चुस्त ढंगले हुने ह्वाइट हाउसका प्रबन्धकले सञ्चारमाध्यमलाई बताए। यही बेला ढोकाहरुमा रङरोगनको काम पनि हुनेछ, नयाँ कार्पेट आछ्याइनेछ, सिसाहरु टल्काइनेछ र साँझसम्ममा १ सय ३२ वटा कोठा ह्वाइट हाउसका नयाँ राष्ट्रपति तथा उनका परिवारलाई स्वागत गर्न तयार पारिनेछ।

बाराक ओबामा जब २००९ मा सिकागोबाट वासिङ्टन आएका थिए, आफ्ना सम्पूर्ण सामान उनले आफ्नो खर्चमा ह्वाइट हाउसमा ल्याउनुपरेको थियो। जब ती सामान ह्वाइट हाउसका कर्मचारीलाई सुम्पे, त्यसपछि भने त्यसलाई कसरी खोल्ने, कहाँ राख्ने ती सबै जिम्मेवारी कर्मचारीको हुन्छ।

सामान्यतया त्यसपछि मात्रै सबै राष्ट्रपति वा उनकी पत्नीले ह्वाइट हाउसभित्रको सजावटलाई आफ्नो हिसाबले हेरफेर गर्छन्।
ट्रम्प आफ्नी पत्नी मेलानिया ट्रम्पसँग अत्यन्त चहकिलो आफ्नो पेन्टहाउसमा सुनौलो प्लेटिङ गरिएको पलङ, महँगो झुमर र महँगा साजसज्जाका सामानले घेरिएर बस्न अभ्यस्त छन्।

तर, उनले ह्वाइट हाउसको सजावटमा कुनै विशेष परिवर्तन गर्न नचाहेको बताएका छन्। यद्यपि जब नयाँ राष्ट्रपतिका रूपमा भित्र प्रवेश गरिन्छ त्यसपछि नै केही हेरफेर गर्न सकिन्छ।

मेलानिया ट्रम्पले एउटा विलासी कक्ष बनाउन चाहेको र त्यो आफ्नो मेकअप र शृंगारका लागि हुने न्युयोर्क पत्रिकाले जनाएको छ। उनी मेकअपमा सवा घन्टा लगाउने र त्यो कोठाको प्रकाश व्यवस्था तथा बाँकी सजावटमा पनि विशेष ध्यान दिइने पत्रिकाले जनाएको छ।

सामान्यतया विशेष ऐतिहासिक महत्वका चिजहरुमा फेरबदल गरिँदैन तर पूर्वराष्ट्रपतिहरुले पनि सानातिना संरचनामा हेरफेर तथा थपघट गरेका छन्।

ओबामाले एउटा टेनिस कोर्टलाई बास्केटबल कोर्टमा परिणत गराएका थिए। फोर्डले एउटा आउडोर स्विमिङपुल बनाउन लगाएका थिए भने क्लिन्टनले ८ सिट भएको एउटा हट टब बनाउन दिएका थिए।

जनवरी २० रातिसम्ममा ट्रम्प आफ्नो भाषण, त्यसपछि परेड र इन्यागरल बल भनिने समारोह सम्पन्न गरेर ह्वाइट हाउसमा फर्कंदा उनका लागि खानाका केही परिकार तयार हुनेछन्। त्यो खाना ह्वाइट हाउसका भान्सेको चयनमा तयार हुनेछ। तर, अर्को बिहानीदेखि सबै समयको खाना मात्र एक जना डोनाल्ड ट्रम्पको मनपर्ने वा मन नपर्नेअनुसार तयार हुनेछ।

प्रतिक्रिया दिनुहोस्