संघीयता हो कि घाँटीको हाड !



(रमेशकेशरी वैद्य) कुनै पनि मुलुकमा विकास हुनका लागि यो प्रणाली र त्यो प्रणाली भनेर कलह गर्नु मूर्खता हो । खाली देश चलाउनेहरूको सोच राम्रो हुन जरुरी छ । उदाहरणका लागि हिजो पञ्चायती व्यवस्था अर्थात् राजतन्त्रको समयमा शान्ति मात्र थियो तर विकास थिएन । यही कारण मानिसहरू देश चलाउनेहरूलाई भ्रष्ट पन्चेहरू भनेर गाली गर्दथे । समयको गतिले अहिले देशमा प्रजातन्त्र आएको छ तर मुलुकलाई चलाउन नजान्दा प्रजातन्त्र पनि खासै सफल हुन सकेन । यहाँ पनि देश चलाउनेहरूले सर्वसाधारणको तरर्फबाट गाली मात्र खानुपर्यो । मुलुकमा गणतन्त्र त आयो तर यही सिलसिलामा संघीयता प्रणालीका विषयमा कलह हुन थालेको छ । यो प्रणाली आएपछि पनि भोलि देशले विकासको मोड लेला भन्ने के ग्यारेन्टी ?

संघीयता प्रणाली अर्थात् छुट्टाछुट्टै प्रान्त किन चाहिन्छ त ? यो विषय सोचनीय छ । जब केन्द्रबाट पूरै मुलुक चलाउनेहरू अर्थात् एउटै पक्षको राज भइरहन्छ र भ्रष्टाचार मौलाइरहन्छ भने त्यहाँ स्थानीयस्तरमा नयाँ–नयाँ देश चलाउनेहरूको सृजना गर्नका लागि संघीयताको जरुरत पर्दछ । तर कुन मुलुकमा संघीयता सफल हुन्छ र कुन मुलुकमा यो सफल हुँदैन भन्ने कुरालाई पनि हेक्का राख्नुपर्छ । जुन मुलुकमा शिक्षित बढी हुन्छन्, जुन मुलुक धनी हुन्छ, भौगोलिक वातावरणले पनि मिलेको हुन्छ, त्यहाँ संघीयता सधैँ सफल हुन्छ, जुन हामीले प्रत्यक्ष देखिरहेका छौं ।

वास्तवमा हामीले विदेशीको नक्कल गरेका हुन्छौं तर पूरा कार्यान्वयन गर्न सकेका हुँदैनौं । यसको कारण शिक्षाको अभाव र स्वार्थी सोचलाई नै मान्न सकिन्छ । फेरि एकपल्ट भन्नुपर्दा, जुन प्रणाली आए पनि देश राम्ररी चलाउन मुलुक हाँक्ने कुर्सीमा सही व्यक्ति नै हुनुपर्दछ । तर यत्रो समय भइसक्यो, हामीले लक्षण त देखिहाल्यौं ।
अब त अति भयो । हाम्रा सामु दुई–तीनवटा विकल्प छन्, जसलाई मध्यनजर राखेर नेताहरू अघि बढ्नु राम्रो देखिन्छ । सर्वप्रथम कलह छोडेर संघीयता कायम गर्नुपर्यो । अहिले संघीयता हो कि घाँटीको हाड भनेर जनता अलमलमा परेको स्थिति छ । सधैँ यसरी कलहमा अल्झिरहने हो भने जनतालाई संघीयता नपचेको सम्झिनुपर्दछ । त्यसैले जनमत संग्रह गर्नुपर्दछ, जसले गर्दा एउटा ठोस निष्कर्षमा हामी पुग्न सक्छौं र मुलुकमा पनि विकास हुँदै जान्छ । यदि यी कुरा पनि सम्भव नभए संघीयता नै खारेज गरेर भाषा, जात, धर्म आदिमा कलह नगरी पाँच विकास क्षेत्र चौध अञ्चलमा नै प्रजातान्त्रिक ढंगबाट विकास गर्दै जानुमा बुद्धिमानी हुन्छ । सबै दलहरू ठण्डा दिमागले हिजोका भूललाई बिर्सेर कडा कानुन अपनाई अघि बढ्ने हो भने यो मुलुकमा कलह भनेको कहिल्यै हुँदैन र विकास हुन केही बेर लाग्दैन । तर यसका लागि देश चलाउनेहरू परिवर्तन हुनु जरुरी छ ।

हाम्रो जस्तो मुलुकमा संघीयताबाट केही फाइदा हुन्छ भने केही बेफाइदा पनि हुन्छ । फाइदा भन्नाले देश चलाउन जान्ने नयाँ युवापिँढीहरूले संघीयतामा देश हाँक्ने मौका पाउँछन् । तर मुलुकलाई टुक्रा गर्दा दुई ठूला देशको इशारामा चल्न झन् सजिलो हुन्छ स्वार्थी नेताहरूलाई । अप्रेसन गर्दा जीउलाई ‘साइड इफेक्ट’ भएजस्तै संघीयतामा जाँदा देशमा केही न केही समस्याले सताउन सक्छ । मुलुकमा प्रान्त प्रणाली भएपछि आर्थिक भार निकै पर्दछ, जुन देशले धान्न कठिन पर्छ । हाम्रो जस्तो मुलुकमा जब देश विभाजन हुन्छ तब विदेशीलाई रिमोट चलाउन झन् सजिलो हुन्छ । यी माथिका कुराहरूले देश विकासको लागि ढिला असर परिरहेको हुन्छ, जुन हामीले एड्भान्समा भोगिराखेका छौं ।

प्रतिक्रिया दिनुहोस्