भिरबाट खस्ने ढुंगा रोक्न सिद्धबाबामा रक नेट प्रबिधि जडान हुँदै



(यमलाल भुसाल)/बुटवल, ६ माघ ।
बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा भिरबाट खस्ने ढुंगा रोक्न नमुना प्रबिधीका रुपमा रक नेट जडान सुरु भएको छ ।
परीक्षणको रुपमा माथिल्लो सिद्धबाबा र दोभान विचको वारम्वार ढुंगा खस्ने क्षेत्रमा रक नेट(जाली) प्रविधी जडान प्रक्रिया सुरु भएको हो । प्रति घण्टा एक सय कि.मी.को गतिमा आएको दुई टनको ढुंगा रोक्ने प्रविधी जडान सुरु गरिएको भुगर्भविद् एवं त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक ईन्जिनियर डा. रञ्जन दाहालले जानकारी दिनुभयो ।

गत वर्ष वर्षायाममा पहिरोले बस तिनाउ नदीमा पु¥याएको क्षेत्रमा उक्त एक हजार किलो जुल रहेको ओमेगा नेट जडान कार्य जारी रहेको जानकारी गराइएको थियो । उक्त नेट एक सय २० वर्ग मिटरमा चार मिटर उचाई र २७ मिटर चौडाईमा फैलिनेछ । उक्त जाली अड्याउनको लागि ड्रिलिङ्ग मेसिनले चार देखि आठ मिटर सम्म प्वाल बनाउने काम भैरहेको बताइएको छ । मंसिर देखि सुरु गरिएको उक्त काम फागुन महिनाको मसान्त सम्ममा सकिने पूर्वानुमान भएपनि माघ महिना भित्रै सकिने उहाँले जानकारी दिनुभयो ।

सुरुमा ५२ लाख लागत लाग्ने अनुमान गरिएपनि कलकत्तामा सामानको डेमरेज शुल्क(विलम्व शुल्क) तिनुपर्दा लागत ६० लाख पुग्ने आकलन गरिएको छ । उक्त सामान कलकत्तासम्म निःशुल्क उपलब्ध भएको र त्यहाबाट नेपालसम्म ल्याउदाको ढुवानी खर्च लागेको बताइएको छ । उक्त प्रविधी जियोटेक सोलुसन इन्टरनेशनल इन्जिनियरिङ् कम्पनीले जडान गरिरहेको छ ।
अष्ट्रियाको एक कम्पनीले उपलब्ध गराएको सामानको नेपाल सरकारले भन्सार छुट दिएको छ । यसको ढुवानी, जडान लगायतका खर्च जियोटेकले बेर्होर्ने भुगर्भविद् दाहालले जानकारी दिनुभयो ।

यसको टिकाउ अवधी ५० वर्ष रहेको अर्का इन्जिनियर सुनिल पौडेलले जानकारी गराउनुभयो । यो प्रबिधि अनुसार माथीबाट आएको ढुङ्गा वा पहिरोलाई जालीले रोकेर राखिने छ । जालीमा आएको ढुंगा जाली काटेर अथवा त्यसलाई सानो सानो टुक्रा पारेर फाल्न सकिने बताईएको छ । विश्वका अधिकत्तम देशमा यस्ता प्रविधी सफल प्रयोग हुदै आएको भुगर्भविद् दाहालले बताउनु भयो ।

करिव ४५ वर्ष अगाडी निर्माण भएको सिद्धार्थ राजमार्ग रुपन्देही सहित यस क्षेत्रका तराईलाई पाल्पा, गुल्मी, स्याङ्गजा, कास्की, पर्वत, वाङ्गलुङ्ग, म्याग्दी, मुस्ताङ्ग, अर्घाखाँची लगायतका पहाडी जिल्ला जोड्ने प्रमुख सडक हो ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्ड अन्तरगत पर्ने बुटवलको चिडीया खोला देखी पाल्पाको दोभान सम्मको ४ किलोमिटर सडकमा माथिबाट ढुङ्गा खस्ने समस्याका कारण यो सडक भएर यात्रा गर्ने जो कोहीले मनभरी त्रास बोकेर यात्रा गर्न विवस छन् । माथिबाट ढुङ्गा खस्ने भएकै कारण यो सडक भएर यात्रा गर्ने धेरैले ज्यान गुमाई सकेका छन भने ठूलो धनमालको समेत क्षेती व्यहोर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्