सुन तस्करीका नाइकेलाई नछोड



पछिल्लो समय तस्करी गरी ल्याइएको ठूलो परिमाणको सुन केन्द्रीय अनुसन्धान विभाग सीआईबीले बरामद छ । तस्करी गरी भित्र्याइएको ठूलो परिमाणको सुन यसरी अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिने गरेको रहस्य पनि सार्वजनिक भैरहेको छ । तस्करी गरिएको सुन र भरियाहरू समातिने भए पनि मुख्य नाइके तथा सुनको मालिक कहिले समातिएला भन्ने जिज्ञासा काममै छ । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन बरामद गरेको करिब दुई साता पुग्न लाग्यो तर सुनको मालिक को हो भनेर पत्ता लगाउन अझै सकेको छैन ।

सुनका मालिक पक्राउ गर्दा ठूला मान्छे तानिने डरले अनुसन्धानको विवरण सार्वजनिक नगरिएको समाचार पनि सार्वजनिक भैरहेको छ । विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामत भएपछि प्रहरी प्रधान कार्यालयले विमानस्थल सुरक्षा गार्डमा कार्यरत एसएसपी श्याम खत्रीलाई हेडक्वार्टर तानेको छ । सोही घटनाको छानबिन गर्न भन्सार विभागले ३ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ भने ३७ जना कर्मचारीलाई फिर्ता बोलाएर भन्सार विभागमा हाजिर गराएको छ ।

यतिका कर्मचारीलाई कारबाही गरिसक्दा पनि छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव नारायणप्रसाद सापकोटालाई किन फिर्ता बोलाइएन ? यो प्रश्नको उत्तर कसैले दिन सकेको छैन । अनुसन्धान विभागले अनुसन्धानका क्रममा दोषी देखिएकालाई मात्र कारबाहीको दायरामा ल्याएको बताए पनि भन्सार विभागका कर्मचारीहरूले साना कर्मचारीलाई फिर्ता बोलाउने अनि ठूलालाई त्यत्तिकै छाड्ने यो कहाँको नियम हो ? भनी प्रश्नसमेत उठाउन थालेका छन् ।

सुन तस्करीको विषयमा अर्थमन्त्री कृष्णबहादुर महराले यसमा ठूला माछा रहेको संकेतसमेत गरिसक्नुभएको छ । यसै सन्दर्भमा सुनकाण्डमा मुछिएका मान्छे पक्राउ गर्दा अर्थमन्त्री महराले भनेजस्तै ठूलो माछासमेत पर्ने हो कि भन्ने डरले सीआईबीले अन्यको नाम सार्वजनिक गर्न नसकेको हुनसक्ने अनुमान पनि गरिएको छ । पछिल्लो समय बढ्दै गएको सुन तस्करीका घटनामा मुख्य नाइकेहरू जोगाउन खोजिएको भन्ने आमनागरिकले शंका गरिरहेका छन् । अतः सुन तस्करीका मुख्य नाइकेहरूलाई पक्राउ नगरेसम्म यो आशंका सधैँ रहिरहनेछ र सुन तस्करी पनि भइरहनेछ । सुन तस्करीको बारेमा अनुसन्धान गर्दा कुनै पनि प्रभाव र दबाबमा नपरी नाइकेलाई नै कारबाही गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्