नेपाल इन्डोनेसियासँग सहकार्य गर्न इन्छुक : प्रधानमन्त्री



काठमाडौँ, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गर्नुभएको छ ।

सो अवसरमा दाहालले गत वर्षको भूकम्पको विपत्तिका बेला इन्डोनेसिया सरकारले नेपाली जनतालाई सहयोग गरेकोमा राजदूत र इन्डोनेसिया सरकारलाई धन्यवाद दिनुभएको थियो ।

भूकम्पपश्चात् इन्डोनेसिया सरकारका तर्फबाट आफ्ना विपद्का समयमा खोज तथा उद्धार गर्ने जनशक्ति र चिकित्सक टोली काठमाडौँ आएको थियो ।

प्रधानमन्त्री दाहालले इन्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै आगामी दिनमा इन्डोनेसियासँग पर्यटन, जलविद्युत् र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभएको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत अत्मड्जाले नेपाललाई फ्रि र अन्एराएवल भिसाको व्यवस्था गरिएको जानकारी दिनुभएको सचिवालयले विज्ञप्तिमा जनाएको छ । सो अवसरमा इन्डोनेसियाका लागि नेपालका अवैतनिक राजदूत चन्द्र ढकालको समेत उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्