इटालीमा ३ वटा शक्तिशाली भूकम्प



रोम, (एजेन्सी)
मध्य इटालीमा एक घन्टाभित्र तीन वटा शक्तिशाली भूकम्प गएको छ। ती भूकम्पबाट गत अगस्टमा आएको विनाशकारी भूकम्पको पीडाबाट बाहिर आउने प्रयासमा रहेका इलाका पनि प्रभावित भएको जनाइएको छ। तीनवटै भूकम्पको धक्का ५ दशमलव ४ म्याग्निच्युड मापन गरिएको र त्यसलाई राजधानी रोममा पनि महसुस गरियो।

रोमको स्कुल र मेट्रो सेवा खाली गरिएको छ। भूकम्पको केन्द्रबिन्दु अकिला प्रान्तको मोन्टेरियल शहरको जमिनबाट ९ दशमलव २ किलोमिटरमुनि भएको भूगर्भ वैज्ञानिकहरूले बताएका छन्। एमाट्रिचीमा यसअघिको भूकम्पमा भत्केको ऐतिहासिक घन्टाघरको बाँकी हिस्सा पनि भत्केको छ। उक्त शहरमा गत अगस्टमा आएको भूकम्पमा करिब ३ जनाले ज्यान गुमाएका थिए भने शहरको अधिकांश हिस्सा विनाशको चपेटामा परेको थियो। इटालीको ती इलाकामा गतवर्षको अगस्ट र अक्टोबरमा धेरैपटक आएको भूकम्पबाट भएको विनाशको पीडाबाट अझै पनि थुप्रै शहर मुक्त हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्