हेटौंडा तनावग्रस्तः प्रदर्शनकारी भगाउन हवाई फायर



नेपाल समाचारपत्र
हेटौंडा ।
हेटौंडाको मुख्य बजार क्षेत्र बिहीबार दिनभर तनावग्रस्त रह्यो। प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा हेटौंडा तनावग्रस्त भएको हो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

सडक विस्तारका लागि डोजरले घरको पेटी भत्काउन लाग्दा स्थानीयले आक्रमण गरेका हुन्। स्थानीयले प्रहरीमाथि ढुंगा, भाला तथा तरबारले आक्रमण गरेको प्रहरी दाबी छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो। घटनामा ८ प्रहरी र ६ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले बजार क्षेत्रमा सडक विस्तारमा सहयोग गरिरहे पनि आन्दोलनको क्रम बढेपछि मध्यक्षेत्र र दंगा नियन्त्रण गणका प्रहरीलाई सुरक्षाका लागि परिचालन गरिएको थियो।

झडपका क्रममा ६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको र करिब आधा दर्जन प्रहरी सामान्य घाइते भएको जनाइएको छ। सडक विस्तारको क्रममा आफ्ना निजी जमिनको क्षतिपूर्ति तथा मुआब्जा नदिएर भौतिक संरचना भत्काउन लागेको विरोधमा स्थानीय आक्रोशित भएका हुन्। मकवानपुर उद्योग वाणिज्य संघले बिहीबारबाट बजार खोल्ने भने पनि बजार क्षेत्रमा भएको दोहोरो झडपका कारण पुनः बन्द भएको छ।

आफ्नो नाममा अहिले पनि लालपुर्जा रहेको र मालपोतबाट खरिदबिक्री हुँदै आएको र नगरपालिकालाई नियमानुसार कर बुझाएको हुनाले सरकारले लिनुपरे मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्ने स्थानीयको माग छ। बिहीबारको घटनास“गै सरकारले मुआब्जा नदिएसम्म शुक्रबारदेखि अनिश्चित्कालीन हेटौंडा बन्द गरिने हेटौंडा बसोबास संरक्षण समितिले जनाएको छ। सडक विस्तार कार्य नरोकिने प्रहरीले बताएको छ। सडकले भत्काउनका लागि ७ सय घरमा मार्किङ गरेको छ।

हेटौंडाको राप्तिरोड, मेनरोड, कान्तिलोकपथ र त्रिभुवन राजपथ क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। सहमतिविपरीत डोजर चलाएकाले प्रतिरोधमा उत्रनुपरेको मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले बताउनुभयो। आन्दोलनकारीले मुख्य बजारमा टायर बालेर विरोध जनाएका थिए।

डिभिजन सडक कार्यालय मकवानपुरले सडक फराकिलो अभियान जारी राखेर राप्तिरोडमा निजी घर भत्काउन डोजर चलाएपछि झडप शुरू भएको थियो। आन्दोलनकारी व्यवसायी र प्रहरीबीचको झडपमा प्रहरीले लाठीचार्ज गरेको थियो। आन्दोलनकारीले प्रहरीलाई घरको छतबाट ढुंगाले हानेका थिए। झडप भइरहँदा पनि घर भत्काउने काम सुचारु थियो।

आन्दोलनकारीले आन्दोलन फिर्ता लिएको बताए पनि घुसपैठ भएको र स्थिति तनावग्रस्त भएको प्रहरीले जनाएको छ। प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपनगरपालिका–१ र १० मा रहेको हेटौंडा–नारायणघाट सडकखण्डको राप्तीरोडमा बाटोमा परेका घर भत्काएको विरोधमा स्थानीय व्यापारीले दुई दिनदेखि बन्द गराएका थिए। बन्द खुलेको भनिएको केही घण्टा नबित्दै झडप भएको हो। केही दिनअघि सोही क्षेत्रका एमाले सांसद् अनन्त पौडेलले जबर्जस्ती घर भत्काइए रक्तपात हुने चेतावनी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्