बुस जुम्ल्याहा पुत्रीद्वारा ओबामा पुत्रीलाई खुलापत्र



वासिङ्टन, (एजेन्सी)
जनवरी २० मा ह्वाइट हाउसबाट बिदा हुन लागेका बाराक ओबामाका छोरीहरू १५ वर्षीय सासा र १८ वर्षीय मालियाका नाममा पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसकी जुम्ल्याहा छोरीले एउटा खुलापत्र लेखेका छन्।

३५ वर्षीय बारबार र जेना बुसले पत्रमा लेखेका छन्– ‘अब तिमीहरू विश्वको बोझबाट मुक्त भएका छौ, तिमीहरूलाई गल्ती गर्न छुट भएको छ, यसबाट सिक र अगाडि बढ।’

बुसका छोरीहरूले ८ वर्षअगाडि ह्वाइट हाउस छोड्ने बेलाको आफ्नो अनुभव पत्रमा उल्लेख गर्दै सासा र मालियासँग आफ्ना अनुभव बाँडेका छन्।

उनीहरूले पत्रमा लेखेका छन्– ‘प्रिय मालिया र सासा, ८ वर्षअगाडि नोभेम्बरमा हामीले ह्वाइट हाउसमा तिमीहरूलाई स्वागत गरेका थियौं। आफ्नो नयाँघर हेरिरहँदा तिमीहरूको आँखामा चमक देखेको थिएँ। हामी पनि त्यस्तै थियौं। हामीले तिमीहरू प्रभावशाली बन्दै गएको देख्यौं।

अब तिमीहरू एउटा विशेष क्लब (पूर्वराष्ट्रपतिका बच्चाहरूको क्लब) मा संलग्न हुन गइरहेका छौ। यो एउटा त्यस्तो जीवन हो जसको तिमीहरूले कहिल्यै इच्छा गरेका थिएनौ। यसको कुनै दिशा र निर्देशन पनि हुँदैन।

तर, आगाडिको जिन्दगीमा तिमीहरूसँग गर्ने थुप्रै कुरा हुनेछन्। अब तिमीहरू प्रख्यात मातापिताको छायाँबाट निस्केर आफ्नो एउटा कहानी लेख्नेछौ, त्यसमा तिमीहरूको ८ वर्षको अनुभव हुनेछ। यी वर्षमा तिमीहरूले धेरै काम गरेका छौ, धेरै कुरा देखेका छौ।

अगाडी पनि धेरै कुरा गर्न बाँकी छन्। कलेजको मजा लिनू। जस्तो हामीले गर्र्यौं। अब तिमीहरूको काँधमा विश्वको बोझ छैन। आफ्नो चाहनालाई चिन्नू। तिमी को हौ, यो जान्ने प्रयास गर्नू। गल्ती गर्नू। तिमीलाई अब यसको अनुमति छ।’

पत्रमा लेखिएको छ– ‘सधैं इमान्दार मित्रहरूबाट घेरिएर बस्नु, जसले तिमीहरूलाई चिनेका छन्, बुझेका छन् र तिमीहरूलाई मनपराउँछन्। त्यस्ता मित्रहरू हाम्रो लागि कवच जस्तै हुन्। जसले तिमीलाई शासन गर्न खोज्छ, उनीहरूले तिमीलाई माया गर्दैनन्। उनीहरूको कुरालाई धेरै ध्यान दिनुछैन। तिमी आफ्नो हृदयको कुरा सुन्नू।

उनीहरूलाई पनि सम्झनू, जसले ह्वाइट हासउमा तिमीहरूलाई रेखदेख गरे। सधैं छायाँजस्तो पछि–पछि लागिरहने गुप्तचर एजेन्टलाई पनि पछ्याउनु कसैलाई सुहाउँदैन, तर उनीहरू ती मानिस हुन् जसले तिमीहरूका लागि आफ्नै जिन्दगीलाई किनारामा राखेका थिए।’

पूर्वराष्ट्रपति जर्ज डब्ल्यू बुसका दुबै छोरीले आफ्नो करियर राजनीतिमा बनाएका छैनन्। जेना एनबीसी न्युज रिपोर्टर छिन् भने बारबरा नन प्रोफिट अर्गनाइजेसन ग्लोबल हेल्थ कप्र्सका सहसंस्थापक तथा प्रमुख छिन्।

प्रतिक्रिया दिनुहोस्