उद्यमी सौन्दर्य मेला हुने



काठमाडौं, (नेस)
त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा नेपालमै पहिलोपटक उद्यमी सौन्दर्य मेला हुने भएको छ। माघ १४ गतेदेखि १६ गतेसम्म सौन्दर्य कला व्यवसायी महसंघ नेपालको आयोजनामा मेला हुन लागेको हो।

सौन्दर्य विज्ञहरूबाट नयाँ र गुणस्तरीय उत्पादनका साथै नयाँ प्रविधिबारे चेतनामुलक जानकारी दिनुका साथै नेपालका महिला उद्यमीद्वारा उत्पादित सामग्रीको प्रवद्र्धन गर्न, अवलोकनकर्तालाई स्वास्थ्य र सौन्दर्यसम्बन्धी जानकारी र सल्लाह दिनु मेलाको मुख्य उद्धेश्य रहेको छ।

नेपाल उद्योग बाणिज्य महासंघसँगको सहकार्यमा आयोजना गर्न लागिएको मेलामा सौन्दर्य सामग्री उत्पादन कम्पनी, आयातकर्ता, बिक्रेतालगायतको पनि सहभागिता रहने छ। कस्मेटिक र मेकपअप, स्किन केयर, बडीकेयरका सामग्री, पर्फ्युम, हेयर केयर उत्पादन, ब्युटी र हेयर उपकरण, स्पा र वेलनेस उत्पादन, हात र नङको हेरचाह गर्ने सामग्रीका साथै कच्चा पदार्थ, हेल्थ एन्ड फिटनेस सामग्रीका स्वदेशी तथा विदेशी ब्रान्डहरू प्रदर्शनीमा राखिने छ।

यस्तै मेलामा कार्यशाला, पोष्टर प्रदर्शनी, फेसन सो, फोटो सुटसमेत हुनेछ। मेलामा सहभागीहरूको मनोरञ्जनका लागि सांगीतिक कार्यक्रमसमेत प्रस्तुत गरिने आयोजकले जनाएका छन्।

मेलामा सौन्दर्य प्रशोधन प्रयोग गर्ने तरिकाका साथै ब्युटी पार्लरमा प्रदान गरिने सौन्दर्य सेवाको प्रत्यक्ष प्रयोगात्मक विधि देखाइने छ। बजारमा नक्कली तथा म्याद गुज्रेका सौन्दर्य सामग्री देखिन थालेकाले त्यसबारे प्रयोगकर्तालाई सचेत गराउन मेलामा छुट्टै स्टल राखिने भएको छ। मेलाको मुख्य प्रायोजन सौन्दर्य सामग्री उत्पादन कम्पनी बेरिनाले गरेको छ। ६० वटा स्टल रहने मेलाका अधिकांश स्टलहरू बुक भइसकेको आयोजकको भनाइ छ। मेलामा एक लाख अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको सौन्दर्य व्यवसायी संघ नेपालको अध्यक्ष कमला श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्