आईटीएफद्वारा थापा सम्मानित



काठमाडौं, (नेस)
नेपाल अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो महासंघले आफ्नो पूर्वकेन्द्रीय सदस्य प्रकाश थापा मगरलाई नेपालमा तेक्वान्दो खेल विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याएबापत बुधबार सम्मान गरेको छ। आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका थापाले राष्ट्रलाई खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन उल्लेखनीय भूमिका निर्वाह गरेकाले उनको योगदानलाई कदर गर्दै सम्मान गरेको महासंघले जनाएको छ।

थापालाई दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवं नेपाल आईटीएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमलाले सम्मानपत्र प्रदान गरे। नेपाल आईटीएफ तेक्वान्दोको कभर्ड हल निर्माणका लागि थापाले महासंघलाई १० लाख आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका थिए।

‘रामेछापमा संघले अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माण गर्न लागेको छ। तर, हामीसँग आर्थिक अवस्था निकै कमजोर छ। यद्यपि नेपाल आईटीएफ विकास र कभर्ड हल निर्माणमा उहाँको सहयोगले हामीलाई थप हौसला थपेको छ’ –धमलाले बताए।

प्रतिक्रिया दिनुहोस्