एपीएफ रिड मोडललाई पछ्याउँदै



नेपाल समाचारपत्र
काठमाडौं
विभागीय टोली एपीएफले जारी १२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको दोस्रो लिगमा शीर्ष टोली रिड मोडल कलेजलाई पछ्याइरहेको छ।
३३–३३ अंक जोडे पनि एपीएफभन्दा रिड मोडलले एक खेल कम खेलेकाले लिगको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो। बुधबार आफ्नो ११औं खेलमा रिड मोडलले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो। त्यस्तै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई पनि ३–० कै सेटमा पाखा लगायो।

लिगको तेस्रो स्थानमा रहेको न्यु डायमन्ड एकेडेमीले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई ३–१ को सेटमा हरायो। त्यसै गरी पुलिसले आफ्नो दोस्रो खेलमा भने बाजी मारेको छ। टोलीले आयोजक ढोरपाटनलाई ३–० सेटमा निरास बनायो। उत्कृष्ट प्रदर्शन गरेकी पुलिसकी कमला पुनले भिक्टोरिया इन्टरनेसनल होटल ट्रेनिङ इन्स्टिच्युटमा निःशुल्क ३ महिने होटल म्यानेजमेन्ट तालिमको अवसर प्राप्त गरेकी छिन्।

जारी लिगमा न्यु डायमन्डको ११ खेलबाट २७ अंक भएको छ भने पुलिस र पश्चिमाञ्चलले समान १२ खेलबाट समान २१ अंक जोडेका छन्। आर्मीले १२ खेलबाट १५ अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको आयोजक ढोरपाटन स्पोर्टस् क्लबले दोस्रो चरणमा सफलता हात पार्न नसक्दा १२ खेलबाट ८ अंकमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्